कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चराहरुको चुनाव

काठमाडौँ — रानीवनमा चराहरूको चुनाव सकियो । बाठो लाटोकोसेरोको दलले चुनाव जित्यो । बाठो लाटोकोसेरो चराहरूको प्रमुख भयो । त्यसको दलले चुनाव जित्न कुनै कसर बाँकी राखेन ।

चराहरुको चुनाव

दिउँसोतिर सभा गर्ने र भाषण दिने काममा पनि दलकै चराहरू लागे । बाठो लाटोकोसेरोले अरू चराहरूलाई फकाई–फुल्याई गर्न मात्र होइन, मोटो रकम पनि बाँड्न दलका चराहरूलाई लगायो । चुनावमा केही गरी हुलदंगा गर्नुपरे त्यसको तयारीका लागि त्यसले देशविदेशबाट कालिज, च्याँखुरा, बट्टाईजस्ता जुडो, कराते, कुङ्फुका च्याम्पियन चराहरू झिकाएको थियो ।

चुनाव जितेकोमा खुसियाली मनाउन लाटोकोसेरोले जूनकिरीहरूलाई दीपावली गर्न लगायो, भाले मयूरलाई नाच्न लगायो र न्याउलीलाई गाउन लगायो । खुसियालीमा सबै चरालाई सामेल हुन त्यसले कुखुराको रातो भालेलाई झिसमिसे उज्यालो हुनुअगावै उर्दी जारी गर्न लगायो । खुसी नै लाग्यो धेरैजसो चराहरूलाई बाठो लाटोकोसेरो प्रमुख भएकोमा । एउटा जवान भँगेराले आफूसँगै बसेको पाको जुरेलीलाई भन्यो, ‘अब भने बल्ल हामी चराहरूको भलो चिताउनेको जित भयो । होइन त जुरे काका ?’

‘अहिले नै त्यसो भन्ने बेला भएको छैन । हेर्दै जाऔं, कसो होला,’ पाको जुरेलीले भन्यो ।‘तपार्इं जेमा पनि शंका गर्नुहुन्छ । बस्दिनँ म तपाईंसँग ।’ यति भनेर भँगेरा अन्तै बस्न गयो ।तर दिन बित्दै जाँदा बाठो लाटोकोसेरोको चालामालाप्रति शंका गर्नेमा पाको जुरेली मात्र होइन, अरू पनि धेरै चराहरू निस्के । एक दिन तिनीहरू एकै ठाउँमा जम्मा भई गोप्य छलफलमा लागे । काले कागले भन्यो, ‘मान्नुपर्छ, हामीले गल्ती गरेकै हौं । हाम्रो प्रमुख त दिउँसो राम्रोसँग आँखा नदेख्ने पो रहेछ । त्यो दिनभरि सुत्दो रहेछ र रातभरि चारो खोज्नमै सारा समय बिताउँदो रहेछ । त्यसैले होला, त्यसले कि त झिसमिसे बिहान कि त साँझतिर मात्र देखापर्ने गरेको । त्यस्तोले विकास–निर्माणको काम गर्ला भनेर चिताउनु व्यर्थ हो ।’

‘मैले त भनेकै हुँ नि, को कस्तो छ, त्यो बुझेर मात्र भोट हाल्नुपर्छ भनेर । गोपी कृष्ण कहो !’ नक्कले सुँगाले भन्यो । ‘‘किन रोइस् मंगले, आफ्नै ढंगले’ भन्ने त उखानै छ । अब पछुताएर के गर्ने ? अर्को चुनावसम्म पर्खनुबाहेक हामी अब के नै गर्न सक्छौं र ? जितेकालाई फिर्ता बोलाउने नियम पनि छैन । अब के गर्ने, लौ ?’’ बैगुनी ढुकुरले भन्यो ।

तबसम्म केही नबोली केवल अरूले बोलेको मात्र सुनिरहेको ध्यानी बकुल्लाले भन्यो, ‘अहिले नै के गर्ने भन्ने नसोचौं । सय दिनसम्म हामी पर्खौं । त्यतिन्जेलसम्म पनि त्यसले केही काम गरेन भने अनि के गर्ने हो, त्यो हामी सोचौंला ।’ तर प्रमुख बनेको लाटोकोसेरोले सय दिनभित्र केही राम्रा काम गरेर देखाइदेला भन्ने ती चराहरूको आशाआशामै सीमित रहयो । त्यसले एउटै काम के गर्‍यो भने चंखे चमेरोलाई आफ्नो सल्लाहकार बनायो ।

‘यो त हदै भयो । कस्तो होला, चंखे चमेरोलाई पो आफ्नो सल्लाहकार बनायो त्यसले ? चमेरो त विजाति चरा हो । दिउँसो आँखा नदेख्नेको सल्लाहकार पनि दिउँसो आँखा नदेख्ने नै । के त्यसले सल्लाहकार बनाउनलायकको अरू कुनै चरा नै देखेन ? उदाहरणका लागि भनौँ न, के म कम लायक छु ? विरोध जनाउन हामी सबै त्यसकहाँ भोलि बिहान सबेरै जाऔँ,’ छुच्चो तित्राले भन्यो ।अर्को दिन बिहान झिसमिसे बिहानै ती चराहरू बाठो लाटोकोसेरोकहाँ पुगे । सधैंभैंm खाना खाएर दिनभरि सुत्ने तर्खरमा लागेको लाटोकोसेरोलाई त्यसरी चराहरू आएको मन परेन । तैपनि नम्र भएर अनुहार हँसिलो पारी सबै चरालाई पालैपालो अभिवादन गरेर त्यसले भन्यो, ‘यति सबेरै तपाईंहरूले मकहाँ पाउकष्ट गर्नुभो । के छ तपाईंहरूको हालखबर ? मेरो त हेर्नोस्, चरा जातिको भलो नहोला कि, चराहरूको थलोको विकास नहोला कि भन्ने पीरले दुब्लाएर हाडछाला मात्र बाँकी छ । भन्नोस्, तपाईंहरूको म के सेवा गरौं ? यति सबेरै आउनुभएको छ ।’

‘होइन, सबेरै नआएर के गर्ने ? घाम लागेपछि त तपाईं सुतिहाल्नुहुन्छ,’ छुच्चो तित्राले भन्यो ।त्यसो भनेको सुनेर लाटोकोसेरोलाई रिस नउठेको त होइन तैपनि त्यतिकै नम्र भएर त्यसले भन्यो, ‘तपाईंको बोल्ने तरिका मलाई असाध्यै मन पर्छ । मलाई आश्चर्य लाग्छ, मान्छे जातिले किन ‘तित्राको मुखै बैरी’ भन्ने गरेको होला !’

‘तपाईंले चंखे चमेरोलाई के सोचेर आफ्नो सल्लाहकार बनाउनुभएको हो, अहिलेलाई त्यति मात्र बुझ्न हामी आएका हौं,’ काले कागले भन्यो ।एकछिन् सोचेजस्तो गरेर बाठो लाटोकोसेरोले भन्यो, ‘ए, मैले कुरा बुझेँ । मैले चंखे चमेरोलाई आफ्नो सल्लाहकार बनाएको तपार्इंहरूलाई चित्त नबुझेको रहेछ । मैले त्यसो गर्नुपरेको पहिलो कारण के भने, चंखे चमेरो मेरो मित हो, दोस्रो कारण के भने, हामी दुवै राति–राति मात्र काम गर्ने चरा पर्‍यौं । आफूले मन पराएकाहरूलाई, आफ्नो चाकरी गर्नेहरूलाई अनि आफ्ना नातागोतालाई राम्रो काम दिने र फाइदा हुने ठाउँमा राख्ने चलन चलेको हुनाले नै मैले त्यसो गरेको हुँ ।’

‘तर त्यसो गर्नु राम्रो होइन भन्ने तपाईंलाई थाहै नभएको त होइन होला । हाम्रा बचेराहरू ठूला भएपछि तपार्इंजस्तो नबनून् भन्ने म चाहन्छु,’ डाँफेले भन्यो । ‘मैले जे भन्न चाहेको हो, त्यो भनिसकेँ । अब तपाईंहरू ज्ञानी भएर खुरुक्क जानोस् । घाम लाग्ने बेला भइसकेको छ,’ लाटोकोसेराले भन्यो । त्यहाँ अरू बस्नु ती चराहरूले उचित ठानेनन् पनि किनभने लाटोकोसेरोले आफ्नो सुरक्षाका लागि तम्तयार राखेका कालिज, च्याँखुरा बट्टाईजस्ता जुडो, कराते, कुङ्फुका च्याम्पियन चराहरू त्यहाँ पुगिसकेका थिए ।

कन्हैया नासननी

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?