१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कलाकार बन्ने रहर

राजाराम पौडेल

काठमाडौँ — पोखरा गैह्रापाटनमा रहेको पोखरा थिएटर । कम्पाउन्डबाहिर २८ बालबालिका गोलाकार घेरा बनाई खुल्ला आकाशमुनि कुर्सीमा बसे । ६ देखि १५ वर्षसम्मका बालबालिका एक–अर्कामाझ आफ्ना केही अनुभव बाँड्दै थिए । आफूलाई के गर्न मन पर्छ, जीवनमा केकस्ता आरोह–अवरोह आए भन्ने चर्चा पनि हुँदै थियो ।

कलाकार बन्ने रहर

नयाँ साथीसँग घुलमिल हुने बहानाका लागि उनीहरू पालैपालो भन्दै गए । साथीले आफ्ना कुरा भन्दै गर्दा अरू सबै जना चासोपूर्वक सुन्थे । केही आफ्नो प्रतिभा साथीहरूमाझ प्रस्तुत गर्थे । यसरी घुलमिल हुँदै साथीका बारेमा जान्न, प्रतिभा सुन्न र हेर्नसमेत पाउँदा उनीहरू उत्साही थिए ।

उनीहरूलाई यसरी एकै ठाउँमा भेला हुने वातावरण अभिनय कला सिक्दै कलाकार बन्ने रहरले गर्दा भएको थियो । अभिनय सिक्ने र भविष्यमा नाटक तथा चलचित्रमा अभिनय गर्ने मात्र नभएर आफ्नो व्यक्तित्व विकास गर्ने लक्ष्य भएको उनीहरूले साथीमाझ सेयर गरे । उनीहरूमध्ये केहीले स्कुलमा आयोजित कार्यक्रममा प्रस्तुति राखिसकेका, कोही म्युजिक भिडियोमा त कोही नाटकमा अभिनय गरेका थिए । कति त अरूको अभिनय हेरेर आफूलाई कलाकार बन्ने रहर जागेको समेत बताइरहेका थिए ।

एउटा नाटकमा अभिनय गरिसकेकी सिम्रन पौडेल ७ कक्षामा पढ्छिन् । उनी १२ वर्षकी भइन् । उनलाई कलाकार बन्ने रहर छ । नाटक तथा चलचित्रको । कक्षा ७ मा अध्ययनरत भूमिका श्रेष्ठ १३ वर्षकी भइन् । उनलाई गीत गाउन, नाच्न र अभिनय गर्न मन पर्छ । आफूमा निखार थप्दै भर्सस्टाइल कलाकार बन्ने उनको सपना छ । १२ वर्षकी सिम्रन केसीलाई पनि अभिनय गर्न मन पर्छ । कलाकार बन्ने रहरकै कारण लामाचौरबाट हरेक शनिबार पोखरा थिएटर आएर अभिनय सिक्ने हुटहुटी चढ्यो ।

१४ वर्षकी सरु आचार्यको लक्ष्य नर्स बन्ने हो । तर उनलाई अभिनयप्रतिको मोह पनि त्यस्तै छ । पस्र्याङका सौरभ सापकोटालाई चाहिँ पछिसम्मै कलाकार बन्न मन छ । ८ वर्षका उनी अहिले ४ कक्षामा पढ्छन् । यहाँ भेटिएका सबै बालबालिकाले पढाइबाटै फुर्सदको समय खेर जान नदिई अभिनय सिकिरहेका छन् । केहीले फुर्सदका बेला नाटक हेर्ने गएको र त्यसबाटै आफूलाई अभिनयको रहर जागेको बताए ।

कार्यशालामा जयन्ती गुरुङ, सुमित पौडेल, शिरीष साकपोटा, महिमा दर्नाल, सौरभ तिम्सिना, संगम लामिछाने, अरुण पुन, अभोन केसी, मिलन श्रेष्ठ, सिर्जना थापामगर सहभागी थिए । अप्सरा सेन्चुरी, सिञ्जल भट्टराई, सरु आचार्य, अनिस थापा, मनीषा थापा, सजिन रेग्मी, सौरभ सापकोटा, प्रवीना पराजुली, प्रेक्षा पराजुली, सिम्रन पौडेल पनि त्यसरी नै भाग लिइरहेका छन् । दीक्षा तुलाचन, भूमिका श्रेष्ठ, स्मृति केसी, सिम्रन केसी, दीक्षा कार्की, अनिसा कार्की आरुषी विक, स्वेच्छा विक सहभागी हुन् । उनीहरूलाई नाट्य कलाकार बबिता मल्ल ठकुरी र अञ्जु दाहाल सहजीकरण गर्दै थिए ।

कार्यशालामा सहभागी हुनुभन्दा पहिले बिदाको दिन कोही मामाघरमा जान्थे त कोही गाउँघर । कोही साथीसँग खेल्थे अनि कोही अभिभावकसँग घुम्थे । तर अब कलाकार बन्ने रहर जागेसँगै उनीहरू ती सबै कुरालाई बिर्सदै अभिनय सिक्नमा केन्द्रित भएका छन् ।

६ महिने अभिनय कक्षामार्फत बालबालिकालाई अभिनयका विभिन्न आयामबारे जानकारी गराइने पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए । पछिल्लो क्रममा पोखरामा नाट्य संस्कृतिको विकास हुँदै गएकोले अभिभावकको मागअनुसार बालबालिकाका लागि समेत अभिनय कार्यशाला सञ्चालन गरिएको थिएटर सञ्चालक तथा नाट्यकर्मी दिलप्रसाद गुरुङले बताए । यस्ता कार्यक्रमले बालबालिकामा थिएटर आउने बानीको विकास हुने उनले जनाए । ‘बालबालिकालाई सानैदेखि अभिनय कला सिकाउन सके नाट्य तथा कलाकारिता क्षेत्रमा नवप्रतिभाको आगमन हुन्छ,’ उनले भने । कार्यशाला हरेक शनिबार बिहान १० बजेदेखि हँुदै आएको छ ।

प्रकाशित : भाद्र १०, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?