१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजुको फूलबारी

हरिहर खनाल

काठमाडौँ —  
राजु सधैँ उनकी दिदी सरितासित स्कुल जान्थे  । स्कुलको अगाडि एउटा फराकिलो चउर थियो  ।

राजुको फूलबारी

बिहान स्कुल लाग्ने समयमा सबै विद्यार्थी त्यही चउरमा भेला भएर पीटी खेल्थे र प्रार्थना गर्थे । दिउँसो टिफिनमा कोही भकुण्डो खेल्थे, कोही लुकामारी खेल्थे । राजुको स्कुलको पछाडितिर एउटा फूलबारी थियो । त्यहाँ रंगीबिरंगी फूलहरू फुलेका थिए । राजुलाई त्यो फूलबारी असाध्यै राम्रो लाग्थ्यो । राजु फूललाई असाध्यै माया गर्थे । उनका साथीहरूले फूल टिप्न खोजे भने राजु उनीहरूलाई फूल टिप्नु हुँदैन भनेर सम्झाउँथे ।

राजुको घरमा पनि एउटा सानो फूलबारी थियो । उनका बुबालाई फूल खुबै मन पथ्र्यो । बिहान बेलुकी राजुका बुबा फूलबारीका झारपात टिपेर गोडमेल गर्नुहुन्थ्यो । बुबाले गरेको काम देखेर राजुलाई निकै रमाइलो लाग्थ्यो । गर्मीको छुट्टी थियो । एक दिन राजु पनि बुबासँगै फूलबारीमा गए । फूलबारीमा राजुले एउटा सानो झुसिल्कीरा देखे । त्यस झुसेलाई देखेर राजुलाई निकै डर लाग्यो । उनको आङ जुरुङ फुलेर आयो । झुसेलाई निक्कै भोक लागेको थियो । त्यो परबाट ढाड हल्लाउँदै आयो र नजिकैको गुलाबको कोपिलामा चढेर त्यसलाई कुटुकुटु टोक्न थाल्यो । त्यसले टाउकामा दाँत गाडेपछि कोपिलालाई नरमाइलो लाग्यो । राजुले त्यसलाई परतिर फाल्न एउटा दाउरो खोज्दै थिए, उनका कानमा एउटा मसिनु आवाज पर्‍यो । ‘ए सानु झुसे !’ कोपिलाले झुसिल्कीरालाई बोलाइरहेको थियो ।

‘के हो ? किन बोलाएको ?’ कोपिलालाई टोक्न दाँत तिखारिरहेको झुसेले टक्क रोकिएर सोध्यो । ‘म सानो कोपिला हँु साथी, मलाई नटोक । म तिमीलाई भोलिपर्सि सिङ्गै फूलबारी दिन्छु,’ कोपिलाले नरम स्वरमा भन्यो । त्यो सुनेर झुसेको मनमा दया पलाएर आयो । त्यसपछि उसले कोपिलालाई टोकेन । त्यो झुसे फेरि ढाड हल्लाउँदै अर्कैतिर लाग्यो । राजुले त्यो झुसेको चालामाला हेरिरहेका थिए । झुसे अलिकति पर पर्खालको छेउमा पुगेपछि त्यसले निगालाका कलिला टुसा देख्यो । निगालाका कल्कलाउँदा टुसा जमिनमुनिबाट भर्खरै बाहिरतिर निस्केका थिए । ती टुसा देखेपछि झुसेको जिब्रोमा पानी भरिएर आयो । झुसे ढाड हल्लाउँदै मच्चिएर त्यतै गयो र टुसाका टुप्पा कुटुकुटु टोक्न थाल्यो ।

त्यो देखेर राजुलाई फेरि दया लागेर आयो । त्यसलाई पन्छाउन राजुले एउटा छेस्को खोज्दै थिए, उनका कानमा फेरि एउटा आवाज गुन्जियो । ‘ए झुसे भाइ, हामीलाई नटोक । हामी तिमीजस्तै साना टुसा हौँ । हामी बढेपछि तिमीलाई घर दिन्छौँ,’ टुसाहरू यसो भन्दै थिए । झुसेको मनमा फेरि पनि दया पलाएर आयो । त्यसपछि झुसेले ती टुसालाई टोकेन र ऊ त्यहाँबाट हिँडयो । त्यो देखेर राजुलाई असाध्यै रमाइलो लागेर आयो ।

भोलिपल्ट राजु फेरि फूलबारीमा गए । झलमल्ल घाम लागेका थिए । घामका न्याना किरणले छुँदा झुसेको जिउ पनि तातो भयो र त्यो ब्युँझियो । त्यसपछि भने त्यो तिनछक पर्‍यो । ब्युँझँदा झुसेको शरीर एउटा राम्रो पुतलीमा फेरिएको थियो । त्यसले बिस्तारै त्यसका छिरबिरे पखेटा हल्लाउँदै यताउता हेर्‍यो । फूलबारीका गुलाबका साना कोपिलाहरू फक्रेर राम्रा, ठुला थुँगामा रूपान्तरण भएका थिए । फूलबारीबाट मगमग बास्ना आइरहेको थियो र त्यहाँ वरपरको वातावरण नै सुगन्धित भएको थियो ।

राजुका कानमा फेरि एउटा आवाज गुन्जियो, ‘ए सानु पुतली, आऊ मेरो शिरमा बस र मलाई म्वाई खाऊ ।’ फक्रेका गुलाबका थुँगा यसो भन्दै थिए । पुतलीमा फेरिएको सानु झुसे त्यसका रंगीबिरंगी पखेटा फिँजाउँदै उडेर गयो र एउटा गुलाबको फूलमाथि थपक्क बस्यो । ढकमक्क फुलेको सुन्दर फूलबारी देखेर त्यसको मन धेरै रमायो । उडेर फूलको एउटा थुँगादेखि अर्को थुँगामा जाँदा त्यसले पहिले देखेका टुसाहरू कता होलान् भनेर हेर्‍यो । बारको छेउमा भएका सबै टुसाहरू हलक्क बढेर साना निगाला भइसकेका थिए ।

‘ए सानु पुतली !’ राजुका कानमा फेरि अर्को आवाज पर्‍यो । त्यो आवाज निगालाको झ्याङबाट आइरहेको थियो । ‘के भनेको सानु फुच्चे ?’ पुतलीले पनि पहिलेको कुरा सम्झेर त्यसरी नै सोध्यो । ‘घाम पानीबाट ओत लाग्न आऊ, मेरा हाँगाबिँगा काट र एउटा सानु घर बनाऊ,’ निगालाले मुसुक्क हाँसेर भन्यो । त्यसका कुरा सुनेपछि पुतली पनि फूलबुट्टे पखेटा फिँजाउँदै उडेर त्यतै गयो र त्यसका हाँगा काटेर सानु घर बनायो । त्यस दिनदेखि पुतलीको बास फूलबारीमा नै भयो । पुतली दिनभरि फूलको एउटा थुँगादेखि अर्को थुँगासम्म उड्दै जान्थ्यो र तिनीहरूको रस पिउँथ्यो । रात परेपछि फूलबारीको छेउमै रहेको घरमा बास बस्थ्यो । यो सबै देखेर राजुलाई पनि खुब रमाइलो लाग्यो ।

प्रकाशित : कार्तिक ११, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?