१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

साथीसँग गफगाफ

काठमाडौँ — एक दिन सुलक्षण, विलक्षण, दीपिका, कृतिका र सुशोभन आफ्नो गृहकार्य सकिएपछि खेल्न निस्किए । उनीहरूको घरनजिकै ठूलो चउर थियो । घाम ढल्किँदै पश्चिमतिर लागिरहँदा गर्मीको महिना भए पनि शीतल थियो वातावरण । उनीहरू त्यहीँ बसे ।

साथीसँग गफगाफ

‘खेल्न त हामी सधैँ खेल्छौँ, आज केही गफ गरौँ न साथी हो,’ सुलक्षणले भन्यो । ‘बिनाकामको गफ गरेर के समय फाल्नु ?’ दीपिकाले भनी । ‘हैन हैन, तिमीहरू दुवैको कुरा सही हो । आज हामी गफ गरौँ,’ कृतिकाले दुवैको कुरामा सही थापी ।

‘कुरो मै सुरु गर्छु । सुन त र स्वास्थ्य हाम्रो ठूलो धन हो । हामीले हाम्रो स्वास्थ्यको ख्याल राख्नुपर्छ है साथी हो,’ कृतिकाले भनी । ‘हया... कसरी राख्ने हो र ख्याल ? बिरामी हुँदा उपचार गरेकै छौँ क्यार र’ दीपिकाले बेवास्तासित भनी ।

‘त्यसो हैन नि दीपिका, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो नि,’ अघिदेखि साथीहरूको कुरा सुन्दै गरेको विलक्षण बोल्यो । ‘सही भन्यौ विलक्षण तिमीले, अब गर्मीको महिना सुरु भयो । हेर त जताततै लामखुट्टे भेटिन्छ । लामखुट्टेको टोकाइबाट, डेंगु, मलेरिया, इन्सेफ्लाइटिस, मेनेन्जाइटिसजस्ता रोग लाग्छन्,’ कृतिकाले भनी । ‘त्यसैगरी गर्मी महिनामा अरू धेरै कुरामा सचेत हुन जरुरी छ है साथी हो । बासी खाने कुरा खानु हुँदैन । सडेगलेका कुरा पनि खान हुँदैन,’ सुलक्षणले थप्यो । ‘ए... त्यसो पो र दीपिकाले कुरो बुझी । लामखुट्टेबाट बँच्ने उपाय के छ त नि ? हामीले बुझौं अनि अरूलाई पनि बताऔं ।’ ‘आज हामीलाई कक्षामा हाम्रो गुरुआमाले भन्नुभएको घरवरिपरि पानी जम्ने ठाउँ हुनु हुँदैन रे । भए पनि पुर्नुपर्छ । पुर्न सकिएन भने पानी जमेको ठाउँमा मट्टितेल छर्किनुपर्छ रे,’ कृतिकाले भनी ।

‘लामखुट्टेबाट बँच्न लामो बाहुला भएको लुगा लाउनुपर्छ । राति सुत्दा झुल टाँगेर सुत्नुपर्छ भनेर हामीलाई पनि सरले भन्नुभएको थियो,’ विलक्षणले सम्झियो । ‘हुन त लामखुट्टे मार्ने, भगाउने सामग्रीहरू पाइन्छन् नि बजारमा,’ सुलक्षणले भन्यो । ‘ती सामग्रीभन्दा हाम्रो घरेलु उपाय गर्नुपर्छ क्या र कुनै असर नगर्ने । धूप बालेर सुत्दा त सासै फेर्न गाह्रो । त्योभन्दा त झुल टाँगेर सुत्दा कत्ति आनन्द र कृतिकाले बुझाई । ‘ए र यति राम्रो कुरो थाहा पाइयो आज । ल जाऔं अब हाम्रो घर छिमेक सबैलाई बताउनुपर्छ । भोलि पनि यस्तै विषयमा कुरा गरौंला, आज घर जाऔं,’ दीपिकाले भनी । सबै जना आआफ्ना घरतिर लागे ।

सरस्वती श्रेष्ठ ‘सरु’

प्रकाशित : श्रावण ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?