पातको पिपिरी

जानुका खतिवडा

काठमाडौँ — स्कुलमा बर्खे बिदा चलिरहेकोले गोपी र सान्नानी घरमै बसेका थिए । आफ्नो घरमा रोपाइँ चलेका बेला त यसरी फुर्सदले बस्न कहाँ पाउनु र । उनीहरूले ब्याडदेखि धानको बीउका मुठा झुन्डयाउँदै रोप्ने मेलोसम्म पुर्‍याउन सघाउनुपथ्र्यो । घरको रोपाइँ पनि मैझारो भएकाले उनीहरू फुर्सदमा थिए । बुबाआमाचाहिँ पल्लाघरे बडाबाका घरको रोपाइँमा पर्म तिर्न जानुभएको थियो ।

दुवै दाजुबहिनी आँगनमा बसेर मकैको ‘जोर कि बिजोर’ खेलिरहेका थिए। त्यतिकैमा पातको पिपिरी बजाउँदै मनकुमार उनीहरूका अगाडि टुप्लुक्क आइपुग्यो ।

‘गोपी, माछा मार्न जाने हो ?’ उसले कर्कलोको पातमा पोको पारेका गँडयौला र काँधमा बोकेको बल्छी एकसाथ दुवैलाई देखायो । गोपी पनि खेल्न छोडेर बुवाले छानामा सिउरिदिनुभएको बल्छी निकाल्न दौडियो । रोपाइँ सिद्धिएपछि आमाले खेतको आलीमा पसनीले खन्दै सानो डोब बनाएर मास र भटमास रोप्नुभएको थियो । त्यो माटो सरीको पसनी पनि छानामै सिउरिएको रहेछ । गोपी पसनी लिएर घरपछाडि मल खाडलको डिलमा खन्न गयो । सान्नानीले कर्कलोको पात चुँडेर ल्याई । मल खाडलको डिलमा खन्दा निस्किएका गँडयौला गोपी र मनकुमारले टिपेर कर्कलोको पातमा राखिदिए । गँडयौलाको पोको सान्नानीले बोकी । तीनै जना होली खेततिर लागे ।

रोपाइँपछि लगत्तै भेल पसेकाले पन्ध्र दिनअघि रोपेको रोपो पनि भर्खरै हरियो फर्कन लागेको थियो । पानीले खाएर बीचबीचमा खाली थियो । धानको बीचबीचमा जलकुम्भी थुप्रिएको देखिन्थ्यो ।

‘बुझयौ, हिजो कालुले पनि यहीँबाट एक सिल माछा मारेर लगेको थियो,’ मनकुमारले माछाको कुरा सुनाउँदै कर्कलाको पातबाट दुइटा गँडयौला झिक्यो । एउटा आफ्नो बल्छीमा उन्यो अनि अर्कोचाहिँ गोपीको बल्छीमा उनिदियो । दुवैजना खेतको रोपो बीचमा पुग्ने गरी बल्छी डुबाएर हेर्न थाले । सान्नानी पनि उत्सुकतापूर्वक हेरिरहेकी थिई । ‘माछालाई गँडयौला खुब मनपर्छ । अब गँडयौला खान आउँदा बल्छीमा उनिन्छ । माछा परेपछि यो बल्छी बाँधेको सुता (धागो) हल्लिन्छ अनि फुत्त बाहिर तान्नुपर्छ बुझयौ ?’ मनकुमारले गोपीलाई माछा मार्ने सबै तरिका बिस्तारपूर्वक सम्झायो । नभन्दै एकैछिनमा गोपीको बल्छी हल्लिन थाल्यो । तीनै जना खुसीले फरुङ्ग परे । गोपीले एकछिन पछि बल्छी फुत्त बाहिर तान्यो । ‘धत् ∕ माछा भनेको त गँगटो पो परेछ,’ गोपी र सान्नानी मुखामुख गरेर हाँस्न थाले ।

मनकुमारले होसियार भएर गोपीको बल्छीबाट गँगटो निकाल्यो र फेरि अर्को गँडयौला उनिदियो । दुवैजना बल्छी थापेर माछा पर्ने आसले उभिरहे । सान्नानी एउटा सानो छेस्कोले गँगटोलाई यताउता पल्टाएर हेरिरहेकी थिई । ‘आम्मै ∕ गँगटाका आँखा त यहाँ पो हुँदा रहेछन् ।’ अगाडिपट्टि हाँगाझैं निस्किएका खुट्टाजस्तो भागमा देखाउँदै सान्नानी आश्चर्यले कराई । ‘झन् दाँत त त्यसका पेटमा हुन्छन् रे,’ गोपीले बल्छीतिरै ध्यान दिएर बहिनीलाई जवाफ दियो । सान्नानीले छेस्काले घँचेट्दै गँगटोलाई फेरि पानीभित्रै खसाइदिई ।

चरक्क घाम चर्केको थियो । गर्मीले गर्दा निधारबाट चुहिँदै आएको पसिना नाकको टुप्पासम्म पुग्यो । बल्छीमा एउटै माछो पनि परेको थिएन । ‘उफ् ∕ कस्तो गर्मी ।’ सन्नानी छेउको रूखबाट पात टिपेर पंखाझैं हम्किन थाली । ‘यस्तो गर्मीमा त पौडी खेल्न कस्तो मज्जा हुन्छ नि,’ गोपीले नाकसम्म आएको पसिना पुस्दै भन्यो । ‘खोलामा पौडी खेल्न जाने हो त ?’ मनकुमार पनि तम्सियो । ‘नाइँ, मलाई पौडिन आउँदैन,’ सान्नानी डराई । ‘तिमी खोलाको छेउमा खेल, हामी बीचतिर खेल्छौँ,’ मनकुमारले उपाय निकाल्यो । तीनै जना बल्छी त्यहीँ थापिराखेर खोलातिर लागे ।

खोलामा भेल आएर भर्खरै घटेको थियो । किनाराका पानीले छोपिएका हिलो लेदो सरीका रूखबिरुवा घामले ओइलाएर लत्रक्क परेका थिए । एकछिन् उभिएर उनीहरूले खोलाको पानीतिर हेरे । एकछेउमा पानी कस्तो जाँतो घुमे जसरी फन्फनी घुमिरहेको थियो । सान्नानीले बगरमा भेलले थुपारेको जलकुम्भीको थुप्रोबाट एउटा फूल टिपेर त्यो पानी घुमेको ठाउँमा मिल्काइदिई । फूल त घुम्दैघुम्दै भित्रभित्र गयो र त्यहीँ हरायो । गोपी र मनकुमार लुगा फुकालेर खोलामा हाम फाल्न तयार भइसकेका थिए ।

‘दाइ नजानुस्, अस्ति बुवाले यस्तो भुमरी परेको ठाउँमा पानी गहिरो हुन्छ भन्नुभा होइन ?’ सान्नानीले गोपीको हात च्याप्प समाती । ‘धेरै पानीमा त पौडी खेल्न रमाइलो हुन्छ नि,’ मनकुमार उक्सियो । ‘अस्ति भर्खर खोलामा बाढी आउँदा पानी हाम्रो घरको आँगनसम्म पुगेको थियो,’ सान्नानीले गोपीको हात समातिरही । बहिनीका कुराले गोपी अलि हच्किएर पछाडि सर्‍यो । ‘हे... डरपोक...म त खेल्छु,’ मनकुमार हाँस्दै गोपीलाई जिस्काएर खोलामा पस्न तयार भएको थियो ।

‘पख मनकुमार, हामी सिकारुहरू खोलाको धेरै पानीमा पस्नुहुन्न रे । यस्तो बगुवा पानीले त पौडिन नजान्नेहरूलाई बगाएर लैजान्छ रे,’ गोपीले पनि बुवाले सम्झाएको कुरा मनकुमारसँग दोहोर्‍यायो ।

‘पोहोर साल पौडी खेल्ने हुँदा रामुलाई यही खोलाले बगाएको होइन ?’ सान्नानीले सम्झाई । रामु उनीहरूको मिल्ने साथी थियो । उसको यादमा तीनै जनाका आँखा रसाएर आए । तीनै जनाले खोलाको डिलमा उभिएर एकछिन् अलमल्ल परी बगेको पानीलाई टुलुटुलु हेरिरहे ।

‘बल्छीमा माछा परिसक्यो होला,’ अचानक गोपीले सम्झियो । त्यसपछि गोपी र मनकुमारले पौडी खेल्न भनेर फुकालेका लुगा फेरि लगाए । सान्नानीले जलकुम्भीका पात टिपेर बिस्तारै बेरी र पिपिरी बनाई । तीनै जना एक–एकवटा पिपिरी पालैपालो बजाउँदै होली खेततिर फर्किए ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

मुगुदेखि स्पेनसम्म

नरेन्द्र रौले

काठमाडौँ — असार अन्तिम साता उपराष्ट्रपति कार्यालयको मिटिङ हलमा उपराष्ट्रपति नन्दकिशोर पुनले सोधे, ‘स्पेन कस्तो लाग्यो त ?’‘हामी त भाग्यमानी रहेछौं । १४ वर्षको उमेरमै स्पेन घुम्न पायौं ।

ठूलो समुद्र, जमिनमुनि गुड्ने रेल देख्न पाइयो,’ मुगुको रारा छायानाथ नगरपालिका ५ की १४ वर्षीया रिता रोकायाले भनिन्, ‘स्पेनमा मेस्सीले फुटबल खेलेको ग्रान्ड नोउ फुटबल स्टेडियम र सुनको जुत्ता देख्दा त कम्ती खुसी लागेन ।’

सोही नगरपालिका १ छत्यालबाडाका विपना मल्ललाई स्पेन पुगिएला भन्ने सपनामा पनि लागेको थिएन । गाउँमा मानिस भन्थे, ‘तिमीहरूलाई कहाँ विदेश लग्छन् ? बरु बेच्न लग्छन् ।’

पासपोर्टमा भिसा लागेपछि गाउँका सबै जना छक्क परे । ‘हामीलाई पनि ए, साँच्चै पो रैछ भन्ने लाग्यो,’ विपनाले सुनाइन्, ‘त्यसपछि पनि गाउँमा कतिले विश्वास गरेकै थिएनन् ।’ सुनमति बूढाको घरमा त भिसा लागेपछि पनि धामी, झाँक्री देखाइयो । देउताले ‘राम्रो हुन्छ जाऊ’ भनेपछि मात्र उनी स्पेन जान राजी भइन् ।

मुगुकी रिता रोकाया र विपनासहित १७ किशोरीले हालै मुगुदेखि स्पेनसम्मको यात्रा गरे । फर्केपछि उनीहरूले एउटा भेटघाटमा उपराष्ट्रपतिलाई आ–आफ्नो अनुभव सुनाए ।

मुलुककै विकटमध्येको जिल्लाका यी किशोरीले जीवनमै पहिलोपल्ट गाडी चढे । पहिलोचोटि विमान चढे । उनीहरू सबैले अचम्मको अनुभव बटुले । मुगुदेखि नेपालगन्ज आउँदा रितालाई डर लागिरहयो । ‘पहिलोचोटि प्लेन चढ्दा कुन खोलामा खसिने हो कि भन्ने लागिरहयो,’ उनले भनिन्, ‘जहाज चढ्नुअघि झाँक्रीले दिएको चामल पनि छर्कियौं ।’ जहाज चढेपछि सबैजना चिच्याए । कतिले त बान्ता पनि गरे । कतिले पछिसम्मै कान दुखेको सुनाए ।







काठमाडौंबाट टर्कीको राजधानी इस्तानबुल पुग्न ८ घण्टा लाग्यो । टर्कीदेखि स्पेनको बार्सिलोना साढे ३ घण्टामै पुगियो । जहाजमा खानेकुरा दिइँदो रहेछ भन्ने कुरा उनीहरूले पहिलोपल्ट थाहा पाए । तर रिंगटा चलेर कसैलाई खानै मन लागेन । ‘दुई दिनसम्म भोकै बस्यौं,’ अर्की छात्रा सत्यलक्ष्मी बूढाले भनिन्, ‘बरु जुस मात्रै पियौं ।’

मुलुककै विकटमध्येको जिल्ला हो मुगु । हिउँमा फुटबल खेल्ने बानी परेका किशोरीले सुरु गरेको क्लबको नाम हो, टिम रारा । उनीहरूले फुटबल खेल्न थालेको धेरै भएको छैन । ६ महिनाअघि मुगुको एउटा एफएम रेडियोमा सूचना बज्यो । १४ वर्षमुनिका छात्राहरूको फुटबल प्रतियोगिता हुँदै छ । जिल्ला स्तरमा छनोट हुनेले स्पेनमा हुने फुटबल प्रतियोगितामा भाग लिन पाउनेछन् । यो सूचना धेरै किशोरीका कानमा पर्‍यो । तर सुरुमै विश्वास लागेको थिएन । धेरै किशोरीका अभिभावकले फुटबल खेल्नै दिएनन् । ‘फुटबल नखेल, छोरी मान्छे बिग्रन्छ भन्थे,’ महाकाली मावि, रोबामा कक्षा ६ मा पढ्ने रोशनी कामीले भनिन् ।

तर जसले जे भने पनि मुगुका यी किशोरीले हिम्मत हारेनन् । उनीहरू स्कुल र घरबाट भागेर फुटबल खेल्न जान्थे । मुगुमा ६ महिनाअघि भएको फुटबल प्रतियोगितामा जिल्लाभरिबाट १० टिमका १ सय ४० जनाले भाग लिए । त्यसमध्ये सुरुमा ३१ जना छानिए । त्यसबाट पनि अन्त्यमा स्पेन जानका लागि १७ जना टनौटमा परे । उनीहरूलाई स्पेनमा आयोजित ‘डोनास्टिक कप फुटबल’ प्रतियोगितामा भाग लिने बन्दोबस्त ‘सुनाकली’ डकुमेन्ट्रीका निर्माता पत्रकार भोजराज भाटले मिलाएका हुन् ।

मुगुमा फुटबल मैदान छैन । भिरालो जमिनमा, जाडोयाममा हिउँमै उनीहरू फुटबल खेल्छन् । काठमाडौं आउनुअघि उनीहरूले मुगुकी फुटबलर सुनाकलीलाई मात्र चिन्थे । यता आएपछि मेस्सी, रोनाल्डो, नेयमारका बारेमा थाहा पाए । टेलिभिजनमा हालैको विश्वकप फुटबल हेरे । त्यसपछि त खेलमा झन् चासो बढ्न थाल्यो ।








गएको असारमा स्पेनमा आयोजित ‘डोनास्टिक कप’ प्रतियोगितामा उनीहरूले भाग लिए । त्यहाँ विश्वका ३४ देशका ६ सय ३० टिमबाट ७ सय खेलाडी सहभागी थिए । नेपालका १७ किशोरीमध्ये संगीता थापा र विपना मल्ल किपर हुन् भने बाँकी सबै खेलाडी । उनीहरूले ४ टिमसँग खेले । जित हात पार्न नसके पनि उनीहरू अर्को पटक जित्ने हिम्मत बटुलेर फर्किए ।

स्पेनमा पुगेका बेला सबैले समुद्र किनारमा पौडी खेले । नुनिलो पानी चाखे । ‘समुद्रको छालले हुत्याउँदा निकै डर लाग्यो,’ रिताले सुनाइन्, ‘पौडी खेल्न भने रहर लाग्छ ।’ उनीहरूले मेस्सी र रोनाल्डोले फुटबल खेलेको ग्रान्ड नोउ फुटबल स्टेडियम र खेलाडीले लगाउने गोल्डेन बुट, जर्सी आदि देखे । पुराना चर्च पनि देखे । स्पेन पुग्दा पनि रारा घुमेको र हिउँमा खेलेको सम्झिए ।

स्पेन यात्राले मुगुका किशोरीलाई धेरै कुरा सिकाएको छ । अरू मानिससँग बोल्न, व्यवहार गर्न, आफ्नो कामप्रति जिम्मेवार बन्न र असल नागरिक बन्न सिकाएको छ । ‘घर पुगेर स्पेनमा देखेका, बुझेका कुराहरू सुनाउन आतुर छु,’ सुनमतिले आफ्नो इच्छा सुनाइन् । मुगु फर्केर गर्नै पर्ने धेरै योजना छन्, यी किशोरीका । जस्तो कि गाउँघरमा बालविवाह अझै छ ।
‘सडक नाटक र खेलकुदमार्फत पनि यस्तो कुरीति हटाउन जनचेतना जगाउनेछौं,’ उनीहरूले भने, ‘अब त हामी पनि बाठा भइसक्यौं ।’ मुगुका यी सबै किशोरीको मुहारमा पहिलाभन्दा अझ उज्यालिएको छ । मनमा पनि आत्मविश्वास बढेको छ ।

प्रकाशित : श्रावण १३, २०७५ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्