कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हलो जोत्ने साथी

कथा
रत्न प्रजापती

काठमाडौँ — गर्मीको बिदामा विक्रम बुबाआमासँगै गाउँ गयो । बाटोमा हिँड्दाहिँड्दै हलो जोतिरहेको मानिसतिर देखाएर बुबासँग सोध्यो, ‘बुबा, ऊ त्यो मानिसले के गरिरहेको ?’बुबाले विक्रमले देखाएतिर हेर्नुभयो । उहाँले एउटा मानिसले हलो जोतिरहेको देख्नुभयो ।

हलो जोत्ने साथी

सँगसँगै विक्रमजस्तै एउटा बालकलाई पनि देख्नुभयो, जो आफ्नो बुबासँग हलो जोत्न सिकिरहेको थियो ।बुबाले भन्नुभयो, ‘त्यो मानिसले हलो जोतिरहेको हो । अन्नबाली लगाउनुअघि किसानहरूले यसरी नै खेतबारीमा हलो जोत्ने गर्छन् ।’

‘हलो भनेको चाहिँ के हो नि बुबा ?’
विक्रमले बुबाको कुरा एकदम ध्यान दिएर सुनिरहेको थियो । उसले एकपछि अर्को प्रश्न पनि गरिरहेको थियो । त्यसकारण बुबाले विक्रमलाई हलोको बारेमा अझै विस्तृत रूपमा बताउनुपर्ने ठान्नुभयो ।अनि उहाँले भन्न थाल्नुभयो– ‘हलो भनेको जमिन खनजोत गर्ने कृषि औजार हो । विकसित देशहरूमा अन्नबाली लगाउँदा जमिन खनजोत गर्न मेसिन प्रयोग गर्छन् । हाम्रो जस्तो देशको गाउँघरमा भने अझै पनि अन्नबाली लगाउँदा जमिन खनजोत गर्न हलो नै प्रयोग गरिन्छ ।

हलो जोत्न गोरु वा राँगा प्रयोग हुन्छ । एउटै सोइलामा नारिएको गोरुको जोडीलाई हलगोरु भनिन्छ । दुइटा गोरुलाई सही दूरीमा हिँडाउन बनाइएको काठको औजारलाई जुवा भनिन्छ । जुवालाई गोरुका काँधमा राखेर त्यसमा हल्लुँडो अर्थात् छालाको डोरी लगाएर हलो जोडिन्छ । जुवामा प्वाल पारेर गोरुलाई अडाउनका लागि काठका चारवटा डन्डीहरू लगाइएका हुन्छन् । तिनलाई सोइला भनिन्छ । सोइलामा डोरी प्रयोग गरेर गोरुलाई बाँधेर अडाइन्छ । यसरी जुवाको सोइलामा बाँधेर गोरुको गलामा बाँध्ने डोरीलाई जोतारो भनिन्छ ।

जमिन जोत्ने मुख्य अंगचाहिँ फाली हो । यो हलोको टुप्पापट्टि जोडिएको हुन्छ । यो फलामले बनेको हुन्छ र चुच्चो आकारको हुन्छ । यसलाई काठमा अडयाइएको हुन्छ । फालीको माथिल्लो भागमा काठको अनौ हुन्छ । यो हलोको पछिल्लो भाग पनि हो । यही अनौलाई समातेर हलीले हलोलाई आफूले चाहेको दिशामा मोड्न सक्छन् ।

हलोको मुख्य भागचाहिँ हरिस हो । जुवा र फालीको बीचमा रहेको लामो र ठाडो काठलाई हरिस भनिन्छ । यसले जुवा र फालीलाई जोड्ने काम गरेको हुन्छ । यसरी जुवा, हल्लँुडो, जोतारो, अनौ, फाली र हरिस मिलेर बनेको औजारलाई हलो भनिन्छ । हलोलाई चलाउने अथवा हलो जोत्ने व्यक्तिलाई चाहिँ हली भनिन्छ ।’

विक्रमले बुबाका कुरा कथा सुनेझैं सुनिरहयो । हलोबारे उसको मनको उत्सुकता पनि मेटियो । तर उसको मनको एउटा खुल्दुली भने अझै मेटिएन । त्यो थियो– हलो जोत्ने मानिस सँगसँगै त्यो एउटा बालकचाहिँ किन हिँडिरहेको होला ? विक्रमको मनको खुल्दुली मेटाउँदै बुबाले भन्नुभयो, ‘त्यो बालक आफ्नो बुबासँग हलो जोत्न सिकिरहेको छ । उसले पनि ठूलो भएपछि आफ्नो बुबाले जस्तै हलो जोत्छ र आफ्नो खेतबारीबाट अन्न उब्जाउँछ । गरिबीका कारण गाउँका धेरै बालबालिका विद्यालय जान पाउँदैनन् । बालकहरू सानैदेखि गोरु जोत्न सिक्छन् भने बालिकाचाहिँ घाँसदाउरा र चुल्होचौको गर्न सिक्छन् । गाउँका धेरै गरिब घरपरिवारका कतिपय बालबालिका अहिले पनि यस्तै अवस्थामा छन् । त्यो बालकले विद्यालय जान नपाएको कुरा थाहा पाएर विक्रमलाई निकै दु:ख लाग्यो । विक्रमले विद्यालयमा हुने रमाइलो सम्झ्यो । त्यो बालकले विद्यालयको रमाइलोमा रमाउन नपाएकोमा विक्रम खिन्न भयो । उसलाई त्यो बालकसँग कुरा गर्न मन लाग्यो र उसलाई साथी बनाउन मन लाग्यो ।

‘एकैछिन् है बुबाआमा’ भन्दै आलीआलीबाट दौडँदै विक्रम त्यो बालकको छेउमा पुग्यो । विक्रम आफूतिर दौडिएर आइरहेको देखेर त्यो बालक पनि टक्क अडिएर हेर्न थाल्यो । विक्रमलाई आफ्नो सामुन्ने उभिएको देखेर त्यो बालकले छक्क परेर हेर्न थाल्यो । विक्रमले मुस्कुराउँदै भन्यो, ‘म विक्रम, सहरबाट आएको । तिमीले हलो जोत्न सिकेको हेर्न आएको । आजदेखि तिमी मेरो साथी बन्छौ ?’

बालक अकमक्क पर्‍यो । उसलाई के भन्नु, के नभन्नु भयो । अनि कहिले विक्रमतिर त कहिले आफ्नो बुबातिर हेर्न थाल्यो । छोरा अकमकाएको देखेर हलो जोत्दै गरेको मानिसले भने, ‘उमेरले तिमीहरू दुवै जना उस्तै छौ । तिमीहरू साथी–साथी त हौ नि ।’आफ्नो बुबाले यसो भनेको सुनेर त्यो बालकले अलिकति लजाएर भन्यो, ‘हुन्छ ।’

विक्रम खुसी भयो । उसले हलो जोत्ने साथी पायो । सहरका धेरै साथीभन्दा एउटा भिन्न साथी पायो उसले । उसलाई त्यो साथीको धेरै माया लाग्यो । यति सानो उमेरमा हलो जोत्न सिकिरहेको साथीको हात समातेर विक्रमले भन्यो, ‘साथी, सधैंभरि हलो जोतेर मात्रै हुँदैन । हाम्रो सरले भन्नुभा’को, भविष्य राम्रो बनाउन त धेरै पढ्नुपर्छ रे । तिमी पनि स्कुलमा गएर धेरै पढ है ।’

उसले ‘हुन्छ’ भनेर टाउको हल्लायो । त्यसपछि विक्रम खुसी भएर फेरि बुबाआमासँगै आफ्नो गाउँको घरतिर हिँडयो । विक्रमको साथीले धेरै बेरसम्म विक्रम गएको हेरिरहयो । उसलाई विक्रमको कुरा निकै घत लाग्यो । अब उसले पनि विक्रमले जस्तै पढ्ने अठोट गर्‍यो । विक्रम भने बुबासँगै सहर फक्र्यो ।

केही महिनापछि जाडो बिदामा फेरि विक्रम बुबाआमासँगै गाउँ गयो । गाउँको बाटोमा हिँड्दाहिँड्दै विक्रमले देख्यो– उसको साथी त हलो पो जोतिरहेको छ । विक्रम आलआलीबाट दौडाँै साथीलाई भेट्न गयो ।

सहरको साथीलाई देखेर हलो जोतिरहेको बालक छक्क पर्‍यो । विक्रमलाई भने आफ्नो साथी स्कुल जान्छ कि जाँदैन भन्ने थाहा पाउन हतार भयो । ‘तिमी स्कुल जाँदैनौ साथी ?’ विक्रमले सोध्यो ।

‘जान्छु,’ बालकले भन्यो ।‘अनि किन हलो जोतिरहेको त ?’ विक्रमले फेरि सोध्यो ।‘अहिले स्कुल छुट्टी छ नि त,’ बालकले हाँस्दै भन्यो ।‘ए, मेरो पनि त स्कुल छुट्टी हो नि त । म त कस्तो हुस्सु,’ विक्रमले पनि हाँस्दै भन्यो ।

प्रकाशित : श्रावण २७, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?