बाल पुजारी

विमल खतिवडा

काठमाडौँ — खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ का सुशील गिरी ९ वर्षका भए । उनी हलेसी महादेव मन्दिरका पुजारी हुन् । तर मन्दिरका एक जना मात्र पुजारी होइनन् । एक मूल पुजारी र उनकै ठूलो बुवाको छोरा ८ वर्षीय सुदिन गिरी पुजारीका रूपमा छन् । बढी समय सुशील नै मन्दिर पुग्छन् । उनलाई बिहान/बेलुका मन्दिरसम्म लग्ने काम काका कमल गिरीले गर्छन् । कमल पनि पहिला मन्दिरमा बाल पुजारीको रूपमा काम गर्थे ।

बाल पुजारी

सुशील बिहान ५ बजे उठ्छन् । जाडो होस् वा गर्मी । नुहाइधुवाइ गर्छन् । ननुहाई मन्दिर जान पाइँदैन । नुहाएपछि उनी मन्दिर जाने पोसाक पहेंलो कुर्थासुरुवाल लगाउँछन् । ६ बजे अनिवार्य रूपमा मन्दिर पुग्नुपर्छ । मन्दिरमा पुजारीका रूपमा काम गर्न थालेको वर्षदिन भयो । उनले १४ वर्ष नपुग्दासम्म मन्दिरमा पुजारीको रूपमा काम गर्नुपर्छ । सुशील सयोगीको भरमा मन्दिरमा चोखो पानी ल्याउँछन् । त्यसपछि धूप लगाउँछन् । चम्मर हल्लाउँछन् ।

पूजा गर्छन् । उनलाई पूजा गर्न मूल पुजारीले सिकाउँछन् । उनी र सुदिन हलेश्वर इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्छन् । सुशीलले जे गर्छन्, सुदिनले पनि त्यही गर्छन् । दुवै जना एकैसाथ उपस्थित हुँदा मिलेर पूजा गर्छन् । स्कुलबाट आएपछि पहिला खाजा खान्छन् । त्यसपछि हातखुट्टा धोएर मन्दिर जान तयार हुन्छन् । ‘रमाइलो लागेको छ,’ सुशील भन्छन्, ‘पढाइ बिग्रिएको छैन, पढ्नलाई पैसा पनि पाएको छु ।’ उनी र सुदिनले मासिक रूपमा ५/५ हजार पाउँछन् । पूजा ३० मिनेटसम्म हुन्छ । त्यसपछि उनी घर जान्छन् ।

पुजारी भएपछि उनलाई चिन्ने धेरै छन् । स्कुल जाँदा सबैले माया गर्छन् । घरगाउँमा उनी पुजारी भएसँगै सेलेब्रिटी बनेका छन् । मन्दिरमा उनीसँग फोटो खिच्न भक्तजनबीच प्रतिस्पर्धा नै चल्छ । ‘सबैले माया गर्नुहुन्छ,’ उनी भन्छन्, ‘अहिले त सानै उमेरमा ठूलो मान्छे भएजस्तो भएको छ ।’

यो मन्दिरमा विसं. १८६१ बाटै बाल पुजारी राख्न थालिएको कमल बताउँछन् । बाल पुजारीलाई मन्त्र र पूजा गर्ने विधि सिकाएर मन्दिरमा पठाउने गरिएको छ । कसले पूजा गर्ने भन्ने विषयमा विवाद भएपछि मन्दिर व्यवस्थापन समितिले सातदिने सूचना निकालेर बाल पुजारीको खोजी गर्ने गरेको छ । सूचना उल्लेख गरिएको नियमभित्र जो पर्छ, उही मन्दिरको पुजारी बन्छ । हलेसी मन्दिरको पुजारी भनेपछि सबैले सम्मान गर्छन् । छुट्टै मान/मर्यादा हुन्छ । भक्तजनले गुरु भनेर माया गर्छन् ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?