कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसरी भयो अन्तिम उद्धार ?

काठमाडौँ — मनसुन सुरु भइसकेकाले निरन्तर पानी पर्न थालेपछि गुफामा पानीको सतह अझै बढ्ने अनुमान थियो । त्यसैले आइतबारदेखि जसरी भए पनि विद्यार्थीहरूलाई बाहिर निकाल्न थालिएको थियो । दैनिक उद्धार अभियानअन्तर्गत स्थानीय समयअनुसार बिहान ९ बजे अक्सिजनका टयांकी र अन्य आवश्यक उपकरणहरू लिएर १९ जना गोताखोर गुफामा प्रवेश गरे ।

कसरी भयो अन्तिम उद्धार ?

बाहिर वर्षा भइरहे पनि गुफाभित्र पानीको सतह पम्प गरेर घटाइएको थियो । उद्धारका समय गुफाबाहिर हेलिकोप्टर र एम्बुलेन्सहरू राखिए पनि सञ्चारमाध्यमलाई भने जान दिइएन । उद्धारकार्यका लागि विभिन्न देशका ४० सहित ९० गोताखोर परिचालन गरिएको हो । टोलीमा बेलायत, चीन, म्यान्मार, लाओस, अस्ट्रेलिया, अमेरिका र जापानका गोताखोर थिए । ती अनुभवी गोताखोरले विद्यार्थीहरूलाई गुफाका जलमग्न एवं अँध्यारा भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याउन सफल भएका हुन् । उद्धारमा संलग्न भोलानाथन बच्चाहरू ‘निकै साहसी’ भएकाले मात्रै उद्धार सम्भव भएको जनाए । गुफाबाहिर आउने क्रममा विद्यार्थीहरूले विभिन्न स्थानमा हिँड्न, पौडिन, उकालो उक्लिन, होचो स्थानमा घस्रिन तथा पानीमा फाल हान्न तथा पौडिन परेको थियो ।

गुफाबाट बाहिर निस्कन यति कठिन थियो कि केही दिनअघि विद्यार्थीलाई खाना र अक्सिजन पुर्‍याएर फर्केने क्रममा एक गोताखोरको मृत्यु भएको थियो । ३८ वर्षीय समन गुनान थाई जलसेनाबाट निवृत्त भए पनि उद्धारकार्यमा संलग्न थिए । त्यो घटनापछि विद्यार्थीहरूको सकुशल उद्धार हुनेमा धेरैले आशंका गर्न थालेका थिए । तर सफल उद्धारपछि विश्व समुदाय नै खुसी भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायतका प्रधानमन्त्री टेरेजा मे, जर्मन चान्सर एन्जेला मर्केललगायतले उद्धारमा संलग्न विदेशी तथा थाई जलसेनाको प्रशंसा गरेका छन् ।

बालकहरूको अवस्था कस्तो छ ?
उद्धार गरिएका विद्यार्थी तथा प्रशिक्षकलाई हेलिकोप्टरबाट सिधै अस्पताल लगिएको थियो । उनीरुहको चियाङराई प्रचनुक्रो अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनीहरू शारीरिक र मानसिक रूपमा स्वस्थ्य छन् । अस्पताल पुर्‍याउँदा सामान्य चिसो लागेको भए पनि अहिले उनीहरूको अवस्था राम्रो छ ।

‘सबै विद्यार्थीको स्वास्थ्य राम्रो छ । ज्वरो छैन । सबै मानसिक रूपमा ठीक छन्,’ स्वास्थ्य मन्त्रालयका अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई भनेका छन् । उनले बालबालिकालाई सजिलै पचाउने सकिने खानेकुरा दिएको पनि जनाए । उद्धारपछि विद्यार्थीहरूको एक्स–रे तथा रगत परीक्षण गरिएको छ । अब उनीहरूलाई कम्तीमा एक साता चिकित्सकको निगरानीमा राखिनेछ ।

उद्धार गरिएका विद्यार्थीका परिवारलाई उनीहरूलाई हेर्न दिइएको छ । थप परीक्षणपछि उनीहरूमा संक्रमण नदेखिए परिवारका सदस्यसँग भेट्न दिइनेछ । थाइल्यान्डका प्रधानमन्त्री प्रायुत चान–ओचाले भने अस्पताल पुगेर उनीहरूलाई भेटेका छन् । अस्पतालले सार्वजनिक गरेको एक तस्बिरमा अस्पतालमा उपचार गरिरहेका विद्यार्थीहरू हँसिला देखिएका छन् । थाइल्यान्ड सरकारले उक्त गुफालाई अब संग्राहलयका रूपमा विकसित गरिने घोषणा गरेको छ ।
(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : असार ३१, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?