३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जंगल सफारी

किरण पाण्डे

काठमाडौँ — बिदाका बेला जनावर हेर्न र जंगल घुम्न कसलाई मन लाग्दैन ? तर मन लागेर मात्र सबै ठाउँमा न जनावर पाइन्छन् न जंगल नै  । चितवनको सौराहा जंगल–सफारीको उत्कृष्ट गन्तव्य हो  ।

जंगल सफारी

चितवन राष्ट्रिय निकुञ्ज र सौराहालाई बीचमा बगेको राप्ती नदीले छुट्टयाएको छ । पहिला यो थारू समुदायको बस्ती रहेको ठाउँ हो । उतिबेला यहाँ माटो र परालले बनेका घरहरू मात्र देखिन्थे । अहिले आधुनिक घरले भरिएको देख्न सकिन्छ । यहाँका परम्परागत रहनसहन र संस्कृति हराउँदै जान थालेपछि केही होटल र रेस्टुरेन्ट पुरानै ढाँचाकाँचामा बनाइएका छन् ।

जंगलमा जनावर हेर्न विभिन्न उपाय छन् । पथप्रदर्शक लिएर, हिँडेरै, जिप सफारी वा हात्ती सयर गर्न सकिन्छ । यहाँ करिब सय प्रकारका जीवजन्तु र चराचुरुंगी भए पनि एकै पटक सबै हेर्न अवसर जुर्दैन । गैंडा, मयूर, हरिण, बँदेल, जरायो, बाँदर, गोही भने प्राय: देखिन्छन् । पाटेबाघ, भालु, चितुवा भने आक्कलझुक्कल देखिरहन पाइन्छ । सयौं प्रजातिका पुतली र चरा पनि सजिलै देख्न सकिन्छ ।

सौराहामा रहेका जीवजन्तुमध्ये एकसिंगे गैंडा संसारमै दुर्लभ मानिन्छ । यो विशेषगरी नेपाल र भारतमा पाइने जीव हो । यसको संख्या ६४५ रहेको छ । २३५ को संख्यामा रहेको पाटेबाघ पनि नेपाल, भारत, बंगलादेशलगायत १३ देशमा मात्र पाइन्छ । यसलाई ‘रोयल बेंगाल टाइगर’ पनि भनिन्छ ।सौराहादेखि केही किलोमिटर पर रहेको बीसहजारी ताल पनि उत्तिकै मनमोहक छ । यहाँ जाने अधिकांश पर्यटक ताल हेर्न छुटाउँदैनन् । ताल र आसपासका क्षेत्रमा सयौं प्रजातिका चराको बासस्थान पनि छ । प्राय: पुसदेखि फागुनसम्म यहाँ आगन्तुक चरा देख्न पाइन्छ । सौराहा पुग्न राजधानीबाट करिब १ सय ६० किलोमिटरको यात्रा गर्नुपर्छ । पोखराबाट जाँदा १ सय ५५ किलोमिटर यात्रा गर्नुपर्छ ।

बेलुकीपख सौराहा बजार घुम्दा काठमाडौंको ठमेल र पोखराको लेकसाइड घुमेझैं लाग्छ । गर्मी मौसममा पुगियो भने हात्ती चढेर नुहाउन पनि पाइन्छ । गर्मीमा यहाँ आउने अधिकांश आन्तरिक र विदेशी पर्यटक यसरी नै नुहाउन मन पराउँछन् । राप्तीकिनारमा सूर्यास्तको दृश्यावलोकन निकै मनमोहक हुन्छ । दिनहुँ देखाइने परम्परागत थारू नाचले यहाँको संस्कृतिलाई जीवन्त बनाएको छ ।

हात्ती त सौराहाको पर्यायवाची नै बनिसकेको छ । केही वर्षयता सौराहामा हात्ती महोत्सव पनि आयोजना गरिँदै आएको छ । यो महोत्सवमा स्वदेशी र विदेशीको आकर्षक सहभागिता देख्न सकिन्छ । महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती दौड, छावाको फुटबल प्रतियोगिता हुने गरेको छ । महोत्सवमा टाँगा दौड निकै आकर्षक देखिन्छ । त्यसैले सौराहा ठूलाका लागि मात्र नभई बालबालिकाका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको छ ।














प्रकाशित : कार्तिक ११, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?