कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कलिलाको एसियाड

ध्रुव तुलाधर

काठमाडौँ — हालै सम्पन्न १८ औं एसियाली खेलकुदमा तिमीहरूजस्तै कलिला उमेरका खेलाडीले पनि प्रतिस्पर्धा गरे । एसियाली खेलकुद इन्डोनेसियाको राजधानी सहर जकार्ता र पालेम्बाङमा अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म भएको थियो । यो एसियाली मुलुकका खेलाडीले खेल्ने सबैभन्दा बृहत् खेल महोत्सवमा पर्छ ।

कलिलाको एसियाड

४५ देशका झन्डै १२ हजार खेलाडीले विभिन्न ४० खेलमा ४६५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धीमध्ये अधिकांश युवा खेलाडी थिए । त्यसमा ९ वर्षकी अलिक्का नोभरी पनि थिइन् । आयोजक इन्डोनेसियाकी अलिक्काले स्केटबोर्डमा प्रतिस्पर्धा गरिन् । उनी प्रतियोगिताकै सबैभन्दा कान्छी खेलाडी पनि हुन् ।

सन् २००९ मा जन्मेकी अलिक्काले ७ वर्षका छँदादेखि स्केटबोर्ड खेल्न थालेकी हुन् । पालेम्बाङमा भएको स्केटबोर्डमा उनले महिला स्ट्रिट इभेन्टमा भाग लिएकी थिइन् । फाइनल खेलेका आठ प्रतिस्पर्धीमा उनी छैटौं स्थानमा रहन सफल भइन् । उनीसँग यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव थिएन । त्यसले गर्दा उनको दुइटा बोर्डमा प्रदर्शन बिग्रिएको थियो ।

जापानी स्केटबोर्डर स्काई ब्रोनलाई आदर्श खेलाडी मान्ने अलिक्काको लक्ष्य सन् २०२० को ओलम्पिकमा खेल्ने छ । उक्त ओलम्पिक टोकियो सहरमा हुनेछ । अलिक्काभन्दा तीन वर्ष जेठी इन्डोनेसियाकै बुंगा नेयमासले उक्त इभेन्टमा कास्य पदक जितिन् । १२ वर्षीया बुंगा १८ औं एसियाडमा पदक जित्ने कान्छी खेलाडी बन्न सफल भइन् । फिलिपिन्सका दिदाल मार्गिभिलेनले स्वर्ण र जापानकी काया इसाले रजत पदक जिते । दिदाल १९ र काया १७ वर्षका हुन् । दिदाल यसै वर्ष आयोजित एसएलएस वल्र्ड टुरको आठौं स्थानमा थिए ।

स्केटबोर्ड खेल पहिलोपल्ट एसियाली खेलकुदमा समावेश गरिएको हो । यसमा भाग लिने सबै किशोरकिशोरी र युवा थिए । ६० प्रतिशतभन्दा बढी त २० वर्षमुनिका थिए । स्केटबोर्डमा नेपालीमूलका हङकङमा जन्मेका नेरिस थापाले पुरुष स्ट्रिटमा प्रतिस्पर्धा गरेका थिए । २१ वर्षीय उनी प्रारम्भिक चरणमा १८ प्रतिस्पर्धी हुँदा १५ औं स्थानमा रहे । यस इभेन्टको स्वर्ण जापानका १७ वर्षे इके केयाकीले जिते भने इन्डोनेसियाका १६ वर्षे साङगोई तान्जुङ दर्माले रजत र दक्षिण कोरियाका १७ वर्षे चिवान इनियुवानले कास्य पदक थापे ।

गति र ब्यालेन्सलाई नियन्त्रण गर्दै चालहरू प्रदर्शन गर्नु नै स्केटबोर्ड खेलको विशेषता हो । यो खेललाई टोकियो ओलम्पिकमा पनि समावेश गरिने जनाइएको छ । जापानमा स्केटबोर्ड लोकप्रिय छ ।

जुनसुकै खेलमा पनि सानैदेखि रुचि र मिहिनेत गरियो भने ठूलै सफलता पाउन सकिन्छ भन्ने कुरा छिमेकी देश भारतको १६ वर्षे खेलाडी सौरभ चौधरीले प्रमाणित गरेका छन् । उत्तर प्रदेशस्थित मिरुत जिल्लाको सामान्य किसान परिवारमा हुर्किएका सौरभले इन्डोनेसियामा सुटिङबाट स्वर्ण जिते । उनले पुरुष १० मिटर एयर पेस्तोल विधामा स्वर्ण जितेका हुन् । सन् २०१५ देखि सुटिङ खेल्न थालेका सौरभ एसियाली खेलकुद इतिहासमै आफ्नो देशका लागि स्वर्ण जित्ने सबैभन्दा कम उमेरका खेलाडी पनि भए । अर्का १५ वर्षे भारतीय शार्दूल भिहानले पनि सुटिङकै डबल ट्रयापमा रजत जिते । ओलम्पिक र एसियाडजस्ता खेल बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुन् । ओलम्पिकमा विश्वका सबै राष्ट्रका खेलाडीले भाग लिन पाउँछन् । एसियाडमा एसियाली देशको मात्र सहभागिता हुन्छ । एसियाड र ओलम्पिक ४/४ वर्षको अन्तरमा आयोजना हुन्छ । ओलम्पिकमा भाग लिन विभिन्न छनोट प्रतियोगिता पार गर्नुपर्छ । केही खेललाई अनिवार्य कोटा दिइएको हुन्छ । एसियाली खेलकुदमा भाग लिन भने आफ्नै देशमा हुने छनोट प्रतियोगिता खेलेर सहभागिता जनाउन सकिन्छ ।

नेपालले एसियाली खेलकुदमा पहिलो संस्करण (१९५१, दिल्ली भारत) देखि नै सहभागिता जनाउँदै आएको छ । १८ संस्करणसम्म आइपुग्दा नेपालले दुईपल्ट मात्र भाग लिएको छैन ।

तर नेपालले एसियाली खेलकुदमा स्वर्ण जित्न सकेको छैन । यसपालि इन्डोनेसियामा स्वर्ण जित्ने अवसर थियो । पाराग्लाइडिङमा नेपाल थोरै अंकले पछाडि पर्दा स्वर्ण जित्न वञ्चित भयो । पुरुष क्रसकन्ट्री विधामा जापान २७ अंकले अगाडि रहँदै स्वर्ण जित्न सफल हुँदा नेपालले रजत पदकमा चित्त बुझाउनुपरेको थियो । रजत जित्दाका पाँच खेलाडीमध्ये युकेश गुरुङ (१७) कान्छा थिए । इन्डोनेसिया एसियाडमा नेपालले जितेको पाराग्लाइडिङको रजत नै एक्लो पदक हो । पाराग्लाइडिङ पनि एसियाडमा पहिलोपल्ट समावेश गरिएको खेल हो । नेपाल पछिल्लो दुई एसियाड (ग्वाङझाउ र इन्चोन) मा पनि १–१ कास्यमा घर फर्केको थियो ।

एसियाली खेलकुद इतिहासमा नेपालको पदक संख्या २४ पुगेको छ । त्यसमा दुई रजत समावेश छ । अरू सबै कास्य हो । त्यो तेक्वान्दो, कराते, बक्सिङमा जितिएका पदक हुन् । यसपालिको एसियाडमा नेपालबाट २९ खेलमा १ सय ८७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेकी गौरिका सिंह (१५) ले पनि जकार्तामा भाग लिएकी थिइन् । रियोमा खेल्दा उनी १३ वर्षकी थिइन् ।

नेपालको राष्ट्रिय खेल ‘भलिबल’ भएको त सबैलाई थाहा होला । यसलाई एक वर्षअघि मात्र राष्ट्रिय खेलको मान्यता दिइएको थियो । यस एसियाडमा ३२ वर्षपछि नेपाली भलिबल टोलीले सहभागिता जनाएको हो । यसअघि तीन संस्करण खेलेको भलिबलमा नेपालले यसपल्ट मंगोलियालाई पराजित गर्‍यो । यो एसियाडमा नेपाली भलिबलले जितेको पहिलो खेल थियो ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?