२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

इन्जिनियर चरा !

काठमाडौँ — यी हुन् तोप चराका गुँड । तोप चराले आफ्ना घर निकै कलात्मक तरिकाले बनाएका हुन्छन् । मिहिनेत गरेर । गुँडहरू रूखको टुप्पोमा मसिनो पात वा डाँठमा झुन्डिएको हुन्छ ।

इन्जिनियर चरा !

देख्दै खस्लान् कि जस्तो । तर हत्तपत्त खस्दैनन् । गुँडहरू प्राय: सामूहिक रूपमा खर झाडीमा बनाउँछन् । गुँडभित्र कोठा पनि हुन्छन् । बच्चा बस्ने, आमा बस्ने । रूखमा झुन्डिने हुनाले सर्प, मुसा र बाँदरजस्ता शत्रुले आक्रमण गर्न सक्दैनन् । गुँडभित्र पानी पनि नपस्ने गरी बनाएको हुन्छ ।

तोप चराले ढाँचाकाँचाको गुँड बनाउने भएकाले यसलाई इन्जिनियर चरा पनि भनिन्छ । पात र डाँठको मसिना धागोजस्तो रेसाबाट धागोले सिएजस्तै गरेर घर बनाउने भएकाले कतिले यसलाई दमाई चरा पनि भन्छन् ।

यो चरा तराईको घाँसेमैदानमा बढी पाइन्छ । धानबालीमा लाग्ने ससाना कीरा यसका आहारा हुन् । यसले धानबालीलाई नोक्सान गर्ने कीरा खाने भएकाले यो किसानको साथी पनि हो । यसले एक दिनमा करिब ९ सयसम्म कीरा खाने संरक्षणकर्मी बताउँछन् । बालीनाली नोक्सान गर्ने कीरा खाइदिने भएकाले किसानलाई यसले जैविक खेतीमा सहयोग पुर्‍याउँछ । कीरा मार्न किसानले विषादी प्रयोग गरिहनु पर्दैन ।

नेपालमा चार थरीका तोप चरा पाइन्छन् । छातीकाले तोप चरा, धर्के तोप चरा, बाया तोप चरा र सुनौलो तोप चरा । यीमध्ये सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिएको छ । यो चराले २ देखि ४ वटासम्म अण्डा पार्छ । १४ देखि १८ दिनसम्म ओथारो बस्छ । यसले बच्चा जन्माउन गुँड बनाउनेदेखि बच्चा हुर्काउन करिब ६ महिना लगाउँछ । यसले जेठ महिनातिरबाट गुँड बनाउन सुरु गर्छ । असोज–कात्तिकमा बच्चा हुर्काइसक्छ ।मानव बस्ती नजिकैका घाँसेमैदान नै यी चराको खास बासस्थल हो । तर अब घाँसेमैदान मासेर खेतीपाती र अन्य संरचना बनाउन थालिएपछि यी चरा खतरामा पर्दै जान थालेका छन् ।


प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?