कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आँखा

जितेन्द्र साह

काठमाडौँ — तीन वर्ष, तीन जाँच, आउन नदिऔं,बच्चाको आँखामा कुनै आँच नानीबाबुको आँखामा रोग लाग्न नदिन मोरङ र सुनसरीमा दुई वर्षदेखि सञ्चालित अभियानको नारा हो यो । सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालले स्वास्थ्य चौकी, जिल्ला समन्वय समिति, जनस्वास्थ्य कार्यालय, आफ्नै केन्द्रहरू र भीडभाड हुने थलोमा यो जनचेतनामूलक सामग्री टाँसेको छ ।

आँखा

जन्मेपछि, हिँड्न थालेपछि र विद्यालय जानुअघि बालबालिकाको आँखा अनिवार्य जचाउनुपर्ने सन्देश गाउँगाउँ पुर्‍याइँदै छ । ‘जन्मैदेखि नै दुवै आँखाको सुरक्षा आवश्यक छ,’ अस्पतालका प्रबन्धक कुमार पृथु भन्छन्, ‘जानकारीको अभाव र लापरबाहीले बालबालिकाको आँखामा जटिल प्रकृतिका समस्या देखिन सक्छन् ।’ यस्तो अवस्था आउन नदिन अभियान नै चलाउनुपरेको उनले बताए ।

बालबालिका अस्पतालमा आउन प्रेरित हुन् भनेर जाँच कक्षबाहिर थरीथरीका खेलौना राखिएका छन् । अस्पताल परिसरमा पिङ, चिप्लेटीसहितको बाल बगैंचा छ । बालबालिकाको रुचिअनुरूप अस्पतालभित्रै गुणस्तरीय र स्टायलिस चस्मा उपलब्ध छन् । तर चस्माले पनि काम गर्ने अवस्था पार गरेमा बालबालिकामा ‘अल्छी आँखा’ (एम्प्लोपिया) रोग लाग्ने चिकित्सक बताउँछन् । यो रोगमा आँखा कम चल्ने, कम देखिने र डेढो हुन्छ । यो चरणमा आइपुगेपछि चस्मा लगाउँदा पनि राम्ररी देखिन्न । ८ वर्षदेखि १५ वर्षभित्रको उमेरसम्म उपचार गरिएन भने एउटा आँखाले पूरै देख्न छाड्छ । वंशाणुगत, पोषणमा कमी, जन्मिँदा कम तौलको हुनु र चोटपटक लागेमा यस्तो समस्या आउँछ ।

एउटाको उपचार भएन भने अर्को आँखा पनि पूरै बिग्रन्छ । अध्ययनअनुसार १५ प्रतिशत बिरामीमा दुवै आँखा बिग्रेको पाइएको छ । आँखालाई जोगाइराख्न पटाका नपड्काउने, धारिलो/तिखो वस्तुले नखेल्नेजस्ता सावधानी अपनाउनुपर्छ । विशेषज्ञहरूका अनुसार निकै नै ढिलो भए डेढो भइसकेको आँखालाई पनि बाहिरबाट सामान्य देखिने गरी सिधा पार्न त सकिन्छ तर ज्योति नफर्कन पनि सक्छ ।

जन्मेपछि आँखामा चोटपटक लागेमा, शिशु गर्भमा हुँदा आमाले पोषण नपाउँदा, आमालाई संक्रमण हुँदा र वंशाणुगत कारणले बालबालिकामा पनि मोतीबिन्दु हुने गरेको चिकित्सक बताउँछन् । मोबाइल गेमको प्रभावले पनि पछिल्लो समय कलिला बालबालिकाको आँखा कमजोर हुने समस्या बढ्दो छ । अस्पतालका कार्यक्रम निर्देशक एवं कोर्नियाविज्ञ डा. सञ्जय सिंह भन्छन्, ‘अहिले बालबालिका आउटडोरभन्दा कोठाभित्रै कम्प्युटर, टयाबलेट, ल्यापटप र मोबाइलमा खेलिने इन्डोर गेममा बढी रमाउँछन् । यसबाट पनि आँखाको दृष्टि कमजोर हुन्छ ।


आँखालाई स्वस्थ राख्ने उपाय :
-दिनहुँ हरियो तरकारी, साग र फलफूल खाने ।
-आँखा रातो/संक्रमित भएकाको नजिक नजाने, सम्पर्कमा नरहने
-घाम र धुलोमा निस्कँदा कालो चस्मा लगाउने ।
-खेल्दा धारिलो/तिखो वस्तुबाट टाढै रहने ।
-धुलो कसिंगर पर्दा नमाड्ने, सफा पानीले धुने
-धेरै नजिकबाट टीभी नहेर्ने । हरेक २० मिनेटमा २० सेकेन्डका लागि आँखालाई आराम दिने
-मोबाइल/टयाबलेट/कम्प्युटर लगातार २०/३० मिनेटभन्दा बढी नचलाउने
-चिकित्सकको सल्लाहअनुसार आँखाको नियमित व्यायाम गर्ने

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?