कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सुनको हलो !

मनोज पौडेल

काठमाडौँ — कपिलवस्तुको तिलौराकोट शाक्यवंशीय प्राचीन राजधानी हो । यो भगवान् गौतमबुद्धका पिता शुद्धोदनको राजधानी सहर थियो । राजकुमार सिद्धार्थले २९ वर्षसम्म यहीँ बिताएका थिए । त्यति बेला (२६ सय वर्षअघि) यहाँ राजा शुद्धोदनले सुनको हलोले जोत्दै राजकीय धान रोपाइँ मनाउने गर्थे । धुमधामले मनाइने यस्तो रोपाइँलाई मंगलोत्सव भन्ने गरिन्थ्यो ।

सुनको हलो !

रोपाइँमा सबैभन्दा अगाडि राजा शुद्धोदन सुनको हलो लिएर अघि लाग्थे । त्यसपछि मन्त्रीहरू चाँदीको र अन्तिममा जनता काठको हलो लिएर रोपाइँ गर्थे । कार्यक्रम भइरहँदा बालक राजकुमार सिद्धार्थलाई महारानी प्रजापतिले काखमा राखी हात्तीमा बसालेर रोपाइँ मंगलोत्सव दर्शन गराइन्थ्यो ।

त्यति बेलाको रोपाइँ गर्ने यो तरिका त्रिपिटक र बौद्ध इतिहासको अध्ययनबाट पत्ता लागेको लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय शाक्यपुत्रले बताए । ‘इतिहासको अध्ययन र म्यान्मारको राजदरबारमा रहेको एक चित्रले रोपाइँको यो तरिका पुष्टि गरेको छ,’ उनले भने । उक्त चित्रमा जनता लावालस्करसहित स्वस्फूर्त रूपमा रोपाइँमा सहभागी भएको देखिन्छ । ‘हाम्रा ऐतिहासिक परम्परा र गौरव अरू मुलुकले धुमधामले राष्ट्रिय पर्वका रूपमा मनाइरहेका छन् । हामी मात्रै किन यसको सुरुवात नगर्ने भन्ने लाग्यो,’ मेत्तेयले भने, ‘त्यही भएर यस वर्षदेखि असार १५ मा पहिलो पटक राजा शुद्धोदनले गर्ने राजकीय धान रोपाइँ मंगलोत्सव मनाउन थालिएको हो ।’ उनले भनेजस्तै गएको शुक्रबार इतिहासलाई नै ब्युँताउने गरी यहाँ भव्य कार्यक्रमसहित धान रोपाइँ मंगलोत्सव गरियो ।

अहिले राजा नभएकाले रोपाइँमा कृषिमन्त्री चक्रपाणि खनाललाई अघि लगाइएको थियो । त्यसपछि प्रदेशसभा सांसद, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई हलो जोताउँदै रोपाइँ गरिएको थियो । रोपाइँमा नगरका आम सर्वसाधारण सहभागी थिए । कृषकजस्तै पहिरनमा रहेका मन्त्री खनालले हिलाम्य खेतमा हलो जोत्दै बुद्धकालीन धान रोपाइँको झल्को दिए । हलोलाई सुनौलो रंगले पालिस गरेर सुनजस्तै बनाइएको थियो ।पञ्चे बाजागाजा र लावालस्करसहित मन्त्री खेतको आलीमा पुगेपछि नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले शिल–पाठ गरी धानको बीउ दिएका थिए । अन्यले धान रोपिरहँदा मन्त्री खनाल हलो जोतिरहेका थिए ।

१५ मिनेट हलो जोतेपछि आधा घण्टा रोपाइँ गरे । असारे भाकाको गीतमा रोपाहारसँगै उनी नाचेका थिए । मन्त्रीलाई रोपाहारले हिलो टीका लगाएर शुभकामना आदानप्रदान गरे ।
रोपाइँ तिलौराकोट दरबारको पूर्वीद्वारनजिक रहेको ऐतिहासिक स्थल कन्थक स्तूपनजिकै ४ कठ्ठा जग्गामा गरिएको हो । इतिहासलाई अविस्मरणीय बनाउन र पर्यटकीय आकर्षण बढाउन रोपाइँ मंगलोत्सव गरिएको लुम्बिनी विकास कोषका सदस्य तथा मंगलोत्सव संयोजक राजेश ज्ञवालीले बताए । ‘२६ सय वर्षअघिको राजकीय परम्परा जोगाउने सुरुवात गरेका हौं,’ उनले भने, ‘आगामी वर्ष यो नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुनेछ ।’

अध्यक्ष महाअस्थवीरका अनुसार म्यान्मारको राजदरबारमा शुद्धोदनले राजकीय शैलीमा हलो जोतेको तस्बिर अझै भुन्डयाएर राखिएको छ । थाइल्यान्ड, लाओस, भियतनाम र कम्बोडियामा अहिले पनि असारमा धान रोपाइँ मंगलोत्सव भव्य रूपमा मनाइन्छ । श्रीलंकामा यसैलाई ‘वप मगुल’ नाममा मनाउने गरिन्छ । थाइल्यान्डमा राजाले नै खेत रोप्छन् भने श्रीलंकामा राष्ट्रपतिले टयाक्टर चलाएर जोत्छन् ।

‘७ वर्षको उमेरमा सुसारेसँग राजकुमार सिद्धार्थ पनि राजकीय धान रोपाइँ मंगलोत्सव हेर्न जाँदा नजिकै जामुनको रूखमुनि बसेको इतिहासमा उल्लेख छ,’ मन्त्री खनालले भने, ‘सुसारेहरूको ध्यान रोपाइँतिर गयो । तर जामुनको रूखमुनि बसेका सिद्धार्थ भने त्यति बेला पनि ध्यानमग्न थिए भन्ने विश्वास छ ।’

मंगलोत्सव स्थललाई लुङ्दा, बौद्ध झण्डा र ध्वजापताकाले सिंगारेर बुद्धमय बनाइएको थियो । मसिनो स्वरमा बुद्धवचन, वाणी र भजनले वातावरण आनन्दमय बनेको थियो । ३ घण्टासम्म चलेको रोपाइँ मंगलोत्सव हेर्न अमेरिका, चीन, थाइल्यान्ड र म्यान्मारका भिक्षुभिक्षुणी र उपासकउपासिका आएका थिए । ‘अर्को वर्ष यो कार्यक्रम राष्ट्रिय रूपमा मनाउँछौँ,’ कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘त्यसपछि अन्तर्राष्ट्रिय रूपमा प्रचार गरिनेछ ।’ धान फलाएर र चिउरा कुटाएर सहभागी सबैलाई प्रसादका रूपमा बाँडिने उनले सुनाए ।

प्रकाशित : असार २४, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?