१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सुरी र कुती

कथा
बालिका थपलिया

काठमाडौँ — अवतार अहिले चार वर्षका भए । उनलाई कुकुर, बिरालो, खरायो, चराचुरुंगी एकदम मन पर्छ । उनको घरको बिरालो र कुुकुरले छाउरा पाएको दिन अवतार एकदम खुसी भए ।

सुरी र कुती

उनको ध्यान बढीजसो बिरालो र कुकुरको बच्चामा गयो । छाउरा नांगै भएको देखेर उनले भने ‘आमा † म्याउँम्याउँ र भौँभाँैलाई जाडो भयो, लुगा लगाइदिनु न ।’ त्यसपछि उनी ती छाउराहरूको स्याहारसुसार गर्नमा व्यस्त हुन थाले । आफ्नो भोक, तिर्खा, निद्रा सबै बिर्सिए ।

अवतारको बिरालो र कुकुरप्रेम सुमधुर छ । उनको हजुरबुबाले बाँसबाट बुनेको सानो कोक्रोमा कपडाले बेरेर बिरालोका आमाछोरीलाई बस्ने चाँजोपाँजो मिलाउनुभएको छ । अनि कुकुरलाई पनि तातो कुनामा राख्नुभएको छ । उनी दिउँसो स्कुल गए पनि बिहानबेलुका सानो बिरालो अनि कुकुरको छेउमा बस्छन् र गफ गर्छन् । आमाको छेउमा गएर भन्छन् ‘आमा † यी छाउराहरूलाई भोक लाग्यो खानेकुरा दिऊँ न ।’ छाउरालाई नदिईकन उनी केही पनि खाँदैनन् । आफ्नै लुगा लगाइदिन्छन् ।

स्कुलमा साथीहरूसँग आफ्नो घरमा भएको बिरालो र कुकुरका बारेमा उनले कुरा गरेको सुनेर रिसभ, रामकृष्ण, प्राञ्जल पनि साना छाउराहरू भेटन आउँछन् । उनीहरूले पनि खुसी भएर सुमसुम्याउँछन् । यी बच्चाहरूका लागि यी साना सुरी र कुती छलफलको विषय बनेका छन् ।

राति सुत्दा पनि अवतार बिरालो र कुकुरका छाउरा सम्झिरहन्छन् । उनी भन्छन्– ‘आमा ! सुरी र कुतीलाई हामीसँगै ओछयानमा ल्याएर लुगा ओढाएर सुताऊ न ।’ अवतारलाई छाउराछाउरी स्याहार्न धमाधम छ । घरी उनी कुकुरको छाउरोलाई माया गर्न पुग्छन् भने घरी बिरालोको छाउरोलाई । उनीहरूलाई सकी नसकी पालैपालो बोकेर घर वरिपरि घुम्छन् । आफ्नो साइकलमा राखेर परपरसम्म घुमाउँछन् । रिसभ, रामकृष्ण र प्राञ्जलको घरसम्म पुर्‍याउँछन् । अनि सबै मिलेर ती सुरी र कुती बोक्दै साइकलमा चढाउँछन् ।

तर एक दिन नरमाइलो घटना घटयो । अवतारको बिरालो बाटोमा मरिरहेको भेटियो । अवतार बिरालोलाई त्यो अवस्थामा देखेपछि एकदम दु:खी भए । आमाको सलले आँसु पुछीपुछी रोए । उनले घरपरिवारका सबैलाई रुवाए । साथीहरूलाई पनि सुनाए र सबै जना रोए । पछिसम्म उनले त्यो घटना बिर्सिएनन् । उनी घरी घरी सुरीलाई सम्झिएर रोइरहे । केटाकेटी रोएको हेर्न कसलाई मन लाग्छ र ? हामीलाई उनीहरू खुसी भएको मात्र देख्न मन लाग्छ । ‘एक दिन बिरालो बाँचेर आउनेछ । अर्को जन्म लिनेछ’ भन्दै उनका आमाबुबा अनि हजुरबुबाहजुरामाले उनको र अरू केटाकेटीको मन बुझाउन खोज्नुभयो । अवतार बाँचेको बिरालो आउने दिन पर्खिन थाले ।

अचेल जुन बिरालो देखे पनि अवतार खुसी हुँदै भन्छन्, ‘आमा ! बाँचेको बिरालो आयो । अब कुतीको पनि साथी हुने भयो ।’ उनका साथीहरू पनि त्यसै भन्छन् । फेरि अवतारको खुसीका लागि अभिभावकले बिरालो ल्याएर राखिदिनुभएको छ । स्कुल छुट्टी भएपछि उनी उनका साथीहरूसँग कुकुर र बिरालोका छाउरासँग एकछिन् खेलेर मात्र गृहकार्य गर्न बस्छन् । बेलुका सुत्दा पनि तिनै छाउरा, उठ्दा पनि तिनै छाउरा र साथीसँग स्कुलमा पनि तिनै छाउराको कुरा । अवतारका लागि ती छाउरा सबैभन्दा प्यारा छन् । उनको सम्पूर्ण ध्यान ती कुकुर र बिरालाका छाउरामा गएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?