कसरी बढाउने पढाइमा रुचि ?

कान्तिपुर संवाददाता

काठमाडौँ — अचेल धेरै साथीको गुनासो हुन्छ– किन हो मलाई त पढ्नै मन लाग्दैन  ? म त परीक्षा आएपछि मात्रै पढ्ने हो । अब त पढ्छु भन्यो, दिमागमा बसे पो ! धेरैको मनमा यस्तै कुराहरू खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरूले यसो हुनुका केही कारण पत्ता लगाएका छन् । ती कारण बुझेर अघि बढ्न सके पढाई झर्कोलाग्दो हुँदैन । परीक्षामा हाउगुजी बन्दैन । पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन्–

१. केन्द्रित हुने : हामी जुन विषय पढिरहेका हुुन्छाँै, त्यसमै केन्द्रित हुनुपर्छ । गणितका समस्या समाधान गरिरहेका बेला मनमा अंग्रेजीको कुरा खेलाउनुहुन्न । नेपालीको समयमा गणित या विज्ञानको चिन्ता लिनुभएन । एक पटक या एकै समयमा धेरै विषयलाई मनमा स्थान दिनुहुन्न । जे पढिरहेको हो त्यसैमा मात्र केन्द्रित हुनु पर्छ ।

२. पकड राख्ने : कुनै विषयमा पकड कमजोर छ भने त्यो विषयमा अझ धेरै ध्यान दिनुपर्छ । हामी त्यो विषय पढ्न बढी रुचाउँछौँ जुन राम्ररी आउँछ । पकड भएको विषय राम्ररी बुझ्न सक्छौँ । त्यसमा अंक पनि राम्रै आएको हुन्छ । आफूले रुचाएको विषय पढ्दा समय बितेको पत्तै हुन्न । त्यसैले कमजोर विषयमा आफ्नो पकड बढाउने प्रयास गर्नुपर्छ ।

३. रुचि बढाउने : कुनै विषयमा रुचि छैन भने त्यसमा रुचि जगाउनुपर्छ । रुचि नभएको विषयमा रुचि बढाउन ४–५ दिन नियमपूर्वक लगातार अभ्यास गर्नुपर्छ । सुरु–सुरुमा यसो गर्दा दिक्क लाग्न सक्छ । तर त्यो अवधिभरिमा थोरै मात्र रुचि बढ्यो भने त्यो पहिले नरुचाएको विषय पनि रुचिकर लाग्न सक्छ ।

४. सीमित किताब : पढ्ने टेबल, खाट या भुइँमा सबै विषयको पुस्तक छरपष्ट राख्नु हुँदैन । जुन विषय पढ्ने हो त्यो मात्रै राख्नुपर्छ । बाँकी र्‍याक या झोलामै रहन दिनुपर्छ । सबै विषयका धेरै किताब छेउमै छ भने यो पढौं कि त्यो भन्ने लाग्न सक्छ । गृहकार्य गर्दा पनि सम्बन्धित विषयलाई मात्रै आफ्नो टेबलमा राख्नुपर्छ । एउटा सकिनेबित्तिकै अर्को निकाल्नुपर्छ । पढ्ने कोठा अस्तव्यस्त बनाउनुहुन्न ।

५. निश्चित समय : पढ्ने निश्चित समय हुनुपर्छ । जुनसुकै किताब जुनसुकै झोला या र्‍याकबाट निकालेर पढ्ने बानी खासै प्रभावकारी होइन । यसले एकाग्र हुन सकिन्न । पढाइको एउटा निश्चित क्रम हुनुपर्छ । बरु यसका लागि एउटा टाइम– टेबल बनाउन सकिन्छ । त्यसैका आधारमा पढे पढाइ नियमित हुन सक्छ ।

६. लक्ष्य निर्धारण : निश्चित लक्ष्यबिनाको पढाइ पनि बोझिलो हुन सक्छ । लक्ष्य नै निर्धारित छैन भने गन्तव्यमा कसरी पुग्न सकिन्छ ? कुन विषय पढ्ने अनि त्यो पढेर के बन्ने भन्ने निर्धारण गर्न नसक्नाले पनि पढाइमा रुचि नलागेको हुन सक्छ । त्यसैले पढ्नुअघि लक्ष्य विचार गर्नु महत्त्वपूर्ण छ।

७. सञ्चारका प्रविधि : अहिलेको डिजिटल युगमा हरेक समय हामी मोबाइल फोन, ट्याबलेट, ल्यापटप लगायतले घेरिएका हुन्छाँै । यीमध्ये खासगरी मोबाइल फोनले हाम्रो ध्यानलाई अन्यत्र मोडिदिन्छ । फोनमा कुनै कुरा नआए पनि छिटोछिटो हेर्न मन लाग्छ । फेसबुकमा साथीसँग च्याट गर्न मन लाग्छ । मोबाइल गेम खेल्न मन हुन्छ । यी सबैले पढाइलाई चौपट पार्छन् । त्यसैले पढ्ने बेला यी उपकरणबाट टाढै बस्नुपर्छ । सम्भव भए फोन अफ गरिदिनुपर्छ ।

८. साथीसंगत : साथीको सही कुरालाई समर्थन गर्नुपर्छ । गलतलाई ‘नाइँ’ भन्न सक्नुपर्छ । पढाइमा रुचि राख्नेलाई साथी बनाउनुपर्छ । गलत गतिविधिमा लागेकासँग टाढै बस्नुपर्छ । यदि यसो नगरिए दौतरीको दबाबमा गलत क्रियाकलापमा पनि लाग्न सकिन्छ । अनि स्वत: पढाइको स्तर खस्किन्छ ।

९. प्रेरणा : प्रेरणाले हामीलाई सफलताका लागि नयाँ ऊर्जा प्रदान गर्छ । हाम्रा वरपर संघर्ष गरेर सफल भएका मानिस प्रशस्तै भेटिन्छन् । तिनीहरूबारे थाहा पाउँदा हामीलाई प्रेरणा प्राप्त हुन सक्छ । आफ्नै अभिभावकका संघर्षका कुरालाई पनि शिक्षाका रूपमा लिन सकिन्छ । सफल व्यक्तिका जीवनी पढ्नुपर्छ ।

१०. खास रुचि : जुन विषयमा आफ्नो ज्यादा रुचि छ, हामी त्यसैतर्फ बढी अग्रसर हुनुपर्छ । सिर्जनात्मक क्षेत्रमा रुचि छ भने त्यसलाई पढाइसँग जोडेर अघि बढ्नुपर्छ । आफ्नो रचनात्मकतालाई पढाइको विषयमा पनि लागू गर्न सकिन्छ । कलामा रुचि छ भने चित्र बनाएर पढ्न सकिन्छ । नृत्यमा रुचि छ भने नाच्दै कठिन पाठ सम्झन सकिन्छ । पढाइसँगै अन्य रुचिकर विषयलाई पनि अगाडि बढाउन सकिए झनै राम्रो हुन्छ ।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ १२:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कलाकार बन्ने रहर

राजाराम पौडेल

काठमाडौँ — पोखरा गैह्रापाटनमा रहेको पोखरा थिएटर । कम्पाउन्डबाहिर २८ बालबालिका गोलाकार घेरा बनाई खुल्ला आकाशमुनि कुर्सीमा बसे । ६ देखि १५ वर्षसम्मका बालबालिका एक–अर्कामाझ आफ्ना केही अनुभव बाँड्दै थिए । आफूलाई के गर्न मन पर्छ, जीवनमा केकस्ता आरोह–अवरोह आए भन्ने चर्चा पनि हुँदै थियो ।

नयाँ साथीसँग घुलमिल हुने बहानाका लागि उनीहरू पालैपालो भन्दै गए । साथीले आफ्ना कुरा भन्दै गर्दा अरू सबै जना चासोपूर्वक सुन्थे । केही आफ्नो प्रतिभा साथीहरूमाझ प्रस्तुत गर्थे । यसरी घुलमिल हुँदै साथीका बारेमा जान्न, प्रतिभा सुन्न र हेर्नसमेत पाउँदा उनीहरू उत्साही थिए ।

उनीहरूलाई यसरी एकै ठाउँमा भेला हुने वातावरण अभिनय कला सिक्दै कलाकार बन्ने रहरले गर्दा भएको थियो । अभिनय सिक्ने र भविष्यमा नाटक तथा चलचित्रमा अभिनय गर्ने मात्र नभएर आफ्नो व्यक्तित्व विकास गर्ने लक्ष्य भएको उनीहरूले साथीमाझ सेयर गरे । उनीहरूमध्ये केहीले स्कुलमा आयोजित कार्यक्रममा प्रस्तुति राखिसकेका, कोही म्युजिक भिडियोमा त कोही नाटकमा अभिनय गरेका थिए । कति त अरूको अभिनय हेरेर आफूलाई कलाकार बन्ने रहर जागेको समेत बताइरहेका थिए ।

एउटा नाटकमा अभिनय गरिसकेकी सिम्रन पौडेल ७ कक्षामा पढ्छिन् । उनी १२ वर्षकी भइन् । उनलाई कलाकार बन्ने रहर छ । नाटक तथा चलचित्रको । कक्षा ७ मा अध्ययनरत भूमिका श्रेष्ठ १३ वर्षकी भइन् । उनलाई गीत गाउन, नाच्न र अभिनय गर्न मन पर्छ । आफूमा निखार थप्दै भर्सस्टाइल कलाकार बन्ने उनको सपना छ । १२ वर्षकी सिम्रन केसीलाई पनि अभिनय गर्न मन पर्छ । कलाकार बन्ने रहरकै कारण लामाचौरबाट हरेक शनिबार पोखरा थिएटर आएर अभिनय सिक्ने हुटहुटी चढ्यो ।

१४ वर्षकी सरु आचार्यको लक्ष्य नर्स बन्ने हो । तर उनलाई अभिनयप्रतिको मोह पनि त्यस्तै छ । पस्र्याङका सौरभ सापकोटालाई चाहिँ पछिसम्मै कलाकार बन्न मन छ । ८ वर्षका उनी अहिले ४ कक्षामा पढ्छन् । यहाँ भेटिएका सबै बालबालिकाले पढाइबाटै फुर्सदको समय खेर जान नदिई अभिनय सिकिरहेका छन् । केहीले फुर्सदका बेला नाटक हेर्ने गएको र त्यसबाटै आफूलाई अभिनयको रहर जागेको बताए ।

कार्यशालामा जयन्ती गुरुङ, सुमित पौडेल, शिरीष साकपोटा, महिमा दर्नाल, सौरभ तिम्सिना, संगम लामिछाने, अरुण पुन, अभोन केसी, मिलन श्रेष्ठ, सिर्जना थापामगर सहभागी थिए । अप्सरा सेन्चुरी, सिञ्जल भट्टराई, सरु आचार्य, अनिस थापा, मनीषा थापा, सजिन रेग्मी, सौरभ सापकोटा, प्रवीना पराजुली, प्रेक्षा पराजुली, सिम्रन पौडेल पनि त्यसरी नै भाग लिइरहेका छन् । दीक्षा तुलाचन, भूमिका श्रेष्ठ, स्मृति केसी, सिम्रन केसी, दीक्षा कार्की, अनिसा कार्की आरुषी विक, स्वेच्छा विक सहभागी हुन् । उनीहरूलाई नाट्य कलाकार बबिता मल्ल ठकुरी र अञ्जु दाहाल सहजीकरण गर्दै थिए ।

कार्यशालामा सहभागी हुनुभन्दा पहिले बिदाको दिन कोही मामाघरमा जान्थे त कोही गाउँघर । कोही साथीसँग खेल्थे अनि कोही अभिभावकसँग घुम्थे । तर अब कलाकार बन्ने रहर जागेसँगै उनीहरू ती सबै कुरालाई बिर्सदै अभिनय सिक्नमा केन्द्रित भएका छन् ।

६ महिने अभिनय कक्षामार्फत बालबालिकालाई अभिनयका विभिन्न आयामबारे जानकारी गराइने पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए । पछिल्लो क्रममा पोखरामा नाट्य संस्कृतिको विकास हुँदै गएकोले अभिभावकको मागअनुसार बालबालिकाका लागि समेत अभिनय कार्यशाला सञ्चालन गरिएको थिएटर सञ्चालक तथा नाट्यकर्मी दिलप्रसाद गुरुङले बताए । यस्ता कार्यक्रमले बालबालिकामा थिएटर आउने बानीको विकास हुने उनले जनाए । ‘बालबालिकालाई सानैदेखि अभिनय कला सिकाउन सके नाट्य तथा कलाकारिता क्षेत्रमा नवप्रतिभाको आगमन हुन्छ,’ उनले भने । कार्यशाला हरेक शनिबार बिहान १० बजेदेखि हँुदै आएको छ ।

प्रकाशित : भाद्र १०, २०७५ १२:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT