कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आइसक्रिम

काठमाडौँ — उफ् ! यतिबेला गर्मीयाम छ । गर्मीका बेला धेरैलाई आइसक्रिम खान मन पर्छ । त्यो पनि फरक–फरक स्वादको ! तर थाहा छ, आइसक्रिमको सुरुवात कसरी भयो ?

आइसक्रिम

ईसापूर्व ४०० मा चीनका मानिसले बरफ र नुन हालेर खाना जमाउन सिकेका थिए । त्यसबेला फ्रिज बनेको थिएन । त्यसबेला गर्मीबाट खानेकुरा जोगाउन हिमालमा जमेको बरफलाई आइसक्रिमको रूपमा प्रयोग गर्थे । भनिन्छ, चीनको ताङ्ग राजवंशमा दूध, भात र कपुर मिसाएर एक प्रकारको खाना बनाउने गरिन्थ्यो । एकपल्टको कुरा हो, उनीहरू एकपल्ट खानेकुरा लिएर लामो यात्रामा निस्कनुपर्‍यो । उनीहरूले बाटोमा खानेकुरा बिग्रन र गन्हाउनबाट बचाउने उपाय खोजे । त्यसका लागि बरफमा प्याक गरे । अनि त्यसलाई लिएर हिँडे । बाटोमा खाना खान खोज्दा त्यो जमेर एक ढिक्का भयो । अरू उपाय केही थिएन । त्यसैले जमेकै खानालाई टुक्राटुक्रा गरेर खाए । खाँदै जाँदा त्यस्तो खानालाई सबैले मीठो माने ।

त्यसै ताका एथेन्सको पहाडमा जमेको हिउँका ढिक्का, मह र फलफूलबाट बनेको आइसक्रिम प्रचलित थियो । सिकन्दरलाई आइसक्रिम खान निकै मन पथ्र्यो । उनी कामदारहरूलाई पहाडको हिउँ जम्मा गर्न लगाउँथे । सायद त्यसैबेलादेखि आइक्रिम खाने चलन चलेको हुनुपर्छ भन्ने अनुमान छ ।

मार्को पोलो इटालीका एक ठूला व्यापारी र यात्री हुन् । उनी व्यापारका सिलसिलामा चीन गए । त्यहाँबाट सन् १२९५ मा इटाली फर्के । उनले चीनमा खाएको आइसक्रिमको बारेमा विभिन्न कथाहरू सुनाए । आइसक्रिमका कथा सुनेर इटालीबासी पनि आइसक्रिम खान लालयित भए । तर, त्यो कसरी बनाउने भन्ने कसैलाई थाहा थिएन ।

सन् १६८५ मा फ्रान्सका राजा हेनरी चौथोकी छोरीको विवाह इंग्ल्यान्डका राजा चाल्र्स प्रथमका साथ भयो । रानीले आफूसँगै आइसक्रिम बनाउन जान्ने मानिस पनि लगेकी थिइन् । कामदारले राजा चाल्र्सलाई दिनहुँ आइसक्रिम बनाएर खुवाउन थाले । राजालाई आइसक्रिम निकै मन पर्न थाल्यो । यस्तो मीठो आइसक्रिम बनाउने कलालाई राजदरबारले भित्रै सीमित राख्न खोज्यो । त्यो तरिका बाहिर नजाओस् भनेर आइसक्रिम बनाउने कामदारलाई तलब दिएर गोप्य रूपमा दरबारभित्रै राख्न थालियो । राजा–महाराजा आइसक्रिम अरू सर्वसाधारणले खान नपाऊन् भन्ने ठान्थे । तर, यो दरबारमा मात्र सीमित हुन सकेन । अलिअलि गर्दै अरूले पनि आइसक्रिमबारे थाहा पाउन थाले ।

सन् १८४६ मा अमेरिकी महिला नान्सी जोन्सनले हातबाट चलाएर आइसक्रिम जमाउने यन्त्र बनाए । त्यो यन्त्रको चारैतिर बरफ भरेर राख्ने गरिन्थ्यो । बीचभागको भाँडामा दूध र फलफूलको रस राखिन्थ्यो । त्यही यन्त्रको सहायताले सन् १८५१ मा अमेरिकाको बाल्टिमोरका एक दूध व्यापारीले आइसक्रिम बनाएर व्यावसायिक रूपमै बेच्न सुरु गरे । यसैलाई संसारको पहिलो व्यापारिक आइसक्रिम उत्पादन मानिन्छ ।

सन् १९०० मा अमेरिकामा सानो हल्का खालको फ्रिज आविष्कार भएपछि आइसक्रिम बनाउने क्रम व्यापक बिस्तार भयो । अमेरिकी नागरिक शैली सेडले दूध, क्रिम, चिनी, बदाम, किसमिस आदिको स्वादिष्ट आइसक्रिम बनाउन सुरु गरे । १९औं शताब्दीको सुरुवातसम्म आइसक्रिम संसारभर लोकप्रिय भइसकेको थियो । तर त्यसलाई प्लेट वा अन्य भाँडामा राखेर खाने गरिन्थ्यो । त्यतिन्जेलसम्म कोनको आविष्कार भएको थिएन । आजभोलिको खान हुने आइसक्रिम कोनको चलन सन् १९०४ मा मात्र सुरु भयो ।

अमेरिकाको सेन्ट लुइस भन्ने सहरमा एकपल्ट मेला लागेको थियो । सो मेलामा आइसक्रिम खानेहरूको निकै भीड थियो । आइसक्रिम खुवाउँदा खुवाउँदै प्लेट नै सकियो । त्यसपछि नजिकैको पसलबाट वेफर (एक प्रकारको पातलो कुरकुरे बिस्कुटजस्तै) ल्याएर त्यसैलाई ‘कोन’ को आकार दिई आइसक्रिम राखेर दिइयो । त्यसपछि आइक्रिम दिने त्यही तरिका संसारभर लोकप्रिय भयो । इंग्ल्यान्डका एन्टोनिया वाल्बोनाले पहिलोपल्ट बिस्कुटको कप (कोन) मा आइसक्रिम भरेर बेच्न थालेका थिए ।

आइसक्रिम खास गरी दूधजन्य उत्पादन हो । यसमा क्याल्सियम, प्रोटिन र भिटामिन ए र बी हुन्छ । तर चिसो र गुलियो हुने भएकाले धेरै खानुचाहिँ दाँतका लागि हानिकारक हुन्छ ।


-त्रिचन्द्र प्रतीक्षा

प्रकाशित : श्रावण ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?