कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मकैको अर्कै खेती !

काठमाडौँ — हाम्रो स्कुलमा एक वर्ष नेपाली र एक वर्ष अंग्रेजी नाटक मञ्चन गर्ने परम्परा बसाएको छ । त्यसैअनुसार यस वर्ष नेपाली विभागले सञ्जीव उप्रेतीद्वारा रचित नाटक ‘मकैको अर्कै खेती’ को मञ्चन गर्ने निर्णय गर्‍यो । लगत्तै पात्रहरू छानियौं । हरेकको भूमिका तय भयो ।

मकैको अर्कै खेती !

त्यसपछि अभ्यास पनि सुरु भयो । हामी २७ विद्यार्थी कलाकारका रूपमा छानिएका थियौं । मैले प्रमुख पात्र लेखकको भूमिका पाएको थिएँ । त्यसअनुसार मैले लेखकको संसारमा डुबेर लेखकीय पीडालाई महसुस गर्नुपर्ने भयो ।

पश्चिमेली उत्तरआधुनिक शिल्पशैलीको यो नाटकले नेपाली समसामयिक सन्दर्भलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ । सुब्बा कृष्णलाल अधिकारीले विसं. १९७७ मा लेखेको ‘मकैको खेती’ कै आधारभूमिमा रचित यस नाटकमा लेखकलाई मकैको अर्कै खेती पुस्तकले भ्रम फिँजाएको झूटो आरोपमा मुद्दा चलाइन्छ । लेखकको अस्मितामाथि नारीवादी अधिकारकर्मी, तेस्रोलिंगी, प्रकाशक, मानवअधिकारवादी, इतिहासकार, अनुवादक, समालोचक तथा उपेक्षित समुदायका विभिन्न पक्षधरदेखि भट्टीपसलेसम्मले धावा बोल्छन् ।

नाटकमा भेष बदलेको न्यायाधीश नै अनुसन्धान अधिकृत र घाटे ब्राह्मणको रूपमा प्रस्तुत भएर लेखकको दाहसंस्कार गर्ने आदेश दिन्छन् । अनेकन तानाबाना बुनेर उसलाई जिउँदै जलाइन्छ । ‘सिर्जनाको जन्म नै स्रष्टा वा लेखकको मृत्युको कारक’ भन्ने फ्रान्सेली दार्शनिक रोला बार्थको मान्यतामा आधारित नाटकमा लेखकलाई जलाए पनि उसको विचार भने अमर हुने तथ्य प्रस्तुत गरिएको छ ।

समसामयिक समाजको सजीव चित्रण गरिएको यो नाटक मञ्चन गर्नु त्यति सहज थिएन । हामी सबै पात्रले त्यो चुनौती सामना गर्ने दृढ अठोट गर्‍यौं । अधिकांश कलाकारको अभिनय–अनुभव थिएन । त्यसैले हामी सबैले शून्यबाटै अभ्यास सुरु गर्‍यौं । अभ्यासका क्रममा विभिन्न अप्ठेरा आए । पात्रमा घुसेर अभिनय गर्नु सजिलो थिएन । अझ कहिल्यै नपुगेको अदालत र आर्यघाटका काजकिरियाहरूको अभिनय सबैभन्दा गाह्रो थियो । नाटकलाई जीवन्त बनाउन हरेक कलाकारले उत्तिकै श्रम परेको छ । फरकफरक पात्रका रूपमा अभिनय गर्दा हरेकलाई बेग्लै अनुभूति पनि भएको छ ।

व्यक्तिगत रूपमा भन्नुपर्दा, मैले यो नाटकबाट धेरै सिक्ने अवसर पाएँ । अभिनयसँगै नेपाली समाजको कटु यथार्थ नियालेर हेर्न पाएँ । लेखकलाई कसरी दोहोलो काट्छन् भनेर महसुस गर्न पाएँ । सामान्य लेखक कसरी शब्दको खेती गर्नेहरूले बिछयाएको जालमा फस्छन् भन्ने थाहा भयो । नाटकको मागअनुसार शारीरिक र मानसिक रूपमा आफैंलाई परिवर्तन गर्दा आफू पनि त्यस्तै पीडित लेखक भएको आभास भयो ।

मेरा सहकर्मी नाटय–अभिनेता/अभिनेत्री मित्रहरूको सशक्त अभिनयले हामी नाटय संसारमा हराउन थालिसकेका थियौं । सम्झँदा आज पनि आफू अझै त्यही संसारमा छु जस्तो लाग्छ । मकैको अर्कै खेतीले हाम्रो मन मस्तिष्कमा अर्कै छाप छोडेको छ ।

डेढ महिनाको निरन्तर अभ्यासपछि हामी नाटक मञ्चन गर्न तयार भयौं । हल्का डर, मनमा खुलदुली र अपार उत्सुकता लिएर हामी मञ्चमा प्रस्तुत भयौं । हाम्रो आफ्नै स्कुलका अतिरिक्त दर्जनभन्दा बढी विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकमाझ भदौं ५ देखि ८ गतेसम्म लगातार ४ दिन नाटक मञ्चन गरिएको थियो । उक्त अवधिभर पाएको दर्शकको साथ, उत्साह र प्रशंंसाले हाम्रो परिश्रम र मिहिनेत खेर नगएको महसुस भयो । लेखक सञ्जीव उप्रेतीले हाम्रो प्रयासलाई जसरी खुला हृदयले हौस्याउनुभयो, त्यसले हामीमा थप ऊर्जा भरिएको महसुस भयो । आत्मविश्वास यसरी बढयो कि अब हामीलाई जस्तोसुकै नाटक पनि मञ्चन गर्न सक्छौं जस्तो लागेको छ । नाटकको निर्देशन नेपाली विभागका शिक्षकहरू ज्ञानप्रसाद आचार्य, प्रिया पौडेल, प्रेमनारायण भुसाल, बाबुराम लम्साल, गणेश तिमिल्सिना र हरिशरण ढुंगानाले संयुक्त रूपमा गर्नुभएको थियो । नाटक सफलतापूर्व मञ्चन गर्नमा प्राचार्य केशरबहादुर खुलाल र नाटककार उप्रेतीलगायतको साथ र सहयोग पनि उत्तिकै महत्त्वपूर्ण रहयो ।

किसन कुँवर, कक्षा–१२
बूढानीलकण्ठ स्कुल, काठमाडौं

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?