१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पौडीमा रमाउँदा...

काठमाडौँ — यतिबेला निकै गर्मी छ । वैशाखदेखि भदौसम्मै गर्मी हुन्छ । बाहिर निस्केर घाममा हिँड्न गाह्रो पर्छ । कोठाभित्र पनि पंखा चलाएर बस्नुपर्छ । चिसोचिसो खानेकुरा खानुपर्छ । कपडा पनि पातला लगाउनुपर्छ । गर्मी छल्न रूखको छहारीमा बस्नुपर्छ ।

पौडीमा रमाउँदा...

गर्मी मौसममा पौडी खेल्दा छुट्टै मज्जा हुन्छ । गाउँतिर खोला, नदी, नहर आदिमा पौडी खेल्ने चलन छ । तर, सहरमा त्यसरी पौडी खेल्ने ठाउँ छैन । पौडी खेल्न मन लागे पौडी पोखरीमै जानुपर्छ । त्यसलाई स्विमिङ पुल पनि भनिन्छ । म आफ्ना अभिभावकसँग धेरैपटक स्विमिङ पुल गएर पौडी खेलेकी छु । यसपटक भने विद्यालयबाटै पौडी खेल्न जान पाइयो ।

हाम्रो कक्षाका सबै विद्यार्थी पौडी खेल्न इमाडोलको स्विमिङ पुलमा जाने भयौं । पौडी खेल्न जाने अघिल्लो दिन हामीले घरमा सबै तयारी गर्‍यौं । पौडी खेल्दा छुट्टै पोसाक चाहिन्छ । मेरो पोसाक अलि पुरानो भएको थियो । त्यसैले अभिभावकसँग कुरा गरेर मैले पसलबाट नयाँ पौडी पोसाक किनेँ । त्यसै पौडी खेल्नुभन्दा टयुबमा चढेर पौडिँदा झन् रमाइलो हुन्छ । त्यसैले मैले एउटा टयुब पनि किनें । भोलिपल्ट हामी विद्यालयबाट इमाडोलको एउटा स्विमिङ पुल पुग्यौं । हामी पुग्दा त्यहाँ त थुप्रै मानिस जम्मा भइसकेका रहेछन् । त्यहाँ सानाठूला सबै उमेरका मानिस थिए । अरू विद्यालयबाट आएका हामीजस्तै थुप्रै विद्यार्थी पनि थिए । त्यहाँ तीनओटा पोखरी रहेछन् । उमेरअनुसार पोखरी छुट्टयाइएको रहेछ । हामी बालबालिकाका लागि बनाइएको पोखरीमा पौडिन थाल्यौं । कतिपय साथीहरू पहिलोचोटि स्विमिङ पुल पुगेका थिए । त्यसैले तिनीहरू पौडिनै डराए । शिक्षकशिक्षिकाले सहयोग गरेपछि बल्ल उनीहरू नडराईकन पौडिन थाले ।

त्यहाँ कतिपय बालबालिका अभिभावकसँगै आएका थिए । उनीहरू प्राय: दिनदिनै पौडिन आउँदा रहेछन् । सायद धेरै अभ्यास भएर होला, उनीहरू पौडिन जान्ने भइसकेका थिए । ठूलो र गहिरो पोखरीमा ठूला मानिससँगै उनीहरू पनि मज्जाले पौडिएको देखेर म त दङ्गै परेँ । हामी पोखरीभित्र निकै रमायौं । एकआपसमा पानी छयापाछयाप गर्दा धेरै रमाइलो भयो । टयुबमाथि चढेर पौडी खेल्दा धेरै कसरत गरिरहनु नपर्ने । पानी चलाएपछि आफैं यताउति डुल्न पाइने । केही साथीहरू त टयुबमा चढ्नै नजानेर धेरैचोटि पानीमा डुबे । पौडी खेल्दाखेल्दै बल्ल उनीहरू टयुबमा चढेर खेल्न सक्ने भए । हामी झन्डै दुई घण्टाजति पौडिएर रमाइलो गर्‍यौं । एउटाले अर्कालाई पानीभित्रै छुनुपर्ने खेल पनि खेल्यौं । दुई घण्टाजति पौडिएपछि हामीलाई थकाइ लाग्यो । भोकले पनि सतायो । त्यसैले पोखरीबाट बाहिर निस्कियौं र बाथरुममा पसेर मज्जाले नुहायौं । शिक्षकले चमेना गृहमा लगेर हामीलाई खाजा खुवाउनुभयो । अनि विद्यालयतिर फक्र्याैं ।

-सक्षम श्रेष्ठ, कक्षा–६
काञ्जीरोवा नेसनल मावि, काठमाडौं

प्रकाशित : असार २४, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?