कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रक स्टार सपना

राजाराम पौडेल

काठमाडौँ — सानैमा ड्रम बजाएर विश्व कीर्तिमान राखेका उत्प्रेम जोजिजू अहिले १० वर्षका भए । दुई वर्षको उमेरमै ड्रमसेट बजाएर उनी चर्चामा आएका थिए । २०६५ असोजमा जन्मिएका उत्प्रेमले २०६७ असोजमा पहिलो प्रस्तुति दिएका थिए । उनले एभरेस्ट वल्र्ड रेकर्ड २०१२, युनिक वल्र्ड रेकर्डलगायतका ७ वटा वल्र्ड रेकर्ड बनाएका छन् ।

रक स्टार सपना

उत्प्रेमले हालै मात्र ‘बाल विकास’ र ‘माछापुच्छ्रे’ बोलका दुई गीत रेकर्ड गराएका छन् । ड्रमर मात्र नभएर बाल गायकका रूपमा समेत उनले आफ्नो परिचय बनाएका छन् । ‘रेन’ बोलको अंग्रेजी गीत पनि गाएका छन् । नेपाली राष्ट्रभावका गीत र अंग्रेजी गीतमा आफ्नो बढी रुचि भएको उनी बताउँछन् ।

उत्प्रेमको घरमा सांगीतिक माहोल थियो । गीत संगीत सिकाइन्थ्यो । त्यसैले संगीतको धून र तालसँग उनी सजिलै नजिकिए । कोठाभित्र ड्रम क्लास भइरहेको हुन्थ्यो । उनी भित्र जान खोज्थे तर ढोका लगाएकोले जान सक्दैनथे । बाहिर पनि ड्रमसेट हुन्थ्यो । उनले भित्र जे बजेको छ सुनेर त्यसरी नै बजाउने गर्थे । यसरी नै उनले ड्रमसेट बजाउन सुरु गरे । उनले ड्रमसेट बजाएको देखेर म्युजिक सेन्टरमा महिनाको अन्तिम शुक्रबार हुने कार्यक्रममा बजाउन दिइयो । अनि बल्ल उनको क्षमता थाहा भयो । उत्प्रेमले पोखरामा आयोजित औद्योगिक व्यापार मेला, गैरआवासीय नेपाली संघको कार्यक्रमलगायतमा आफ्नो प्रस्तुति राख्दै सबैको तारिफ बटुले । विभिन्न ठाउँमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरियो । राष्ट्रिय बालप्रतिभा पुरस्कारलगायत पुरस्कार पनि उनले जिते ।

उत्प्रेम ड्रमसेटका बाहेक तबला, किबोर्ड, गितार र नेवारी बाजा खी: समेत बजाउँछन् । आफ्नो घरमै बुबाले जोजिजू म्युजिक स्कुलमार्फत संगीत सिकाउने गरेकाले उनलाई अभ्यास गर्न सहज भयो । स्कुलबाट फर्किएपछि खाजा खाएलगत्तैको समय उनी संगीत सिक्न खर्चिन्छन् । फुटबल खेल्न र पुस्तक पढ्न पनि उनलाई उत्तिकै मन पर्छ । ‘सांगीतिक क्षेत्रमा लागेर रकस्टार बन्ने हो,’ उत्साहित हुँदै उत्प्रेम भन्छन्, ‘त्यसका लागि दिनहुँ अभ्यास गर्ने गरेको छु ।’ घरमै सांगीतिक माहोल भएकाले उनकी डेढ वर्षकी बहिनी उत्प्रेरणा पनि पियानो बजाउँछिन् ।

उत्प्रेमलाई सांगीतिक क्षेत्रमा अगाडि बढ्न बुबा सहदेव जोजिजू (विनीत) र ममी हरिमाया श्रेष्ठ जोजिजू (सानु) ले हौसला दिने गरेका छन् । ‘अब उसलाई लिएर नेपालका विभिन्न ठाउँमा टुर गर्ने योजना बनाएका छाँै,’ विनीतले भने ।

विनीतका अनुसार उत्प्रेमले गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै कान्छो ड्रमरका रूपमा कीर्तिमान राख्न प्रयास गरे पनि त्यो प्रक्रिया पूरा भइसकेको छैन । त्यसका लागि उनले म्युजिक नेपालको स्टुडियोमा प्रत्यक्ष ड्रमसेट बजाएर गीत रेकर्ड गरेका थिए । ‘तालको पानी माछीले खानी..., ‘रेशम फिरिरी...’, ‘पलपलको सम्झनामा...’, ‘नाच्यौं मैच्याङ...’ सहित नेपाली गीत र अंग्रेजी गीतमा ड्रम बजाउँदै संगीतको धून भर्ने कला उनमा छ । ‘भविष्यमा ड्रमर र गायन दुवै कलालाई साथै अगाडि बढाउँछु,’ उत्प्रेमले भने । पोखराको एक निजी स्कुलमा कक्षा ४ मा पढ्ने यी छात्रलाई उनको प्रतिभाको कदर गर्दै स्कुलले छात्रवृत्ति दिएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?