कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रहौं सजग

अतुल मिश्र

काठमाडौँ — वर्षाका बेला चारैतिर प्राकृतिक सुन्दरता र हरियाली छाउँछ । साथै यो मौमसमा हावा र पानीले थुप्रै संक्रामक रोगलाई समेत निम्त्याउँछ । वर्षा याममा विभिन्न ब्याक्टेरिया पैदा हुन सहज हुन्छ । यो मौसममा बालबालिकालाई कीटजन्य र पेटसम्बन्धी रोग सबैभन्दा बढी देखिन्छ । लामखुट्टे, मुसा, झिँगा, टिक्स आदिको प्रकोप वर्षा याममै बढी हुन्छ । त्यसैले यो मौसममा हामीले उचित सावधानी अपनाउनुपर्छ ।

रहौं सजग

जण्डिस : दूषित खाना, दूषित पानी वा यो रोगले ग्रस्त व्यक्तिसितको सम्पर्कले जन्डिस हुन्छ । यो रोगमा थकाइ, भोक नलाग्ने, वाकवाकी हुने, हल्का ज्वरो आउने, पहलो पिसाब हुने र शरीर चिलाउने जस्ता लक्षण देखिन सक्छन् । यसबाट बच्न खाना र पानीको स्वच्छतामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

टाइफाइड : यो ब्याक्टेरियाबाट हुने रोग हो । यो पनि वर्षा याममा बढी मात्रामा फैलिने गर्छ । संक्रमित पानी र आहारले गर्दा यो रोग सर्छ । टाइफाइड भए तीव्र ज्वरो आउँछ । ज्वरो धेरै दिनसम्म रहिरहन सक्छ । यो ज्वरो कम वा बढी भए पनि सामान्य हुँदैन । यो धेरै संक्रामक हुन्छ ।

रुघाखोकी : वर्षाका बेला रुघाखोकी सबैभन्दा बढी देखिने समस्या हो । ज्वरो आउने, घाँटीमा खसखस हुने, खोकी र हाच्छिउँ लाग्ने यसका सामान्य लक्षण हुन् । यसबाट बच्न रोग प्रभावितको सम्पर्कबाट टाढै रहनुपर्छ । यो नै रुघाखोकीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो । बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने र हात नधोउन्जेल नाक, आँखा आदि नकोट्टयाउने बानी बसाल्नुपर्छ ।

औलो र डेंगु : यी दुवै रोग लामखुट्टेको टोकाइले गर्दा हुन्छ । लामखुट्टेको टोकाइबाट बाँच्न झुलमा सुत्ने गर्नुपर्छ । डेंगु दिउँसो टोक्ने लामखुट्टेबाट सर्ने गर्छ । त्यसैले घरमा वा बाहिर चौरमा खेल्दा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

लेप्टोस्पोरोसिस : यो पनि वर्षा याममै ज्यादा देखा पर्ने रोग हो । यो ब्याक्टेरियावाट फैलिन्छ । मुसालगायत जीवजन्तुका पिसाब पानीमा मिसिए यो रोग सर्न सक्छ । यो रोगले मृगौलासँगै शरीरको अन्य अंगलाई समेत नोक्सान पुर्‍याउँछ । समयमै उपचार नभए घातक हुन सक्छ ।

हैजा र झाडा–पखाला : हैजा वा झाडा–पखाला दूषित खाना र पानीले गर्दा हुन्छ । यो वर्षायाममा फैलिने गर्छ । पेट दुख्ने, पखाला लाग्ने, वान्ता हुने आदि यसका लक्षण हुन् । धेरै पखाला चलेपछि शरीरमा भएको पानीको मात्रा कम हुन्छ । त्यस्तो बेला जीवनजल वा अन्य पर्याप्त झोलिलो पदार्थ खानुपर्छ ।


कसरी बच्ने ?
१ उमालेर चिसो पारेको वा शुद्घीकरण गरेको पानी मात्र पिऔं
२ खाना खानुअघि सधैं साबुनपानीले हात धुने बानी बसालौं
३ पानीमा भिजेपछि तुरुन्तै कपडा फेर्ने र शरीर सुक्खा राखौं
४ लामखुट्टे, उपियाँ, उडुस, सुलसुले आदिको टोकाइबाट बचौं
५ बासी, झिँगा भन्केको, नछोपिएको खाना नखाऔं
६ सडक छेउमा बनाइएका चटपटे लगायतका खानेकुरा नखाऔं

प्रकाशित : भाद्र ३, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?