कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मिग्माको पढाइ !

काठमाडौँ — स्कुल जाने बेलैमा मिग्मा डिकीलाई आमाले भन्नुभयो, ‘भोलि चौंरीगोठ जानलाई सामान मिलाउनु छ, आज तिमी स्कुल छुट्टी हुनेबित्तिकै घर आऊ है, हामी एक महिना तिम्रो बाबासँगै चांैरीगोठमै बस्ने ।’ आमाको कुरा सुनेर मिग्मालाई नराम्रो लाग्यो । एक महिनासम्म स्कुल छुट्ने भो भनेर पीर लाग्यो ।

मिग्माको पढाइ !

स्कुल छुट्ने कुरा सोच्दासोच्दै कति बेला आफ्नो स्कुल खरिखोला मावि पुगिन् उनलाई थाहै भएन । आज उनलाई आफ्नै स्कुल पनि नौलो लाग्यो । भोलिदेखि एक महिनासम्म स्कुल आउन पाइँदैन भन्ने कुरा सम्भिँmदा बेलाबेलामा भक्कानो छुट्न खोजेजस्तो भयो ।

कक्षामा उनलाई पढ्नै मन लागेन । आज गुरुआमाले के पढाउनुभयो, केही बुझिनन् । झयालबाट बाहिर हेर्दै टोलाएर बसिन् । उनलाई टोलाएको देखेर गुरुआमाले ‘के भयो मिग्मा तिमीलाई’ भनेर मायालु पाराले सोध्नुभयो । मिग्मा केही बोल्नै सकिनन् । रुँलारुँला जस्तो गरिन् । गुरुआमाले सुम्सुम्याउँदै ‘आज प्यारी मिग्मालाई के भएछ ?’ फेरि सोध्नुभयो । गुरुआमाले जति पटक सोध्दा पनि उनलाई बोल्नै मन लागेन । मिग्माको एकदम मिल्ने साथी आङ फुटीसँग पनि आज उनी केही बोलिनन् । आङ फुटीले घरबाट ल्याएको उसिनेको आलु खान दिँदा पनि ‘नखाने’ भन्दै कुनातिरको बेन्चमा गएर बसिन् । आङ फुटी पनि सधंै बोल्ने हाँस्ने साथी आज नबोलेको देखेर छक्क परिन् । मिग्मालाई भने स्कुल छुट्ने चिन्ता लागिरहेको थियो । स्कुल छुट्टीपछि उनलाई घर जानै मन लागेन । स्कुलकै आडमा रहेको एउटा पसलबाहिर टोलाएर बसिरहिन् ।

स्कुल छुट्टी भएर अरू सबै घर फर्किसके, मिग्मा कहाँ गई होली ? मिग्माकी आमालाई छटपटी भयो । उहाँ आफंै मिग्मालाई खोज्न घरबाट निस्कनुभयो । मिग्मालाई स्कुलकै आडमा रहेको पसलबाहिर टोलाउँदै बसेको देखेपछि बल्ल उहाँलाई चैन भयो । ‘किन यहाँ बसेकी ? जाउँ हिँड’ भन्दै मिग्मालाई आफंैले बोकेर घरमा ल्याउनुभयो । घर पुग्नेबित्तिकै आमाले उनका किताब र लुगाफाटो जम्मै एउटा पोकामा हाल्नुभयो र भन्नुभयो, ‘हामी भोलि बिहानै चौंरीगोठ जाने ।’

भोलिपल्ट पाँच घण्टा हिँडेर मिग्मा डिकी र उनकी आमा चौंरीगोठमा आइपुगे । उनका बाबा ठूलो डेक्चीमा दूध तताउन लाग्नुभएको रहेछ । बाबाले ‘छोरी’ भनेर सुम्सुम्याउनुभयो । तर उनलाई बाबासँग बोल्नै मन लागेन । त्यही बेला अलि तल बाटोबाट ‘को हुनुहुन्छ ?’भन्ने आवाज आयो । मिग्मा डिकीका बाबाले को हो ? भनेर सोध्नुभयो । तलबाट ‘म, म गीता सर’ भन्ने आवाज आयो र बाबाले ‘हामी छांै, माथि नै आउनुस्’ भनेपछि इन्खु आधारभूत स्कुलका गीता सर त्यहीँ आउनुभयो । उहाँले मिग्मा डिकीलाई देख्नेबित्तिकै स्कुल किन नगएको भनेर सोध्नुभयो ।

बल्ल मिग्मा डिकीको मुखबाट आवाज निस्कियो र रुन्चे स्वरमा भनिन्, ‘आमा र बाबाले मलाई एक महिनासम्म स्कुल नपठाई यही गोठमा राख्ने रे !’गीता सरले उनका बाबाआमालाई ‘छोरीको स्कुल छुटाउन हुन्न’ भनेर सम्झाइबुझाइ गर्नुभयो । बरु एक महिनाका लागि उहासँगै मिग्मा डिकीलाई पठाउन आग्रह गर्नुभयो । दुवै जनाले सल्लाह गरी मिग्मालाई गीता सरसँगै पठाउन राजी हुनुभयो । मिग्माको ओठमा बल्ल हाँसो आयो । भोलिबाट स्कुल जान पाउँछु भन्दै मन मनै दंग भइन् । किताबको पोको बोकेर गीता सरको पछिपछि लागिन् । ३ घण्टा हिँडेपछि दुवै जना इन्खु स्कुल आइपुगे । गीता सरले आफू बस्ने शिक्षक गृहको एउटा कोठा मिग्मा डिकीको लागि तयार गरिदिनुभयो । उनी फुरुङ्ग भइन् ।भोलिपल्ट कक्षा ४ मा उनी जस्तै अरू १० जना विद्यार्थी पनि रहेछन् भन्ने थाहा पाइन् । उनीजस्तै अरू पनि शेर्पा भाषा नै बोल्दा रहेछन् । सबैसँग घुलमिल हुन उनलाई समय नै लागेन, नयाँ नयाँ साथी पाउँदा झनै दङ्गदास भइन् । पढाइ छुट्यो भन्ने पीर त कहाँ हरायो कहाँ ! मिग्माको पढाइ छुटेन !

एकराज कोइराला

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?