२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रेडियो रहर

राजाराम पौडेल

काठमाडौँ — रहर रेडियोमा बोल्ने । अरूलाई सन्देश दिने । अनि आफ्नो नेतृत्व र व्यक्तित्व विकास गर्ने । उनीहरू १२ वर्ष आसपासका छन् । विभिन्न विद्यालयमा पढ्छन् । १५ जनाभन्दा बढी बाबुनानी हरेक शनिबार पोखरा ७ रत्नचोकमा रहेको राइट फर चिल्ड्रेन कार्यालयमा जम्मा हुन्छन् । यसरी जम्मा हुनुको कारण हो– रेडियो कार्यक्रम ‘मिलीजुली बोलौं’ को नयाँ अंक तयार पार्ने ।

रेडियो रहर



रेडियो कार्यक्रम बनाउनुअघि उनीहरू पहिलाको कार्यक्रम सुन्छन् । अब के गर्ने भन्नेबारे सामूहिक छलफल गर्छन् । कार्यक्रममा के–के कुरा समावेश गर्ने तय गर्छन् । अनि समूह छुट्टयाएर कामको जिम्मेवारी बाँडफाँड गर्छन् । स्क्रिप्ट तयार पार्ने, अन्तरवार्ता लिने, भक्सपप लिने, आवाज दिने जिम्मेवारी लिन्छन् । फन सेगमेन्ट, गीत कविता आदि कामको पनि बाँडफाँड हुन्छ । यसरी एउटा रेडियो कार्यक्रमको खाका तयार हुन्छ । सबै सामग्रीको यकिन भइसकेपछि सम्भव भए सोही दिन नभए अर्को दिन कार्यक्रम तयार हुन्छ । त्यसका लागि उनीहरू शनिबार १० देखि ५ बजेसम्मै खट्छन् । उनीहरूका लागि सामान्य खाजा र आउने जाने भाडा राइट फर चिल्ड्रेनले उपलब्ध गराउँछ ।

कार्यक्रममा श्रोताले प्रतिक्रिया पनि रेकर्ड गराउन सक्छन् । हरेक साता प्रश्न सोधेर बालबालिकालाई यस कार्यक्रमतर्फ आकर्षित गर्ने गरिन्छ । हालसम्म २ सय ३ कार्यक्रम प्रसारण भइसकेको छ । साप्ताहिक रूपमा प्रसारण हुने आधा घण्टाको रेडियो कार्यक्रम २०७१ कात्तिक ७ देखि सुरु भएको हो । फिडब्याक राम्रो आएकाले विद्यार्थी उत्साही छन् ।

उनीहरूमध्ये एक हुन्– मनिता बराल । उनी शुक्रराज माध्यमिक विद्यालय, पुम्दीभुम्दीमा कक्षा ६ मा पढ्छिन् । पोखरा २२ पुम्दीभुम्दी पात्लेमा बस्ने उनलाई स्टुडियोसम्म आउन डेढ घण्टा लाग्छ । कहिले फेवातालमा डुंगा तरेर, त कहिलेकाहीँ गाडीबाटै आउँछिन् । ‘अहिले रेडियोमा बोल्न पनि सिक्दै छु,’ उत्साहित हुँदै उनले भनिन् । उनी रेडियो कार्यक्रममा सहभागी भएको ७ महिना भयो । ‘ममा धेरै नै आत्मविश्वास बढेको छ,’ उनले भनिन्, ‘बाआमा र दाइदिदीले पनि कार्यक्रममा जान हौसला दिइरहनुभएको छ । स्कुलका साथीले पनि कार्यक्रमबारे सोध्छन् । यसले थप उत्साह मिल्ने गरेको छ ।’

रेडियो कार्यक्रम बनाउने यी बालबालिकाले अहिलेसम्म बाल दुव्र्यवहार, बालश्रम, बालबालिकाका लागि इन्टरनेट सुरक्षा, विद्यालय भर्ना अभियान, बालबालिका र स्वास्थ्य, जन्मदर्ताको महत्त्वजस्ता विषयमा कार्यक्रम बनाइसकेका छन् ।

बाल क्लब व्यवस्थापन, ज्येष्ठ नागरिकप्रति बालबालिकाको दायित्व, बालमैत्री विद्यालय, लागूपदार्थ दुव्र्यसनीबाट कसरी बच्ने, प्राविधिक शिक्षामा बालबालिका, जंकफुडको असर, बालबालिका र स्थानीय सरकार उनीहरूले कार्यक्रम बनाएका अन्य विषय हुन् । छुट्टीको सदुपयोग, बालविवाह, बाल सहभागिता, बालबालिकाको दायित्व, शिक्षक र विद्यार्थीको सम्बन्धलगायत विषयमा पनि रेडियो कार्यक्रम तयार पारेको संस्थाकी मिडिया एन्ड कम्युनिकेसन अफिसर दुर्गा राना मगरले बताइन् । यस्ता कार्यक्रमले अभिभावक, जनसमुदाय र बालबालिकाबीच सकारात्मक सन्देश पुगेको उनले जनाइन् ।

मिर्मी आधारभूत विद्यालय, स्याङ्जामा कक्षा ६ मा अध्ययनरत प्रतीक भट्टराईले आफ्नो विद्यालयमै स्टुडियो निर्माण भएपछि कार्यक्रम बनाउन अझै सजिलो भएको बताए । ‘रेडियोको माध्यमबाट बालअधिकारको विषयमा जनचेतना जगाउनका लागि ‘मिलीजुली बोलौं’ कार्यक्रमले म जस्ता विद्यार्थीका लागि ठूलो अवसर दिएको छ,’ उनले भने । कार्यक्रम बनाउन समूहका साथीहरू, दाइदिदीहरू, विद्यालयको शिक्षक र घरपरिवारबाट उनीहरूलाई सहयोग मिल्ने गरेको छ ।

यसरी तयार भएको कार्यक्रम रेडियो अन्नपूर्ण, रेडियो जननी, माछापुच्छ्रे एफएम र थ्री एन्जल्स गरी कास्की जिल्लाका ४ एफ रेडियोबाट प्रसारण हुन्छ । गल्याङ एफएम स्याङ्जा, धौलागिरि एफएम बाग्लुङबाट पनि यो कार्यक्रम प्रसारण हुन्छ । केही समय विजय एफएम नवलपरासी, रेडियो बिहानी धादिङ र श्रीनगर एफएम पाल्पाबाट पनि प्रसारण गरिएको थियो । अनलाइन तथा युटयुबमार्फत यो कार्यक्रम विश्वभर सुन्न सकिन्छ । कार्यक्रम निर्माणका लागि स्याङ्जामा पनि स्टुडियो छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?