नाचौँ छमछमी

राजाराम पौडेल

काठमाडौँ — नृत्यमा कत्तिको सोख छ ? पोखरामा त नृत्य सिक्ने साथीको संख्या बढ्दै छ । नृत्य सिक्न चाहनेलाई सघाइरहेको छ– सहारा अनुशीलन कला पाठशालाले । रानीपौवास्थित यो पाठशालामा १४ वर्ष अघिदेखि नृत्य सिकाउन थालिएको हो । यहाँ नृत्य सिक्न ५ वर्षका बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीसमेत पुग्छन् ।

विगतमा नृत्यलाई नकारात्मक दृष्टिले हेर्ने चलन थियो । अभिभावक र विद्यालयका लागि यो प्राथमिकतामा पर्दैनथ्यो । तर अहिले सोच बदलिएको छ । विद्यालय, अभिभावक र बालबालिकाको पनि यसतर्फ रुचि बढ्न थालेको छ ।

स्कुल पढ्ने विद्यार्थी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा आफ्नो प्रतिभा देखाउन नृत्य सिक्छन् । किशोरकिशोरी र युवायुवती विभिन्न कार्यक्रम, रियालिटी सो र प्रतियोगिताहरूमा भाग लिनका लागि सिक्छन् । कला देखाउन मात्र नभई स्वस्थ्य र तन्दुरुस्त रहन नृत्य गर्नेहरू पनि उत्तिकै छन् ।

नृत्यका विभिन्न विधा छन् । तीमध्ये शास्त्रीय, लोक र पश्चिमेली शैलीका नृत्य सिक्नेहरू अनुशीलनमा पुग्छन् । यहाँ कम्तीमा एक महिनादेखि लामो समयसम्म पनि नृत्य सिकाइन्छ । अरू नाचको तुलनामा शास्त्रीय नृत्य सिक्न बढी समय लाग्छ । यसका लागि कम्तीमा एक वर्षको समय छुट्टयाउनुपर्छ । अनुशीलनले अहिले पोखराका विभिन्न स्कुल र मन्टेश्वरीका विद्यार्थीलाई अध्ययनरत संस्थामै पुगेर नृत्य सिकाउँदै आएको छ । गोरे गुरुङ, प्रीति गुरुङ, जय कार्की, मिलन तामाङ, मीना सेवाङ, युवराज गुरुङलगायतकाले दर्जनभन्दा बढी विद्यालयमा नृत्य प्रशिक्षण गराउँदै आएका छन् ।



अम्मरसिंह स्कुलमा कक्षा २ मा अध्ययनरत शिखा पुन मगरले डान्स क्लास लिन थालेयता आफू निकै राम्रो प्रस्तुति दिन सक्ने भएको बताइन् । ‘यहाँ विभिन्न विधाका नृत्य एकै ठाउँमा सिकाइँदो रहेछ,’ अर्का विद्यार्थी कृष्ण भण्डारीले भने, ‘यसले गर्दा आफूलाई जुन मन पर्छ, त्यही सिक्न पाइन्छ ।’ अनुशीलनका सञ्चालक गोरे गुरुङका अनुसार यहाँबाट हालसम्म १० हजारभन्दा बढी बालबालिकाले नृत्य सिकिसकेका छन् । त्यति नै संख्यामा किशोरकिशोरी र युवायुवतीले पनि प्रशिक्षण लिएको उनले बताए । ‘अहिले पोखराका झन्डै ८० प्रतिशत बोर्डिङ स्कुलमा नृत्य सिकाउन थालिएको छ,’ उनले भने ।’

Yamaha

प्रकाशित : असार २४, २०७५ ०८:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सुनको हलो !

मनोज पौडेल

काठमाडौँ — कपिलवस्तुको तिलौराकोट शाक्यवंशीय प्राचीन राजधानी हो । यो भगवान् गौतमबुद्धका पिता शुद्धोदनको राजधानी सहर थियो । राजकुमार सिद्धार्थले २९ वर्षसम्म यहीँ बिताएका थिए । त्यति बेला (२६ सय वर्षअघि) यहाँ राजा शुद्धोदनले सुनको हलोले जोत्दै राजकीय धान रोपाइँ मनाउने गर्थे । धुमधामले मनाइने यस्तो रोपाइँलाई मंगलोत्सव भन्ने गरिन्थ्यो ।

रोपाइँमा सबैभन्दा अगाडि राजा शुद्धोदन सुनको हलो लिएर अघि लाग्थे । त्यसपछि मन्त्रीहरू चाँदीको र अन्तिममा जनता काठको हलो लिएर रोपाइँ गर्थे । कार्यक्रम भइरहँदा बालक राजकुमार सिद्धार्थलाई महारानी प्रजापतिले काखमा राखी हात्तीमा बसालेर रोपाइँ मंगलोत्सव दर्शन गराइन्थ्यो ।

त्यति बेलाको रोपाइँ गर्ने यो तरिका त्रिपिटक र बौद्ध इतिहासको अध्ययनबाट पत्ता लागेको लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय शाक्यपुत्रले बताए । ‘इतिहासको अध्ययन र म्यान्मारको राजदरबारमा रहेको एक चित्रले रोपाइँको यो तरिका पुष्टि गरेको छ,’ उनले भने । उक्त चित्रमा जनता लावालस्करसहित स्वस्फूर्त रूपमा रोपाइँमा सहभागी भएको देखिन्छ । ‘हाम्रा ऐतिहासिक परम्परा र गौरव अरू मुलुकले धुमधामले राष्ट्रिय पर्वका रूपमा मनाइरहेका छन् । हामी मात्रै किन यसको सुरुवात नगर्ने भन्ने लाग्यो,’ मेत्तेयले भने, ‘त्यही भएर यस वर्षदेखि असार १५ मा पहिलो पटक राजा शुद्धोदनले गर्ने राजकीय धान रोपाइँ मंगलोत्सव मनाउन थालिएको हो ।’ उनले भनेजस्तै गएको शुक्रबार इतिहासलाई नै ब्युँताउने गरी यहाँ भव्य कार्यक्रमसहित धान रोपाइँ मंगलोत्सव गरियो ।

अहिले राजा नभएकाले रोपाइँमा कृषिमन्त्री चक्रपाणि खनाललाई अघि लगाइएको थियो । त्यसपछि प्रदेशसभा सांसद, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई हलो जोताउँदै रोपाइँ गरिएको थियो । रोपाइँमा नगरका आम सर्वसाधारण सहभागी थिए । कृषकजस्तै पहिरनमा रहेका मन्त्री खनालले हिलाम्य खेतमा हलो जोत्दै बुद्धकालीन धान रोपाइँको झल्को दिए । हलोलाई सुनौलो रंगले पालिस गरेर सुनजस्तै बनाइएको थियो ।पञ्चे बाजागाजा र लावालस्करसहित मन्त्री खेतको आलीमा पुगेपछि नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले शिल–पाठ गरी धानको बीउ दिएका थिए । अन्यले धान रोपिरहँदा मन्त्री खनाल हलो जोतिरहेका थिए ।

१५ मिनेट हलो जोतेपछि आधा घण्टा रोपाइँ गरे । असारे भाकाको गीतमा रोपाहारसँगै उनी नाचेका थिए । मन्त्रीलाई रोपाहारले हिलो टीका लगाएर शुभकामना आदानप्रदान गरे ।
रोपाइँ तिलौराकोट दरबारको पूर्वीद्वारनजिक रहेको ऐतिहासिक स्थल कन्थक स्तूपनजिकै ४ कठ्ठा जग्गामा गरिएको हो । इतिहासलाई अविस्मरणीय बनाउन र पर्यटकीय आकर्षण बढाउन रोपाइँ मंगलोत्सव गरिएको लुम्बिनी विकास कोषका सदस्य तथा मंगलोत्सव संयोजक राजेश ज्ञवालीले बताए । ‘२६ सय वर्षअघिको राजकीय परम्परा जोगाउने सुरुवात गरेका हौं,’ उनले भने, ‘आगामी वर्ष यो नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुनेछ ।’

अध्यक्ष महाअस्थवीरका अनुसार म्यान्मारको राजदरबारमा शुद्धोदनले राजकीय शैलीमा हलो जोतेको तस्बिर अझै भुन्डयाएर राखिएको छ । थाइल्यान्ड, लाओस, भियतनाम र कम्बोडियामा अहिले पनि असारमा धान रोपाइँ मंगलोत्सव भव्य रूपमा मनाइन्छ । श्रीलंकामा यसैलाई ‘वप मगुल’ नाममा मनाउने गरिन्छ । थाइल्यान्डमा राजाले नै खेत रोप्छन् भने श्रीलंकामा राष्ट्रपतिले टयाक्टर चलाएर जोत्छन् ।

‘७ वर्षको उमेरमा सुसारेसँग राजकुमार सिद्धार्थ पनि राजकीय धान रोपाइँ मंगलोत्सव हेर्न जाँदा नजिकै जामुनको रूखमुनि बसेको इतिहासमा उल्लेख छ,’ मन्त्री खनालले भने, ‘सुसारेहरूको ध्यान रोपाइँतिर गयो । तर जामुनको रूखमुनि बसेका सिद्धार्थ भने त्यति बेला पनि ध्यानमग्न थिए भन्ने विश्वास छ ।’

मंगलोत्सव स्थललाई लुङ्दा, बौद्ध झण्डा र ध्वजापताकाले सिंगारेर बुद्धमय बनाइएको थियो । मसिनो स्वरमा बुद्धवचन, वाणी र भजनले वातावरण आनन्दमय बनेको थियो । ३ घण्टासम्म चलेको रोपाइँ मंगलोत्सव हेर्न अमेरिका, चीन, थाइल्यान्ड र म्यान्मारका भिक्षुभिक्षुणी र उपासकउपासिका आएका थिए । ‘अर्को वर्ष यो कार्यक्रम राष्ट्रिय रूपमा मनाउँछौँ,’ कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘त्यसपछि अन्तर्राष्ट्रिय रूपमा प्रचार गरिनेछ ।’ धान फलाएर र चिउरा कुटाएर सहभागी सबैलाई प्रसादका रूपमा बाँडिने उनले सुनाए ।

प्रकाशित : असार २४, २०७५ ०८:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT