बाल खेलाडी

जितेन्द्र साह

काठमाडौँ — बेलुकीको चार बजे अगावै मनपर्ने जर्सीमा सानाठूला बालक विराटनगरको सहिद रंगशालाको मैदानमा भेला भइसकेका हुन्छन् । गुरुहरूको निर्देशनअनुरूप उनीहरू लामबद्ध हुन्छन् । व्यायाम गर्छन् । फुटबलको अभ्यासमा जुट्छन् । तिर्खाएपछि झोलाबाट बोतल झिक्दै पानी पिउँछन् ।

बालकहरूको समर्पण राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीभन्दा कम देखिन्न । यहाँ फुटबलको भविष्य तयार हुँदै छ भन्ने सहजै आभास हुन्छ । सातामा शुक्रबार र शनिबार वा बिदाको मौकामा यहाँ सानाले फुटबल सिकिरहेका छन् । गर्मी निकै बढेको बेला त उनीहरू जर्सीसमेत फुकालेर खेलिरहेको रमाइलो दृश्य देख्छौं । बाबुहरूको खेल हेर्न फुटबलप्रेमी ठूला दर्शक पनि ओइरिन्छन् ।

राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण कार्यक्रमअन्तर्गत चार महिनादेखि उनीहरूले फुटबल खेलका लागि आवश्यक दौड, बल नियन्त्रण कला, पास, टयाकल, चेस्टिङ, हेडिङ, साइड टयाकल, सामूहिक तालमेल र भिड्ने कला सिक्दै छन् । टाढैबाट अभिभावक र आफन्तजन उनीहरूको खेल हेरिरहेका हुन्छन् । कतिले मोबाइलमा तस्बिर खिच्छन् त कतिले हौस्याउन ताली बजाउँछन् । ‘राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडी बनेमा सानामा खिचिएका यी तस्बिरहरू पनि निकै महत्त्वपूर्ण र सम्झनयोग्य होला नि,’ पिता प्रकाश थापाले भने । कक्षा–६ मा अध्ययनरत उनका छोरा १२ वर्षीय प्रज्ज्वल पनि प्रशिक्षण लिँदै छन् । रंगशालादेखि थोरै दूरीमा विराटनगर–३, वन कार्यालय छेउमा थापा परिवारको घर छ । उनी घरबाट हिँडदै छोरालाई लिएर आइपुग्छन् ।

‘पढाइमा पनि राम्रै छ तर फुटबलमा बढी रुचि देखायो, बल खेलेको खेल्यै गर्छ,’ उनी भन्छन् । छिमेकी तथा वरिष्ठ फुटबल प्रशिक्षक शिवभक्त जोशीले छोराको खेल देखिराख्ने हुनाले यहाँ भइरहेको तालिममा सहभागी हुन लगाएको उनी बताउँछन् । थापा पेसाले कम्प्युटर प्राविधिक हुन् । उनको श्रीमती कविता दुई दशकदेखि एक प्रतिष्ठित निजी विद्यालयमा कार्यालय सहायक छिन् । छोरा पनि उनी कार्यरत विद्यालयमै पढ्छन् । उनीहरूकी २ वर्षीया छोरी प्रजिता पनि छन् । सबै जना एक साथ मैदानमा पुग्छन्, तालिमपछि सँगै फर्कन्छन् ।

दाइले फुटबल उडाएको देखेपछि प्रजिता पनि खुसी हुँदै उफ्रिन्छिन्, थपडी बजाउँछिन् र भीडमा दाइ कहाँ पुग्नुभयो भनेर खोज्छिन् । अनि बाआमाले औंलाले ‘ऊ त्यहाँ पुग्यो’ भन्दै देखाउँछन् । ‘फुटबलमै बढी रुचि छ, खेलाडी बन्न चाहन्छु,’ छोरा प्रज्ज्वलले भने । पढाइ पनि राम्ररी गरिरहेको छोराको बढी ध्यान फुटबलमै भएकोले सफल खेलाडी बनेमा आफूहरूको सपना पूरा हुने आमा कविता बताउँछिन् । ‘पढाइ वा खेल, जेमा भए पनि उत्कृष्ट गर्नुपर्‍यो,’ बुबा प्रकाश भन्छन्, ‘फुटबल नै राम्रो खेलेको देख्छु ।’

थापाझैं अधिकांश अभिभावक कुशल खेलाडी बनून् भन्ने लक्ष्यका साथ बाबुहरूलाई लिएर निजी वा सार्वजनिक सवारीमा र पैदलै रंगशालासम्म पुग्छन् । परिषद्ले प्रशिक्षक र रेफ्रीको रेखदेखमा काठमाडौंबाहेक विराटनगरमा पनि इच्छुक बालकहरूलाई उमेर तथा उचाइअनुरूप समूहमा विभाजन गरी तालिम दिइरहेको छ । ६ देखि १० वर्ष, ११ देखि १४ वर्ष र १५ देखि १८ वर्षको तीन उमेर समूहमा भइरहेको यो आधारभूत तालिममा यहाँ १ सय ५० बालक सहभागी छन् ।

यहाँ फुटबलका अन्तर्राष्ट्रियस्तरका रेफ्री मधुसूदन खनालको निगरानीमा मुख्य प्रशिक्षक पारस चौधरी र राष्ट्रिय प्रशिक्षक अरुण लामा, दिनेश बस्नेत एवं मदन काफ्लेले बालकहरूलाई फुटबलका दाउपेचमा दक्ष बनाइरहेका छन् । चार महिनाको तालिम पछि भदौमा एक महिना छुट्टी हुनेछ । राष्ट्रिय खेलकुद अभ्यासका लागि उक्त मैदान पनि छनोट भएकोले एक महिनाका लागि बाबुहरूको प्रशिक्षण रोक्नुपर्ने भएको खनाल बताउँछन् ।

यो लगत्तै असोजदेखि प्रत्येक समूहबाट २५ जनाको दरले ७५ बालक एवं किशोर छनोट हुन्छन् । परिषद्ले यसबाट छानिएका ५० जनालाई छात्रवृत्तिसहित प्रशिक्षण दिन्छ । उनीहरू राष्ट्रियस्तरका खेलाडी नबनुन्जेल यो क्रमबद्ध तालिम चलिरहन्छ । मुलुकमा पहिलो पटक भइरहेको यो कार्यक्रमले निरन्तरता पाएमा भविष्यमा खेलाडीको अभाव नहुने खनालले आस गरेका छन् । तर केही अभिभावकले छोराछोरीलाई खेलाडी बनाउनेभन्दा पनि समूहमा काम गर्न सिकाउन, मोबाइल खेलको लत छुटाउन, अनुशासित र स्वस्थ जीवनशैली जिउन जानून् भनेर पनि मैदानमा ल्याइरहेको बताउँछन् । ‘खेलाडी नै बनाउनेभन्दा पनि फरकफरक पृष्ठभूमिका साथीसँग घुलमिल गरून् र मिलेर काम गर्ने भावनाको विकास होस् भनेर ल्याएको हुँ,’ स्थानीय युवा सञ्चारकर्मी एवं व्यवसायी धीरज दाहालले भने ।

परिषद्ले ६ वर्षदेखि १८ वर्ष उमेर समूह निर्धारण गरेको यो तालिममा शुक्रबार सिकाइन्छ । प्रतिभा पहिचान गर्दै अघि बढ्न शनिबार प्रतिस्पर्धा गराइन्छ । यो पूर्णत: व्यावहारिक सिकाइ भएको मुख्य प्रशिक्षक पारस चौधरी बताउँछन् । उनी आफै पूर्व राष्ट्रिय खेलाडी हुन् । बाल खेलाडीको पढाइमा असर पर्न नदिनलाई सप्ताहान्त वा बिदाको मौकामा प्रशिक्षण दिने गरेको उनी बताउँछन् । भन्छन्, ‘विद्यालय लागेको दिन त होमवर्क गर्दै ठीक हुन्छ ।’

मुख्य प्रशिक्षक चौधरी बालकहरूमा फुटबलप्रति लगाव देखेर निकै खुसी लागेको बताउँछन् । बेलुकी चार बजे प्रशिक्षण सुरु हुने भए पनि ३ बज्दै बाआमासहित बालकहरू रंगशालामा भेला भइसक्ने गरेको उनी सुनाउँछन् । ‘जानकारी नभएर ढिलो आए पनि खेलप्रतिको ज्ञान र लगाव हेरेर छुटेकालाई भर्ना गरेका छौं,’ उनी भन्छन् । परिषद्ले मुख्य फुटबल प्रशिक्षक र रेफ्रीको निगरानीमा काठमाडौंबाहेक विराटनगरमा पनि इच्छुक बालकलाई उमेर तथा उचाइअनुरूप समूहमा विभाजन गरी तालिम दिइरहेको छ । बढी उमेरकाको हकमा सिनियर ‘ए’ र ‘बी’ तथा कम उमेरका लागि पनि जुनियर ‘ए’ र ‘बी’ मा विभाजन गरी खेलाइन्छ । जुनियरलाई उमेरअनुरूप र सिनियरलाई हाइटअनुरूपसमेत दुई टिममा राखिन्छ ।उनीहरूलाई राष्ट्रिय प्रशिक्षकहरू अरुण लामा, दिनेश बस्नेत एवं मदन काफ्लेले फुटबल कलामा निपुण बनाइरहेका छन् । सुरुवाती चार महिने तालिममा सहभागी गराउन अभिभावकले बालकको दुई पासपोर्ट आकारको तस्बिरसहित सय रुपैयाँ फारमको र मासिक ५ सय रुपैयाँको दरले शुल्क बुझाउनुपर्ने चौधरी बताउँछन् ।

Yamaha

प्रकाशित : भाद्र ३, २०७५ ०८:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बादलु

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — अचानक बादलुलेपानी पारिदिन्छधर्तीभरि अमृतकोथोपा झारिदिन्छ ।

बाक्लो बादल आकाशमा
भए पानी पर्छ
कहिलेकाहीँ पानीसँगै
असिना नि झर्छ ।

मिलिक्क बिजुली चम्केपछि
गडयाङगुडुङ गर्छ
असार, साउन, भदौ महिना
बढी पानी पर्छ ।

धेरै पानी परेपछि
माटो हुन्छ गिलो
जताततै बाटाहरू
हुने गर्छन् हिलैहिलो ।

-रन्धीर साह, कक्षा–७
काञ्जीरोवा नेसनल मावि, काठमाडौं

प्रकाशित : श्रावण २७, २०७५ ११:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT