कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ग्रेट वाल

मनोज पौडेल

काठमाडौँ — बेइजिङ - ग्रेट वाल । नामजस्तै विशाल पर्खाल । यो विश्वकै ७ आश्चर्यमध्येको एक हो । चीनलाई विश्वसामु चिनाउने सबैभन्दा चर्चित पर्यटकीय गन्तव्य पनि हो । ग्रेट वाल हेर्न दिनहुँ हजारौं पर्यटक पुग्छन् । आफ्ना अभिभावकसँगै बालबालिका पनि पुग्छन् । रमाउँछन् । तस्बिर खिचाएर त्यो क्षणलाई अविस्मरणीय बनाउँछन् । ज्ञान हासिल गर्छन् र फर्कन्छन् । ग्रेट वाल हेर्न हरेक वर्ष एक करोडभन्दा बढी पर्यटक पुग्छन् ।

ग्रेट वाल

चीनको राजधानी बेइजिङबाट करिब ५० किलोमिटर उत्तर पश्चिम लागेपछि ग्रेट वाल पुगिन्छ । बिहान ८ बजेदेखि अवलोकनका लागि खुल्ने ग्रेट वाल हेर्न साँझसम्मै उत्तिकै भीड लाग्छ ।ग्रेट वाल ठूलो, अग्लो र फराकिलो छ । चढ्न कहीँ निकै सजिलो छ भने कहीँ ठाडो भीर पर्छ । स–साना बालबालिका र वृद्धवृद्धा फलामे बार समातेर हस्याङफस्याङ गर्दै उक्लन्छन् ।

पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेट वाल लियाउनिङ प्रान्तको यालु नदीको किनारदेखि सुरु भएर पश्चिममा गान्सु प्रान्तको जियाउग्वानमा पुगेर टुंगिएको छ । नेपालको बुद्ध जन्मस्थल लुम्बिनीभन्दा १ दशकअघि ग्रेट वाल विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो । युनेस्कोद्वारा सन् १९८७ मा विश्व सम्पदामा राखिएको यो पर्खाल ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो ।

ग्रेट वाल इशापूर्व पाँचाँै शताब्दीदेखि बनाउन थालिएको हो । यो माटो र ढुंगा प्रयोग गरेर बनाइएको छ । ईशापूर्व ५ आंै शताब्दीदेखि १६ औं शताब्दीसम्म चीनका विभिन्न शासकले उत्तरी क्षेत्रका शक्तिशाली राष्ट्रहरूबाट देशको सुरक्षाका लागि ग्रेट वाल निर्माण गराएका थिए । पर्खाल निर्माण सुरु गरिएको यकिन मितिबारे विभिन्न भनाइ छन् । केही इशापूर्व ६५६ मा बाहय आक्रमणबाट बच्न सबैभन्दा पहिला चु राज्यका राजा चङले ग्रेट वाल बनाउन लगाएका थिए भन्ने बताउँछन् । चङले सुरु गरेपछि विभिन्न कालखण्डका राजामहाराजाले यसको लम्बाइ बढाउँदै लगे । केही शोधकर्ताले भने ग्रेट वालको निर्माण ईशापूर्व तेस्रो शताब्दीमै थालिएको दाबी गरेका छन् । उनीहरूका अनुसार यससँग जोडिएका थुप्रै पर्खाल त्योभन्दा अघि नै बनाइएका थिए ।

पर्खाल बनाउन सेना र कैदीदेखि सर्वसाधारणको समेत प्रयोग भएको थियो । यो पर्खाल निर्माणका क्रममा करिब २ लाखले ज्यान गुमाएको बताइन्छ । केही रणनीतिक क्षेत्रमा उच्च सुरक्षाका लागि पर्खाललाई दोहोरो बनाइएको थियो । पर्खालको उचाइ १५ देखि ३० फिट छ । निश्चित दूरीमा अग्ला गार्ड र टावरसमेत छन् ।

ग्रेट वालको लम्बाइबारे आधिकारिक विवरण पाइँदैन । विकिपिडियाले यो १२ हजार ७ सय किलोमिटर लामो रहेको उल्लेख गरेको छ । ट्राभल चाइना गाइडका अनुसार यसको लम्बाइ २१ हजार १ सय ९६ किलोमिटर छ । विभिन्न भागमा फैलिएको ग्रेट वालमध्ये सबैभन्दा लामो खण्ड मिङ ग्रेट वाल हो । यसको लम्बाइ ८ हजार ८ सय ५१ किलोमिटर छ । बेइजिङमा मिङ ग्रेट वाल ५ सय २६ किलोमिटरमा फैलिएको छ । चीन सरकारले ग्रेट वालबाट मनग्गे आम्दानी गरिरहेको छ । यसको संरक्षणमा पनि उत्तिकै ध्यान दिएको छ ।

क्विन सी हुवाङको मृत्यु र क्विन साम्राज्यको अन्त्यपछि ग्रेट वाल जीर्ण बन्न पुग्यो । हान वंशको अन्त्यपछि विभिन्न शक्तिशाली जनजातिले उत्तरी चीनमा नियन्त्रण जमाए । यसमध्ये उत्तरी वेई वंश सबैभन्दा शक्तिशाली थियो । यही बेला पर्खालको पुनर्निर्माण र जीर्णोद्धार थालिएको थियो । वेई की राज्यले यो पर्खालको ९ सय माइल जीर्णोद्धार र निर्माण गर्‍यो । सुई वंशले पनि ग्रेट वालमा थप निर्माण गरेको थियो ।

ग्रेट वालको यति लामो इतिहास भए पनि हाल सुरक्षित रहेको धेरैजसो पर्खाल मिङ वंशका बेला बनाइएको हो । १८ औं र २० औं शताब्दीको बीचमा ग्रेट वाल चीनको सबैभन्दा चर्चित प्रतीक बन्यो । यो पर्खाल अन्तरिक्षबाट देखिने एक मात्र मानव निर्मित संरचना पनि मानिन्छ । ग्रेट वाललाई चन्द्रमाबाट पनि देखिने मानव निर्मित संरचनासमेत भन्ने गरिन्छ । यद्यपि यसको आधिकारिता भने कहीँ उल्लेख छैन ।

सुरक्षाको दृष्टिकोणबाट सैनिक परिचालन गर्न बनाइएको यो पर्खाललाई १९५० ताका पुनर्निर्माण गरिएको थियो । सैनिकलाई सुरक्षा दिन पर्खाल एक मिटर जति अग्लो ढुंगाको जोडाइबाट उठाइएको छ । पर्खालमा शत्रु पक्षलाई हेर्न ससाना प्वाल पनि बनाइएका छन् । प्रत्येक ३ सयदेखि ५ सय मिटरको फरकमा पर्खालमाथि छानो लगाइएका ससाना कोठा बनाइएका छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन युद्ध रणनीति तयार पार्न र शत्रु पक्षलाई निगरानी गर्नका बनाइएका हुन् । त्यति लामो ग्रेट वालमुनिबाट वारिपारि जाने उद्देश्यले मुख्यमुख्य ठाउँमा प्रवेशद्वारसमेत बनाइएको छ । ग्रेट वालको पूर्वी भागबाट प्राचीन चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण र कलात्मक छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?