कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सानाको दीक्षान्त

चेतनाथ आचार्य

काठमाडौँ — दीक्षान्त भनेको निश्चित तह उत्तीर्ण गरी आफू पढेको शैक्षिक संस्थाबाट बाहिरिनु हो । धेरैजसो मुलुकमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरेपछि विश्वविद्यालयहरूले दीक्षान्त गर्ने गर्छन् । चीनमा भने विद्यालय तहदेखि नै विशेष समारोह गरी विद्यार्थीलाई दीक्षान्त गर्ने चलन छ ।

सानाको दीक्षान्त

चीनमा शैक्षिक सत्र सेप्टेम्बरबाट सुरु हुन्छ र जुन महिनामा सकिन्छ । त्यसपछिका दुई महिना गर्मी बिदा हुन्छ । गत जुन महिनामा सकिएको शैक्षिक सत्रमा बेइजिङका विद्यालयहरूबाट केही नेपाली विद्यार्थी पनि दीक्षित भएका छन् । उनीहरू आफ्ना अभिभावकसँगै चीनमा बसेर पढिरहेका छन् ।

चिनियाँ विद्यालय ४ तहका छन् । पहिलो हो, पूर्वप्राथमिक वा शिशु विद्यालय । नेपालमा जस्तै यसमा तीन वर्ष पढाइ हुन्छ । तीन वर्षदेखि ६ वर्षका बालबालिका यो तहमा पढ्छन् । यो तहमा पढ्ने बालबालिकालाई राम्ररी बोल्न, गीत गाउन, चित्र बनाउन र नाच्न सिकाइन्छ । यसो गर्दा बालबालिकाले मनोरञ्जनका माध्यमबाट सिक्ने अवसर पाउँछन् ।

कक्षा १ देखि कक्षा ६ सम्मलाई प्राथमिक तह भनिन्छ । कक्षा ७ देखि ९ सम्मलाई मिडल स्कुल र कक्षा १० देखि १२ सम्मलाई माध्यमिक तह भनिन्छ । पूर्वप्राथमिक तह, प्राथमिक तह, मिडल स्कुल र माध्यमिक तहका छुट्टाछुट्टै विद्यालय हुने गर्छन् । कतैकतै मात्र एउटै विद्यालयमा सबै तह हुन्छन् । बालबालिकाले हरेक तह पार गरेपछि विद्यालयले विश्वविद्यालयको जस्तै दीक्षान्त समारोह आयोजना गरेर बिदाइ गछ्र्रन् । यसो गर्दा उनीहरूलाई दीक्षान्तको विशेष पोसाक र टोपी लगाएर सम्मान गरिन्छ । आर्यका श्रेष्ठले बेइजिङको सचिङसान जिल्लामा रहेको सफानफु स्यावो विद्यालयबाट भर्खरै कक्षा ६ उत्तीर्ण गरेकी छन् । उनी विद्यालयकी सर्वोत्कृष्ट विद्यार्थी हुन् । यो वर्ष कक्षा ६ बाट उत्तीर्ण हुने सचिङसान जिल्लाभरका विद्यार्थीमा आर्यका उत्कृष्ट दोस्रोमा परिन् । विद्यालयले दीक्षान्त समारोहमा उनीसहित सबै विद्यार्थीलाई विशेष पोसाक र टोपी लगाइदिएर बिदा गरेको छ ।

त्यसपछि आर्यकाले कक्षा ७ मा बेइजिङकै अर्को जिल्ला हाइतियानमा रहेको शियी विद्यालयमा भर्ना पाएकी छन् । काठमाडौं घर भएकी १२ वर्षीया आर्यका ८ वर्षदेखि बेइजिङमा आफ्ना बुबाआमासँग बसेर पढ्दै छिन् । बेइजिङकै छावोयाङ जिल्लास्थित ब्लु आइसल्यान्ड किन्डर गार्डेनबाट पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेकी सिजल अधिकारीलाई पनि विद्यालयले दीक्षान्तको टोपी र पोसाक लगाइदिएको छ । दाङकी सिजल उक्त विद्यालयकी एक मात्र विदेशी विद्यार्थी हुन् । आफ्ना बुबाआमासँग बेइजिङमा बसेर पढिरहेकी ६ वर्षीया सिजलले यो पूर्वप्राथमिक विद्यालयमा ३ वर्ष अध्ययन गरेकी हुन् ।

शिक्षाविद्हरूका अनुसार यस्तो दीक्षान्तबाट विद्यार्थीहरूमा गौरवबोध हुन्छ । आफूले पढेको विद्यालय र त्यहाँका शिक्षक, शिक्षिका र साथीसंगीलाई पछिसम्मै सम्झना दिलाउँछ । दीक्षान्तपछि आफ्ना साथी, शिक्षकशिक्षिका र विद्यालय परिवारसँग खिचिएका तस्बिरले उनीहरूको बाल्यकाल स्मरणीय बनाउँछ ।

प्रकाशित : श्रावण २७, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?