फुर्सदको सदुपयोग

राजाराम पौडेल

काठमाडौँ — सबैको लक्ष्य एउटै छैन  । तर उनीहरूमा केही सिक्ने उत्सुकता भने छ  ।

फुर्सदको सदुपयोग

यसअघि अपरिचित बनेका साथीसँग परिचित मात्र नभएर ज्ञान आदानप्रदान उनीहरू गर्दै छन् । उनीहरू सँगै खेल्छन्, बोल्छन्, सिक्छन् र आफनो प्रतिभा देखाउँछन् पनि । ७ देखि १२ वर्षसम्म उमेरका बाबुनानीहरू आफूमा निर्धक्कका साथ बोल्न, आफ्नो प्रतिभा सजिलै बाहिर ल्याउने हुटहुटीका कारण यसरी भेट गराएको हो । दसंै र तिहारको बिदामा अरू साथीहरू आफ्नै तरिकाले रमाइरहेका होलान् तर यिनीहरू यो समयको सदुपयोगसमेत केही कुरा सिकेर गर्दै छन् । उनीहरूको सिकाइमा बोर फिल नहोस् भनेर मनोरञ्जनका विभिन्न कार्यक्रम हुँदा उनीहरूमा थप जाँगर बढेको छ ।

यसरी उनीहरूको जमघट गराएको हो, जित हाम्रो फाउन्डेसनले आयोजना गरेको १४ औं संस्करणको सानो परी एन्ड सानो बाबुले । अन्य प्रतियोगितामा भन्दा यो प्रतियोगितामा भाग लिने बालबालिकाको लक्ष्य फरक हुन्छ । प्रतियोगिताको उपाधिभन्दा पनि आफूमा विभिन्न क्षमता वृद्धि गर्ने लक्ष्य सहभागीको हुन्छ । बालबालिकाको लक्ष्यमा अभिभावकको साथले खारिन सहज भइदिन्छ । यसपालि सानो परीतर्फ ४० र सानो बाबुतर्फ २४ जना प्रतियोगितामा सहभागी छन् । उनीहरू पोखरा पार्टी प्यालेस बाँस्तोलाथरमा दैनिक रूपमा दिउँसो १ बजेबाट साँझ ५ बजेसम्म उपस्थित भई आफ्नो क्षमता वृद्धि गर्न मिहिनेत गर्ने गरेका छन् ।

प्रतियोगितामा सहभागी डेभिजफल पोखराकी सुरक्षा ढकाल १० वर्षकी भइन् । उनी पोखराको मदरल्यान्ड माविमा कक्षा ४ मा अध्ययनरत छन् । उनले यसअघि पनि यो प्रतियोगितामा भाग लिएकी थिइन् । केही ज्ञान त्यसबाट थपियो । अहिले भने सानो परी बन्ने लक्ष्यका साथ उनी पुन: सहभागी भएकी छन् । भविष्यमा गएर डाक्टर बन्ने लक्ष्य लिएकी उनलाई नृत्य, गायन र अभिनयसमेतमा रुचि छ । ‘नयाँ कुरा सिक्ने रहर पूरा नभएकोले फेरि आएकी हुँ,’ उत्साहित हँुदै उनले भनिन् ।

शिशु निकेतन स्कुलमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीया अर्की सहभागी सुविज्ञा पौडेलको लक्ष्य प्रधानन्यायाधीश बन्ने छ । केही कुरा सिक्न पाइन्छ भनेर उनी यहाँसम्म आएको बताउँछिन् । उनलाई चित्रकला र नृत्यमा समेत रुचि छ । पढाइमा समेत उत्तिकै तेज छिन् । उनका बुबा भेषराज पौडेल छोरीको नेतृत्व तथा व्यक्तित्व विकास हुने भएकाले छोरीलाई सहभागी गराएको बताउँछन् । दैनिक रूपमा बुबाले उनलाई लाने लैजान गर्छन् ।

पोखरा डयामसाइडकी निसिका महर्जन १२ वर्षकी भइन् । उनी फिस्टेल माविमा कक्षा ६ मा अध्ययनरत छिन् । नर्स बन्ने लक्ष्य बोकेकी उनमा गीत र नृत्यतर्फ समेत रुचि छ । सानो परी र सानो बाबु कार्यक्रमबारे स्कुलमा थाहा पाएकी उनले घरमा ममीसँग प्रस्ताव राखिन् । ममीले बाबालाई भनेपछि उनको रहर पूरा भयो । अहिले सानो परी बन्ने उद्देश्यका साथ अगाडि बढ्दै छिन् ।

नदीपुरकी अस्मिता रेग्मी १२ वर्षकी भइन् । उनी लक्ष्मी आवासीय माविमा कक्षा ७ मा अध्ययनरत छिन् । उनी बाबाको आग्रहमा यहाँसम्म आइन् । उनका बुबा दीपक रेग्मी शिक्षक हुन् । ‘पर्सनालिटीको विकास र धेरै नयाँ कुरा थाहा हुन्छ भनेर सहभागी बनेकी हुँ,’ अस्मिताले भनिन् । वैज्ञानिक बन्ने लक्ष्य लिएकी उनलाई नयाँ–नयाँ साथी भेट्न र नयाँ कुरा सिक्न पाउँदा रमाइलो लागेको छ ।

मालेपाटनकी बेबी अधिकारी ९ वर्षकी भइन् । मदरल्यान्ड माविमा तीन कक्षामा अध्ययनरत उनको लक्ष्य गायिका बन्नेछ । मामु सिर्जना अधिकारीको आग्रहमा उनी सहभागी बनेकी हुन् । ‘मामुले राम्रो हुन्छ, तिमी जाऊ भन्नुभयो अनि म आएँ,’ उनले भनिन् । उनलाई गायन र नृत्यतर्फ औधि रुचि छ । उनीसँगै ७ जना मदरल्यान्डमा अध्ययनरत साथी बिदाको सदुपयोग गर्न यहाँ पुगेका छन् ।

जाल्पारोडका आगमन बस्नेत १० वर्षका भए । रेन्बो एकेडेमी होम्समा कक्षा ४ मा अध्ययनरत उनको लक्ष्य सफ्टवेयर इन्जिनियर बन्ने छ । केही कुरा सिक्ने इच्छाका साथ उनी सहभागी बनेका हुन् । उनलाई घुम्न र पेन्टिङ गर्न मन पर्छ । यहाँ नयाँ कुरा सिक्दै साथीहरूसँग खेल्न पाएकोमा उनी दङ्ग छन् । केही कुरा सिकून् । नयाँ मान्छेसँग नडराऊन् । निर्धक्क बोलून् भन्ने सोचाइका कारण अभिभावकको आकर्षणमा यो कार्यक्रम पर्ने गरेको छ । यहाँ सहभागी भएका बाबुनानीलाई ७ र ८ वर्ष, ९ र १० वर्ष, ११ र १२ वर्ष गरी तीन उमेर समूहमा विभाजन गरी तालिम दिइरहेको जित हाम्रो फाउन्डेसनका मेनेजर आरती गुरुङ जोशीले बताइन् । जित्नुभन्दा पनि ट्रेनिङमा केही कुरा सिकांै भन्ने उद्देश्य अधिकांश सहभागीको छ । हारजित भन्दा पनि बिदाको समयमा केही कुरा सिकून् भन्ने उद्देश्यले आफूहरूले प्रतियोगितामा सहभागी गराएको अभिभावकको प्रतिक्रिया छ । कोही बाबुनानीलाई अभिभावक आफंैले ल्याउने गरेका छन् भने कोहीलाई आयोजकले नै लाने ल्याउने व्यवस्था गरेका छन् ।


पोखरामा सन् २००५ बाट यो प्रतियोगिता सुरु भएको हो । हालसम्म झन्डै छ सय जनाले यो प्रतियोगितामा भाग लिइसकेको फाउन्डेसनका संस्थापक राजेश जोशीले बताए । पहिला स्टेज पर्फमेन्स मात्र हुने गरेको भए पनि अहिले अन्य विविध ट्रेनिङलाई समेट्दा आकर्षण बढेको जोशीको भनाइ छ । तालिम क्रममा प्रस्ट रूपमा उत्तर दिन सक्ने, आफ्नो कुरा खुलस्त भन्ने, स्मार्ट वाक, बडी ल्यांग्वेज, साथीभाइसँग मेलमिलाप गर्न, साथीहरूका राम्रा कुरा सिक्ने अवसर सहभागीले पाउनेछन् । गमला बनाउने, फूल बनाउने, कराते र योग सिक्ने अवसर पनि उनीहरूले पाउनेछन् । विभिन्न विधामा पोख्त प्रशिक्षकलाई बोलाएर उनीहरूलाई तालिम दिइने आयोजकले जनाए । तालिमपछि मंसिर ८ गते पोखरा सभागृह हलमा हुने कार्यक्रममार्फत सानो परी एन्ड सानो बाबु २०१८ छानिनेछ । फाइनलमा सबै सहभागीले आफ्नो प्रस्तुति राख्नेछन् ।

प्रकाशित : कार्तिक ११, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?