१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नाच्दै, रम्दै

राजाराम पौडेल

काठमाडौँ — पोखरामा १२ औ संस्करणको लिटिल कास्की च्याम्पियन २०७५ आयोजना गरिएको छ । प्रतियोगितामा कास्की लेखनाथ गगनगौडाकी प्रीति पुन च्याम्पियन बन्न सफल भइन् । ज्ञानज्योति स्कुलमा अध्ययनरत १२ वर्षीय प्रीतिले अन्य २० प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जित्न सफल भएकी हुन् । उपाधि जितेपछि प्रीतिले सफल डान्सर बन्ने आफ्नो सपना रहेको बताइन् ।

नाच्दै, रम्दै

‘सानैदेखि नृत्यमा रुचि राख्ने र अभ्यास गर्ने गर्थें,’ उनले भनिन्, ‘त्यसैले उपाधि जित्न सकेको हुँ ।’ उनलाई कल्चरल र हिपहप डान्स मन पर्छ । अडिसनमार्फत छानिएपछि फाइनलसम्म आइपुग्दा विभिन्न तालिमले पनि आफ्नो क्षमतामा निखार आएको उनले बताइन् । उपाधिसहित प्रीतिले नगद ३० हजार र ट्रफी हात पारेकी छन् ।

नवसाधना कला केन्द्रको प्रस्तुतिका रूपमा आयोजित नृत्य प्रतियोगिताको अडिसनमा झन्डै ५ सय बालबालिका सहभागी थिए । विभिन्न ४ चरणबाट छानिएका प्रतिस्पर्धी फाइनलमा पुगेका थिए । कास्की जिल्लास्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा ७ वर्षदेखि १२ वर्ष उमेर समूहका प्रतियोगीले सहभागिता जनाएका थिए । पोखरा र लेखनाथका विभिन्न ठाउँमा अडिसन गरी प्रतियोगी छनोट गरिएको आयोजकले जनाए ।

पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित ग्रान्ड फिनालेमा आकृति गुरुङ दोस्रो र श्रेया गुरुङ तेस्रो भए भने सुर्वण रोकाले सान्त्वना पुरस्कार प्राप्त गरे । आकृतिले २० हजार, श्रेयाले १० हजार र सुवर्णले ५ हजारसहित ट्रफी पुरस्कार पाए । प्रतियोगितामा उत्कृष्ट भेषभूषातर्फ सुयन्सी गुरुङ र अनुसाशनतर्फ तृप्ति गुरुङ अब्बल ठहरिए । ग्रान्ड फिनालेमा कुल २१ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए ।

फाइनलमा प्रतिस्पर्धा गर्ने प्रतियोगीमा सीमा गुरुङ, सुक्मित गुरुङ, श्रेया गुरुङ, ग्रीष्मा गुरुङ, अलिसा गोदार, सुर्वण रोका, सुयन्सी गुरुङ, प्रीति पुन, रोशनी सुनार, आसिका गौतम, तृप्ति गुरुङ, सुप्रिया खत्री, सुस्मिता छत्याल, आकृति गुरुङ, सक्षम गुरुङ, प्रिया गुरुङ, सदीक्षा सुनार, युनिसा गुरुङ, शुभेक्षा खड्का, कृष्टिना गुरुङ, प्रजिता मुडवरी थिए ।

नवसाधना कला केन्द्रले नै आयोजना गरेको कास्की च्याम्पियन २०७५ को उपाधि लेखनाथ पट्नेरीकी नेहा सिं सुनुवारले जितिन् । १३ वर्षभन्दा माथिको उमेरसमूहको सहभागिता रहेको यो प्रतिस्पर्धामा अन्य १० प्रतियोगीलाई पराजित गर्दै उनले उपाधि जितेकी हुन् । उपाधिसहित उनले नगद ४० हजार ट्रफी हात पारिन् । अडिसनमा सहभागी झन्डै ३ सय प्रतियोगीबाट विभिन्न चरण हँुदै ११ जना उपाधिका लागि फाइनलमा भिडेका हुन् । प्रतियोगितामा होममाया मगर दोस्रो, प्रेरणा गुरुङ तेस्रो र सीता लामा सान्त्वना भए । होममायाले नगद ३० हजार, प्रेरणाले २० हजार र सीताले १० हजार नगदसहित ट्रफी प्राप्त गरे । आयोजकले पोखराको मानव सेवा आश्रम समितिलाई २५ हजार रुपैयाँ नगद सहयोग गरे । उपाधि विजेतालाई जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश संयोजक मनकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : भाद्र ३, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?