कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

थुलुङ गीत गाउँदै १६ साथी

गणेश राई

काठमाडौँ — सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा कक्षा २ देखि ६ सम्म पढ्दै गरेका १६ साथी भर्खरै राजधानी काठमाडौं आएका छन् । साथीहरू हुन्– पुजना, युगन्ता, प्रवीना, गान्धीदेवी, दुर्गा, प्रीति, विनुकला, प्रशन राई ।

थुलुङ गीत गाउँदै १६ साथी

त्यसैगरी मनिल, विकल, युगल, युजन, जेनिशा, सञ्चिता, सन्तोषी राई छन् । युगल र जेनिशाचाहिँ राजधानीमै पढ्छन् भने अरू सबैजना पहिलो पटक राजधानी आइपुगेका हुन् । उनीहरू भन्छन्, ‘गुकु थुलुङ प्रच्यो (हामी थुलुङ राई) ।’

उनीहरू सबैको उद्देश्य एउटै छ– मातृभाषा थुलुङ राईको गीत गाउनु । उनीहरूलाई आ–आफ्ना विद्यालयले छानेर पठाइएको हो । सबैलाई गीत गाउने रहरले मनभरि काउकुती लगाइरहेको छ । संगीतगुरु पदम थुलुङ राईले हार्मोनियम बजाउन थालेपछि सबै जनाले एकसाथ गाउन लाग्छन्–

निप्सुङमाउ पिरुङमाउ (घाम हौ, किरण हौ)
लुका स्यो लुका स्यो (झुल्की है झुल्की)
गुकु च्योच्च्यो मान्च्यो ने (हामी त बालबच्चा)
जुक्का सिमु खाम्कु स्यो (जाडोले मर्न पो लाग्यौं है)

राजधानी आएका यी बालबालिका अहिले काठमाडौंको टोखा नगरपालिका–८ ग्रिनल्यान्डमा बस्छन् । बिहान उठेर नास्ता गरेपछि १० बजेसम्म अभ्यास गर्छन् । १ बजेसम्म खाना खाने, टीभी हेर्ने र खेल्ने गर्छन् । त्यसपछि फेरि अभ्यासमा जुट्छन् । अहिले उनीहरू ६ वटा गीत आलोपालो अभ्यास गर्दै छन् । यी गीत ढोल, झयाम्टा बजाएर नाचिने लोकलय र भाकामा छन् ।

‘दस दिनमा गीत अभ्यास गराउँदै रेकर्ड गराउने लक्ष्य हो,’ संगीतगुरु पदम भन्नुहुन्छ, ‘अभ्यास पुगेको छैन । पन्ध्र दिन नै लाग्लाजस्तो छ ।’ गीत रेकर्ड सकेपछि साथीहरूले चिडियाखाना, सानो हात्तीवन, स्वयम्भू, बौद्ध, फन पार्क घुम्न पाउनेछन् । तथ्यांकमा थुलुङ भाषा बोल्नेको संख्या २० हजार ६ सय ५९ रहेको छ । थुलुङ राई संस्कृति प्रतिष्ठान सोलुखुम्बुले बालगीत बनाउन लागेको हो ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?