कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

रमाउँदै चित्रमा

राजाराम पौडेल

काठमाडौँ — शनिबार बिहान ८ बजे पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नरमा २१ विद्यार्थी जम्मा भए । विभिन्न स्कुलमा अध्ययन गर्ने विद्यार्थीको यो भेट उनीहरूको चित्रकलाप्रतिको मोहका कारण भएको थियो । चित्रकलाका माध्यमबाट आफ्नो प्रतिभा देखाउने अभिलाषाका कारण बिदाको दिनमा समेत उनीहरू झोलामा कलरबक्स राखेर उत्साहित बन्दै आएका हुन् ।

रमाउँदै चित्रमा

कोही स्कुल ड्रेसमा थिए त कोही आउट ड्रेसमा । सबैको लक्ष्य थियो– उत्कृष्ट बन्ने, पुरस्कार जित्ने । सबैले दुई घण्टामा आफ्नो क्षमताले भ्याएसम्मका चित्रहरू कोरे । आफ्ना चित्र उत्कृष्ट बनाउन निकै मिहिनेत गरे । यसरी कोरिएका चित्रलाई प्राज्ञ रमेश श्रेष्ठ, कलाकार मिलन शेरचन र झपेन्द्र गुरुङले ओल्टाइपल्टाई हेरे ।

अनि छानियो सबैभन्दा उत्कृष्ट । जुन चित्र कोरेकी थिइन् गण्डकी बोर्डिङ स्कऽल कक्षा १० मा अध्ययनरत रेबिका थापाले । रेबिका अन्य प्रतिस्पर्धी साथीभन्दा अब्बल बन्दै प्रथम भइन् । पोखरा लामाचौरकी रेबिकाले १५ दिनको चित्रकला कक्षा लिएको बताइन् । उनलाई चित्र कोर्न मामुको साथ महत्त्वपूर्ण थियो । मामुले चित्र कोर्न उत्प्रेरणा दिएकै कारण अगाडि बढ्न सहज भएको उनले बताइन् । फुर्सदको समयमा चित्र कोर्ने गरेकी रेबिकाको भविष्यको लक्ष्य भने आर्किटेक इन्जिनियर बन्ने छ । जित्छु भन्ने अपेक्षा नहुँदा नहुँदै प्रतियोगितामा प्रथम बन्न सफल भएकोमा खुसी लागेको प्रतिक्रिया उनले दिइन् ।

प्रतियोगितामा सहभागीमध्ये सिर्जना बोर्डिङका संगम पौडेल द्वितीय, बाल प्रभात माविका शुभम मगर तृतीय भए । न्यु मिलिनियमकी नमिता गुरुङ र कास्की मोर्डनाइज्ड एकेडेमीका योगेश सुनारले सान्त्वना पुरस्कार पाए । पुरस्कृत र सहभागी सबै विद्यार्थी आफ्नो प्रतिभा देखाउन पाउँदा दङ्ग थिए । हरेक विद्यार्थीले कोरेका चित्रले केही न केही सन्देश बोकेका थिए । विद्यार्थीका चित्रलाई पोखरा सभागृह हलमा आइतबार प्रदर्शनीमा समेत राखिएको थियो ।

प्रकाशित : आश्विन १४, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?