२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

रमाइलो दसैं

मनोज पौडेल

काठमाडौँ — कपिलवस्तु नगरपालिका २ सागरटोलका १२ वर्षका प्रद्युम्न शर्मा दसैंका दिन टीका लगाउन मामा घर दाङको गढवा पुगे  । कपिलवस्तुकै सिद्धार्थ विद्यामन्दिर बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्ने उनी त्यहाँ पुगेर दसैंमा निक्कै रमाए  ।

रमाइलो दसैं

लिंगे पिङमा मच्चिए । सेलरोटी खाए । मिठामिठा परिकार खाए । मान्यजनबाट टीका थापे । निधारभरि रातो बनाए । नयाँ कपडा लगाउन पाउँदा उमंगित बने । १० हजारभन्दा बढी दक्षिणा बटुले । ‘दक्षिणा राम्रै उपयोग गर्छु,’ उनले भने, ‘पढाइमा उपयोग हुने सामान किन्छु ।’

उनीजस्तै काठमाडौंको कालीमालीस्थित ज्ञानकुञ्ज उमाविमा कक्षा ५ मा पढ्ने ११ वर्षका हेरम्बराज केसी दसैंमा कपिलवस्तुको तौलिहवा मामा घर आए । सप्तमीमा आएका उनी निक्कै उमंगित बने । लटयाई लिएर चंगा उठाए । भुरुङ (लट्टु) नचाए । लिंगे पिङ खेले । दसैंका परिकार खाए । मान्यजनबाट टीका लगाई दक्षिणा बटुले । ‘हजुरआमाबाट धेरै पढ्नू भनेर आशिक पाएँ,’ उनले भने, ‘अब राम्ररी पढेर डाक्टर बन्छु ।’ उनले १२ हजार दक्षिणा पाए । नपुगे बुबासँग पैसा मागेर सानो टयाब किन्ने योजना उनले सनाए । ‘कम्प्युटरको काम पनि गर्छ,’ उनले भने, ‘पढाइमा पनि सहयोग पुर्‍याउँछ ।’

बालबालिका दसैंमा निक्कै रमाए । धेरै बालबालिका टीका लगाउन घर पुगे । छरछिमेक गए । मामा घर, ठूलोबुबा, ठूलीआमा, काकाकाकी र इष्टमित्र र नाताकुटुम्बकहाँ गएर राम्ररी मनाए । दसैं उल्लासमा खुसी भए । नयाँ नोट दक्षिणा पाएपछि झनै रोमाञ्चित बने । आहा कति राम्रो भन्दै पटकपटक गने । कतिपयले दक्षिणा संकलन गरेर आफूलाई चाहिने सामग्री किन्ने योजना गरे । अभिभावकले पढाइ र अतिरिक्त क्रियाकलापका लागि चाहिने सामग्री किन्न आग्रह गरे । नपुगेको रकम अभिभावकसँग माग्ने योजना बनाए । अभिभावकले पनि राम्रो कामका लागि रकम दिने भनेपछि अझ प्रफुल्लित भए ।

दसैं अभिभावक र बूढापाकालाई इतिहास र संस्कृति जोगाउने माध्यम बन्यो भने भविष्यका कर्णधार बालबाललिकालाई दसैं रमाइलो, नयाँ ठाउँ घुम्ने र दक्षिणा संकलन गर्ने खुसियाली भयो । संकलित दक्षिणा राम्रो कामका लागि सदुपयोग गर्न सिकाउने माध्यम बन्न सक्नुपर्छ । यसका लागि अभिभावकले सहयोग, सल्लाह र उत्प्रेरणा दिनुपर्छ । शैक्षिक सामग्री, व्यक्तित्व र बौद्धिक विकासमा खर्च गर्न सिकाउनुपर्छ । असहाय र अशक्तको कल्याणमा योगदान गर्न ज्ञान दिनुपर्छ । यसले मान्यजन र अभिभावकबाट स्याबासी पाइन्छ । अरू साथीको प्रेरणाको पात्र भइन्छ । बल्ल सबैले प्रशंसा गर्छन् । असल हृदयी भन्छन् ।

सानोमा पैसा बचत गर्ने र सही कामका लागि प्रयोग गर्ने बानीले ठूलो भएपछि पैसाको सही सदुपयोग गर्ने आदत बस्छ । यो निक्कै राम्रो हो । दसैंमा स्कुल बिदा हुँदा बालबालिकाले राम्ररी दसैं मनाए । अझ कतिपयको तिहारसम्म स्कुल बिदा हँुदा दसैंको रमझममा अझै छन् । कसैकसैले पूर्णिमासम्मै टीका लगाएर रमाए । दसैंमा चचहुइँ गर्दै पिङ खेले । गीत गाए । मनोरञ्जनका अन्य साधनबाट रमाए । नयाँनयाँ लुगा फेरे । फूलपाती भित्र्याउन दसैंघर गए । मान्यजनबाट टीका जमराले निधार रातै बनाए । हाँसीखुसी गरेर फोटो र सेल्फी खिचे । नयाँनयाँ परिकारले स्वाद फेरे । कतिपय नयाँनयाँ ठाउँ घुमे । दसैं देशाटन गर्ने माध्यम पनि बन्यो । सबैले रमाइलो गरे । नाचे, गीत गाए । दसंैको उमंगमा रोमाञ्चित बने । अब फेरि अर्को दसैं कहिले आउँछ भन्दै सोध्दै बसेका छन् ।

प्रकाशित : कार्तिक ११, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?