१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

साना नर्तक

अर्जुन राजवंशी

काठमाडौँ —  
समीर हेमरम भर्खर चार पूरा भएर पाँच वर्ष लागेका छन्  । उनका दाजु अनुप ९ वर्षका छन्  ।

साना नर्तक

दुवै दाजुभाइले बुबा शिवलाल हेमरमसँगै यस वर्षको दसैं नाचेर मनाए । झापाको गौरीगन्ज गाउँपालिका २ कोरोबारी निवासी सिमान्तकृत सन्थाल समुदायका हेमरम बुबाछोराको जियोङ झर्ना सन्थाल युवा क्लब जिल्लामै उत्कृष्ट ठहरियो । उक्त क्लबमा ७० जना आवद्ध छन् । जसमध्ये ६५ जना सन्थाल युवाले यस वर्षका दसैं मेलाहरूमा एकसाथ नृत्य गरे । अनि उनीहरूलाई साथ दिए, हेमरम दाजुभाइसहित १५ बालकले । यस वर्ष पनि तीन दर्जनभन्दा बढी दसैं मेला र ती मेलाहरूमा सन्थाल जातिको आकर्षक नृत्यले जिल्लावासीको दसैं उल्लासमय बन्यो ।

दसैं मेलाहरूमा अझ बढी रौनक थप्ने काम गरे, सन्थाल जातिका बालकहरूले । एकै रंगको जातीय पहिरन । घुगुरा, पैङजन, पोट्कु, रुमाल, मुजा, टाई लगाएर हजुरबुबा, बुबा र काकाहरूसँगै सिट्टी बजाउँदै तालमा ताल मिलाएर नाचे उनीहरू । जिल्लामा सन्थाल नृत्य षष्ठीदेखि कोजाग्रत पूर्णिमासम्म लाग्ने दसैं मेलाहरूमा प्रदर्शन गरियो । ५ देखि १३ वर्षसम्मका सन्थाल बालकहरूको नृत्यले मेला भर्न आउने जोकोहीलाई मोहित तुल्याउँथ्यो । उनीहरूको नाच हेरेर पैंसा सिउरिदिन दर्शकलाई बाध्य बनाउँथ्यो ।

सन्थाल बाजाहरू तुङ्गा, टामाट र ड्रममा एकनासले ताल मिलाउँदै आफ्ना अभिभावकसँग बालकहरू पनि तीन घण्टासम्म नाचिरहन्थे । ‘समीरलाई पोहोरको दसैंदेखि नै मेलामा नाच्न ल्याउन थालेको हुँ,’ कोजाग्रत पूर्णिमाको दिन गौरादह मेलामा नृत्य प्रस्तुत गरिरहेका बुबा शिवलालले भने । अनुप दसैं मेलामा नाच्न थालेको तीन वर्ष भइसक्यो । कञ्जिबारी मेलामा उत्कृष्ट नृत्य गरेको भन्दै अनुपले मोबाइल पुरस्कार जितेर ल्याएको आमा रेखा हेमरेमले बताइन् ।

मोरङ रंगेलीका राम–लक्ष्मण किस्कु जुम्ल्याहा दाजुभाइले पनि दसैंभरि मेलामा नाचे । १३ वर्षीय जुम्ल्याहा दाजुभाइले निकै फूर्तिलो नृत्य प्रस्तुत गरे । उनीहरूले पनि आफ्ना अभिभावकसँग दसैंभरि मेलामा आफ्नो जातीय नृत्य देखाए । मोरङकै सुनवर्षी नगरपालिका ६ लखनपुरको सन्थाल सांस्कृतिक युवा क्लबले पनि झापाका आधा दर्जन बढी दसैं मेलामा नृत्य प्रस्तुत गर्‍यो । ३५ जनाको टोलीमा १० जना १३ वर्षमुनिका बालकहरू थिए । १२ वर्षीय जितलाल मुर्मु बुबा श्यामलालसँगै दसैं मेलामा नाचेर हिँडे । दसैं मेलामा नाच्न पाउँदा निकै रमाइलो लागेको जितलालले सुनाए । उनीसँगै १२ वर्षीय ज्ञान हेमरम पनि सप्तमीदेखि टोलीसँगै मेलाहरूमा नाच्दै हिँडे । टोलीमा उनका अभिभावक कोही छैनन् । तर, गाउँकै टोली भएकाले नाच्न हिँडेको उनले बताए ।

यस वर्ष दसैं मेलामा जिल्लाका ६० बढी सन्थाल नाच टोलीले विभिन्न मेलामा नृत्य प्रस्तुत गरे । ती सबै टोलीमा ५ देखि १५ जनासम्म १३ वर्षमुनिका बालकहरू थिए । ‘यिनीहरूलाई अहिलेदेखि नै आफ्नो जातिको नाच सिकाउँदै गरेका हौं,’ खजुरगाछी सन्थाल नाच टोलीका हरि मिस्त्रीले भने, ‘हामीहरू पनि उहिले सानैमा नाच्न सिकेका थियौं । त्यसैले नाति पुस्तालाई पनि सानैदेखि तालिम दिन थालेका हौं ।’ दसैं मेलामा नाचेर भेला भएको पुरस्कार रकम जातीय उत्थानमा खर्चिने गरेको ६० वर्षीय विक्लु हेमरमले बताए ।

प्रकाशित : कार्तिक ११, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?