आँखा

जितेन्द्र साह

काठमाडौँ — तीन वर्ष, तीन जाँच, आउन नदिऔं,बच्चाको आँखामा कुनै आँच नानीबाबुको आँखामा रोग लाग्न नदिन मोरङ र सुनसरीमा दुई वर्षदेखि सञ्चालित अभियानको नारा हो यो । सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालले स्वास्थ्य चौकी, जिल्ला समन्वय समिति, जनस्वास्थ्य कार्यालय, आफ्नै केन्द्रहरू र भीडभाड हुने थलोमा यो जनचेतनामूलक सामग्री टाँसेको छ ।

जन्मेपछि, हिँड्न थालेपछि र विद्यालय जानुअघि बालबालिकाको आँखा अनिवार्य जचाउनुपर्ने सन्देश गाउँगाउँ पुर्‍याइँदै छ । ‘जन्मैदेखि नै दुवै आँखाको सुरक्षा आवश्यक छ,’ अस्पतालका प्रबन्धक कुमार पृथु भन्छन्, ‘जानकारीको अभाव र लापरबाहीले बालबालिकाको आँखामा जटिल प्रकृतिका समस्या देखिन सक्छन् ।’ यस्तो अवस्था आउन नदिन अभियान नै चलाउनुपरेको उनले बताए ।

बालबालिका अस्पतालमा आउन प्रेरित हुन् भनेर जाँच कक्षबाहिर थरीथरीका खेलौना राखिएका छन् । अस्पताल परिसरमा पिङ, चिप्लेटीसहितको बाल बगैंचा छ । बालबालिकाको रुचिअनुरूप अस्पतालभित्रै गुणस्तरीय र स्टायलिस चस्मा उपलब्ध छन् । तर चस्माले पनि काम गर्ने अवस्था पार गरेमा बालबालिकामा ‘अल्छी आँखा’ (एम्प्लोपिया) रोग लाग्ने चिकित्सक बताउँछन् । यो रोगमा आँखा कम चल्ने, कम देखिने र डेढो हुन्छ । यो चरणमा आइपुगेपछि चस्मा लगाउँदा पनि राम्ररी देखिन्न । ८ वर्षदेखि १५ वर्षभित्रको उमेरसम्म उपचार गरिएन भने एउटा आँखाले पूरै देख्न छाड्छ । वंशाणुगत, पोषणमा कमी, जन्मिँदा कम तौलको हुनु र चोटपटक लागेमा यस्तो समस्या आउँछ ।

एउटाको उपचार भएन भने अर्को आँखा पनि पूरै बिग्रन्छ । अध्ययनअनुसार १५ प्रतिशत बिरामीमा दुवै आँखा बिग्रेको पाइएको छ । आँखालाई जोगाइराख्न पटाका नपड्काउने, धारिलो/तिखो वस्तुले नखेल्नेजस्ता सावधानी अपनाउनुपर्छ । विशेषज्ञहरूका अनुसार निकै नै ढिलो भए डेढो भइसकेको आँखालाई पनि बाहिरबाट सामान्य देखिने गरी सिधा पार्न त सकिन्छ तर ज्योति नफर्कन पनि सक्छ ।

जन्मेपछि आँखामा चोटपटक लागेमा, शिशु गर्भमा हुँदा आमाले पोषण नपाउँदा, आमालाई संक्रमण हुँदा र वंशाणुगत कारणले बालबालिकामा पनि मोतीबिन्दु हुने गरेको चिकित्सक बताउँछन् । मोबाइल गेमको प्रभावले पनि पछिल्लो समय कलिला बालबालिकाको आँखा कमजोर हुने समस्या बढ्दो छ । अस्पतालका कार्यक्रम निर्देशक एवं कोर्नियाविज्ञ डा. सञ्जय सिंह भन्छन्, ‘अहिले बालबालिका आउटडोरभन्दा कोठाभित्रै कम्प्युटर, टयाबलेट, ल्यापटप र मोबाइलमा खेलिने इन्डोर गेममा बढी रमाउँछन् । यसबाट पनि आँखाको दृष्टि कमजोर हुन्छ ।


आँखालाई स्वस्थ राख्ने उपाय :
-दिनहुँ हरियो तरकारी, साग र फलफूल खाने ।
-आँखा रातो/संक्रमित भएकाको नजिक नजाने, सम्पर्कमा नरहने
-घाम र धुलोमा निस्कँदा कालो चस्मा लगाउने ।
-खेल्दा धारिलो/तिखो वस्तुबाट टाढै रहने ।
-धुलो कसिंगर पर्दा नमाड्ने, सफा पानीले धुने
-धेरै नजिकबाट टीभी नहेर्ने । हरेक २० मिनेटमा २० सेकेन्डका लागि आँखालाई आराम दिने
-मोबाइल/टयाबलेट/कम्प्युटर लगातार २०/३० मिनेटभन्दा बढी नचलाउने
-चिकित्सकको सल्लाहअनुसार आँखाको नियमित व्यायाम गर्ने

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बन्दुक बाेकेका हातले बिरुवा बाँड्दै

जितेन्द्र साह

विराटनगर — १९ वर्षे जवानी हुँदा उनले हातमा बन्दुक बोकेका थिए, सात सालको क्रान्तिताका । युग बदलियो, भूमिका पनि फेरियो । विराटनगर तिनटोलियाका ८७ वर्षे तोरेन्द्रमानसिंह प्रधान लामो समयदेखि हरियाली जोगाउने अभियानमा तल्लीन छन् ।

विराटनगरको तिनटोलियास्थित निवास अघिल्तिर फूलबारी स्याहार्दै तोरेन्द्रमानसिंह प्रधान । जितेन्द्र

‘लगाएको जोगाऔं, अझै थपौं’ भन्ने मान्यतासहित उनी हरियाली जोगाउन सबैलाई प्रेरित गरिरहेका छन् । आफ्नै घर करेसामा तयार बीउ, बेर्ना र बोट नि:शुल्क उपलब्ध गराउँछन् ।

व्यक्तिगत प्रयोजनदेखि संघसंस्थासम्मलाई रुद्राक्ष, श्रीखण्ड, अशोक, कपुरसहितका बिरुवा बाँडछन् । ‘जो कोही माग्न आए पनि दिन्छु,’ उनी भन्छन्, ‘अहिलेसम्म लागत र वितरणको हिसाबकिताब राखेको छैन ।’ उनी घर अघिल्तिरकै फूलबारी र नजिकैको निजी पार्कमा लौरोको सहाराले टेक्दै बोटबिरुवा स्याहारिरहेका भेटिन्छन् ।

बिहान ५ बजेबाट बगैंचा डुलाइ र पत्रपत्रिकाको अध्ययनबाट दिनचर्या सुरु गर्ने उनी दिनभरि सामाजिक भेटघाट एवं बोटबिरुवाको हेरचाहमा व्यस्त हुन्छन् । फूलबारी हेरचाहका लागि पाँच सहयोगी पनि छन् । ग्य्राजुएटसम्म पढेकी गृहिणी श्रीमती इन्दिरा प्रधान र शिक्षण पेसामा व्यस्त अंग्रेजीमा स्नातकोत्तर माहिली छोरी सम्झनाले उनको वातावरण संरक्षण अभियानमा हरक्षण साथ दिइरहेका छन् ।

काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि लगाइएको बिरुवाहरू तोरेन्द्रमानले प्रदान गरेका हुन् । ‘गत वर्ष त्यहाँका कर्मचारी दुई दिन बसेर श्रीखण्ड, रुद्राक्ष, रक्तचन्दन र कपुरका दुई टोकरी बिरुवा लिएर गए,’ उनले भने । ७ महिना अगाडि त्यहाँ पुग्दा बोट लहलहाइरहेको देख्दा निकै खुसी लागेको तोरेन्द्रमानले सुनाए ।

जहाँ जाँदा उपहार एवं कोसेलीका रूपमा बिरुवा लिएर उनी पुग्छन् । तोरेन्द्रमानले विराटनगरको परोपकार र सिंघियाघाट, वृद्धाश्रम, आरोहण गुरुकुल, मोरङको उर्लाबारीको राजघाटस्थित लक्ष्मी मावि, बेलबारी क्याम्पस, जहदास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेज र धनकुटाको विश्रान्ति मन्दिरलगायत २७ थलोमा बिरुवा वितरण गरिसकेका छन् । तोरेन्द्रमानले २०१५/१६ सालमा विराटनगरको कोसी अञ्चल अस्पतालमा वृक्षरोपणबाट थालनी गरेका थिए ।

उनैले लगाएको रूखको छहारीमा अहिले बिरामी तथा आगन्तुक सुस्ताइरहेका हुन्छन् । अस्पतालछेउकै क्षयरोग निवारण संस्था र यहाँबाट थोरै टाढाको पूर्वाञ्चल विश्वविद्यालयमा लहलहराइरहेका बोट उनैले उपलब्ध गराएका हुन् ।मुलुकभरि ‘एक सन्तान, एक बिरुवा’ अभियान सुरु गर्ने चाहना राखेका उनको घरमा मासिक औसत ५ जना बोटबिरुवा माग्न आइराख्छन् । श्रीलंकामा छोरी जन्मनासाथ दुई बोट लगाउने र बिहे गर्ने बेलामा त्यही रूखको काठबाट फर्निचर बनाउन लगाएर छोरीलाई सप्रेम उपहार दिने गरिएको उनले जनाए ।

ऐतिहासिक व्यक्तित्व तोरेन्द्रमानको विगतदेखि वर्तमानसम्मका रचनात्मक गतिविधिलाई समेटेर परिवारजनले एक कृतिसमेत प्रकाशन गरिसकेका छन् । उनले सामाजिक कार्यका लागि स्थानीय एवं राष्ट्रियस्तरका ७८ र अमेरिका तथा जापानबाट गरी दुई अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् । उनको बैठक कक्षभरि यत्रतत्र कदरपत्र, सिल्ड, उपहार, पुस्तक र पत्रपत्रिकाका चाङ देखिन्छ । ‘अब यो उमेरमा सम्मान लिँदा अप्ठेरो लाग्न थालेको छ,’ तोरेन्द्रमानले भने ।

तोरेन्द्रमानका पुर्खा पनि वनस्पतिप्रेमी थिए । राणाकालमा जनताले पक्की घर बनाउन पाउँदैनथे । त्यो बेला पूरा विराटनगरमा तोरेन्द्रमानको घरमा मात्र फूलबारी थियो । ‘साढे सात बिघाको घडेरीमा सामान्य घरबाहेक जग्गामा फूल मात्र लगाइएका थिए,’ उनी सम्झन्छन् । उनको हजुरबुबाले कोलकाता र पुणेबाट बीउ एवं फूल मगाएर घरमा मात्र नभएर खेतमा पनि बगैंचा लगाउँथे ।

२००७ सालको क्रान्तिपछि तोरेन्द्रमान सामाजिक सेवामा छन् । उनी विराटनगरमा रेडक्रस, क्षयरोग निवारण संस्था, एलिट क्लब र नेवारी संस्था झिपुच (हाम्रो समूह) को जन्मदातामध्येका हुन् । ३५ वर्षदेखि मुटुका रोगी उनलाई अहिलेसम्म ६ पटक हृदयाघात भइसकेको छ । ‘अझै बाँचिरहेकोमा चिकित्सक पनि चकित छन्,’ उनले भने, ‘म यसको श्रेय प्रकृति प्रेम, सक्रिय जीवन र सकारात्मक सोचलाई दिन्छु ।’ उनको पुख्र्यौली थलो काठमाडौं हो । उनका हजुरबुबा भूपेन्द्रमान सिंह राणाकालमा बजार अड्डाको सुब्बा भएर विराटनगर आएका थिए ।

प्रकाशित : भाद्र १७, २०७५ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT