मन्त्रीसँग मनका कुरा...

अमृता अनमोल

काठमाडौँ — नेपालको कानुनमा बालअधिकारका धेरै कुरा लेखिएका छन् । बालअधिकारबारे नेपालले विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर पनि गरेको छ । तर धेरै अधिकार अझै व्यवहारमा लागू भएका छैनन् । धेरै बालबालिकाले आफ्ना कुरा आफैं भन्न सक्दैनन् । अन्यायको विरोध गर्न सक्दैनन् । आफूमाथि हुने हिंसाको प्रतिकार गर्न त झनै सक्दैनन् । त्यसैले पनि बालअधिकार लागू गर्न ठूलाले नै पहल गरिदिनुपर्छ ।’’

मन्त्रीसँग मनका कुरा...

यी विचार हुन्– प्रदेश ५ का बाल सञ्जालका साथीहरूका । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई भेटेर उनीहरूले आफ्ना भनाइ सुनाएका हुन् । मन्त्रीसँगको भेटमा बालबालिकाले पढ्न नपाएको, अभिभावक नभएकाले संरक्षण नपाएको, प्रतिभा हुनेले अवसर नपाएको लगायत गुनासा गरे । बालश्रम, बालविवाह, बालहिंसाविरुद्धका व्यवस्था कानुनमा मात्रै सीमित भएको पनि बताए । केही साथीले जिज्ञासा राखे, ‘व्यवहारमै लागू गर्न नसक्ने कानुन किन बनाएको होला ?’

प्रदेश ५ का विभिन्न ८ जिल्लाका बाल सञ्जालका अध्यक्ष र उपाध्यक्ष असार ३१ र ३२ गते बुटवलमा भेला भएका थिए । प्रदेशस्तरीय बाल सञ्जाल गठनका लागि आएका उनीहरूले मन्त्रीसित छलफल गरे । बालबालिकाको उत्साह देखेर मन्त्री बराल पनि खुसी भए । अनि उनले बाल संसद् चलाउने भनेर २ घण्टा समय छट्टयाए । संसद्मा जस्तैगरी बस्ने र प्रश्न गर्ने व्यवस्था मिलाए । यही अवसरमा बाल सञ्जालका साथीले मन्त्रीसित मन खोलेर छलफल गरेका थिए ।

सहभागी साथीहरूले आफूले भोगेका अप्ठेराबारे पनि गुनासा पोखे । गुल्मीका विकास रानाले भने, ‘संविधानमा सबै बालबालिकाले शिक्षाको अवसर पाउने लेखिएको छ । तर सामुदायिक विद्यालयले पनि शुल्क लिन्छन् । यस्तो भएपछि खर्च जुटाउन नसक्ने साथीले कहाँ पढ्ने ?’ कानुनमा बालविवाहलाई अवैध मानिएको छ । बालविवाह गरिदिने अभिभावकलाई पनि सजाय तोकिएको छ । तर पनि बालविवाह नरोकिएको साथीहरूले गुनासो गरे । ‘धेरै साथीले बीचमै पढाइ छोड्नुपरेको छ । अरूको भर पर्नुपरेको छ । कतिले
त हिंसा सहनुपरेको छ,’ कपिलवस्तुकी गायत्री गुप्ताले भनिन्, ‘अभिभावकमै यस्तो सोच भएपछि बालबालिकाले मात्रै कसरी बालविवाह रोक्न सक्छन् ?’

तराईका धेरै विद्यालयमा छात्रा शौचालय छैन । शौचालय भए पनि पानी र चुकुल छैन । यसले महिनावारीका बेला छात्राहरू विद्यालय जान सक्दैनन् । विद्यालयमा शौचालय नभएकै कारण महिनाबारीका बेला ३/४ दिन विद्यालय जान नसकेको गायत्रीले गुनासो गरिन् ।

विद्यालयलाई राज्यले शान्तिक्षेत्र घोषणा गरेको छ । तर अहिले पनि जोसुकैले आयोजना गर्ने हडतालमा विद्यालय बन्द हुन्छन् । पठनपाठन रोकिन्छ । बन्दकर्ताले केही नभने पनि शिक्षकले नै बन्द गराउन उक्साउने गरेको बाल सञ्जालका साथीहरूले गुनासो गरे । ‘कति सरहरू राजनीतिक दलमा हुनुहुन्छ,’ नवलपरासीका प्रेमबहादुर नेपालीले भने, ‘पढाउन छोडेर हिँड्नुहुन्छ ।’ प्युठानका प्रेमबहादुर विश्वकर्माको समस्या अझ अर्कै थियो । ‘कहिले कहिले त शिक्षक नै मदिरा सेवन गरेर कक्षामा आउनुहुन्छ,’ उनले मन्त्रीलाई आग्रह गरे, ‘शिक्षकले मदिरा खानै नपाउने नियम बनाइदिनुस् न ।’ कति अभिभावक पनि रक्सीको लतमा लाग्ने गरेकाले धेरै साथीले घरमै दु:ख पाउने गरेको उनले बताए ।

भmन्डै २ घण्टा बाल सञ्जालका साथीहरूले प्रश्न र गुनासा गरे । बालबालिकाका कुरा सुनेर मन्त्री बराल निकै भावुक भए । उनले भने, ‘अब म बालहिंसा रोक्न र अधिकार संरक्षण गर्न प्रतिबद्ध हुन्छु ।’ अभिभावक नभएका सबै बालबालिकाको संरक्षण राज्यले गर्न संयन्त्र बनाउने उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?