कविता कला

रामकृष्ण भण्डारी

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्षका भए  । १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरे अहिलेसम्मै ठमठमी हिँडडुल गर्न सक्छन्  ।

कविता कला

कविता लेख्छन् । पत्रपत्रिका पढ्छन् । आफन्त र आगन्तुकसँग भेटघाट गर्छन् । बेलाबखत साहित्यिक कार्यक्रममा आउजाउसमेत गर्छन् । अधिकांश समय काठमाडौंको लाजिम्पाटस्थित निवासमा लेखपढ गरेर सक्रिय जीवन बिताइरहेका घिमिरे अहिले पनि आफ्नो बाल्यकाल सम्झेर उत्साही हुन्छन् । कसरी राम्रा कविता लेख्ने र कसरी असल बन्ने भन्नेबारे उनका सुझाव यस्ता छन्–

योसाल म सय वर्ष लागेको छु । आफ्नो बाल्यकाल सबैलाई मन पर्छ । त्यसैले होला यो उमेरमा पनि मलाई बालापनको याद आइरहन्छ । सानोमा घरवरिपरि र स्कुलमा साथीभाइसँग खेलेको सम्झन्छु । उतिबेला घरमा जे भेटिन्छन्, त्यही खेल्ने हो । गाईबाख्रा चराउने ।

घाँसदाउरा गर्न वनपाखा जाने । बाआमालाई सघाउँदै कखरा पढ्ने । यस्तै हुन्थ्यो । रमाइलो लाग्थ्यो । म पढाइमा अब्बल थिएँ । क्लासमा फस्ट पनि हुन्थें । हाम्रो बेलामा अहिलेको जस्तो सुविधा थिएन । न फोन थियो, न गाडी । अहिले त हातहातमा मोबाइल छन् । देशविदेश एउटै औंलाले चलाउन सकिने भयो । कम्प्युटरमा गेम खेल्न र नयाँ कुरा सिक्न सकिने भयो । यो धेरै राम्रो कुरा हो । तर यसका बेफाइदा पनि छन् ।मेरो पहिलो कविता १४ वर्षको उमेरमा ‘ज्ञानपुष्प’ शीर्षकमा १९९२ सालमा गोरखापत्रमा छापिएको थियो । मैले बालबालिकालाई सिकाउन र उनीहरूलाई रमाइलो लागोस् भनेर पनि कविता लेखेको हुँ । पुग–नपुग यस्ता सयवटा कविता छन् । चारवटा किताब पनि प्रकाशित छन् । बालबालिकाले त्यसबाट केही ज्ञान लिएका पनि छन् । तीमध्ये ‘भँगेरा र भँगेरी’ अनि ‘टालाटुली बटुली’ धेरैले मन पराए । यी कविता मलाई पनि मन पर्छ । किनभने यी कविता गाउँदा मलाई पनि बाल्यकालमै छु कि जस्तो लाग्छ ।बालबालिकाले निकै मन पराएको ‘भँगेरा र भँगेरी’ लेख्दा मैले उनीहरूलाई ‘बाठो र टाठो’ बन्नुपर्छ भन्ने सिकाउन खोजेको थिए । बालबालिकाले आफूले घरआँगनमा देख्ने चराचुरुंगीको संवादमार्फत मिलेर काम गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको हुँ । त्यसो हुँदा बच्चाले आफूलाई सम्झन्छन् नि । भँगेरोजस्तो बाठो र भँगेरीजस्तै टाठो हुनुपर्छ भन्ने यो कविताको सन्देश हो ।

‘टालाटुली बटुली’ कविता पनि धेरैलाई मन परेको देख्छु । अहिले पढ्दा मलाई पनि घरको कोठामा, दलानमा बसेर खेलेझंै लाग्छ । यो कवितामा ‘सानी पनि छैन रे, ठूली पनि हैन रे,....’ भनेको छ । ‘ठूली हैन भने पनि यसको आशय ‘अब ठूली हुन लागी...’ भन्ने हो । त्यसरी हुर्कंदै गरेको उमेर नै अधिकांश बालबालिकाको खेल्दै, रमाउँदै सिक्दै गर्ने बेला हो । त्यसैले यो कविता धेरैलाई मन परेको होला ।

बालबालिकाले कविता लेख्दा सबैभन्दा पहिले कुन विषयमा लेख्ने हो त्यो तय गर्नुपर्छ । अनि त्यसबारे आफैं सम्झेर राम्रो सन्देश दिने विषय के हुन सक्छ भनेर सोच्नुपर्छ । त्यसपछि सकेसम्म लय मिलाएर लेख्ने प्रयास गर्नुपर्छ । जस्तै: ए काग ए काग, ढुंगो हान्दा नभाग, नभाग... । यसरी लेख्न थाल्नुपर्छ । कुनै कुरा देखेपछि अथवा कुनै विषय मनमा आएपछि सोचेर लय मिलाएर लेख्नुपर्छ । आफूले लेखेको कुराले कस्तो सन्देश दिँदै छ भन्ने ख्याल राख्नुपर्छ । सकेसम्म राम्रो सन्देश दिने गरी कविता लेख्नुपर्छ ।

मेरो कविताको शैली के हो भने, राम्रो सन्देश सुरुबाटै दिनुपर्छ । त्यसो भए धेरैले बुझ्न सक्छन् । हाम्रो पालामा टाठो–बाठो बन, यताउता धेरै मन नडुलाऊ भन्ने हुन्थ्यो । अहिले त सबै हेरेर पढ्ने, लेख्ने समय आयो । धेरै कुरा लेखेपछि अन्तिममा उपदेश दिने वा सुझाव दिने चलन पनि छ ।

मैले भने सुरुदेखि नै सन्देश दिनुपर्छ भन्ने सोचेर लेखेको हुँ । कविता, खण्डकाव्य, गीतिनाटक लेख्दा पनि सकारात्मकतालाई नै जोड दिएको छु । ‘गाउँछ गीत नेपाली...’, ‘फूलको थुँगा बगेर गयो...’, ‘आजै र राति के देखँे सपना...’ लगायत मेरा गीतहरू पनि धेरैले मन पराए । बाल्यकालमा गाउँघरमा लोकलयको बढी चल्ती थियो । नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नरकिन्नरी (२०३३) कविता संग्रह र गौरी शोककाव्य लगायतमा पनि त्यसकै प्रभाव छ ।

साना–साना नानीबाबुले धेरै समय रल्लिएर र डुलेर मात्रै बिताउनुहुन्न । फुर्सदमा समय मिलाएर घुमफिर गर्ने हो । अरू बेला पढाइमै ध्यान दिएको राम्रो । यो कुरामा घरपरिवारले पनि सिकाउनुपर्छ । बच्चाले भनेर मात्रै बुझ्दैनन् । त्यसैले उनीहरूले मनमा लिने र सम्झने कुरा देखाएर पनि सिकाउन सकिन्छ । बालबालिकाले सबैभन्दा ध्यान दिनुपर्ने आफ्नो पढाइमै हो । ध्यान दिएर पढ्ने, गृहकार्य समयमै गर्ने बानी राम्रो हो । आफूले कुनै कुरा नबुझे स्कुलमा शिक्षकशिक्षिकासँग सोध्नुपर्छ । घरमा भए आफूभन्दा जान्ने परिवारकै सदस्यसँग सोध्नुपर्छ । नजानेको कुरा सोध्न कहिल्यै लजाउनुहुन्न । ज्ञानी बन्न नचाहिने कुरा कहिल्यै नगर्ने बानी बसाउनुपर्छ ।

जीवनमा आफूले के लक्ष्य लिने हो, त्यो सानै उमेरमा थाहा हुन्न । तर पढ्दै, उमेर बढ्दै गएपछि बिस्तारै राम्रो काम र कुरा गर्ने, भनेको मान्ने गरेपछि ज्ञानी भइन्छ । अनि अरू कुरा सिक्दै अघि बढ्दै गर्नुपर्छ । जीवनको लक्ष्य भनेको असल मान्छे बन्ने हुनुपर्छ । जीवनलाई प्रेम गर्ने र प्रकृतिमा रमाउने नै मेरो दीर्घजीवनको रहस्य हो । म अहिले पनि थाकेको छैन । सद्विचारले जीवनलाई सधंै खुसी राख्छ । त्यही विषयमा मैले ‘ऋतम्भरा’ महाकाव्य लेखेर सक्नै लागेको छु । यसमा नकारात्मकताका विपक्षमा सन्देश छ ।निरन्तर कर्म गरिरहेपछि सफल भइन्छ । मैले ८५ वर्षको उमेरमा राष्ट्रकविको उपाधि पाएको थिएँ । प्रज्ञा प्रतिष्ठानको कुलपति पदको जिम्मेवारी सम्हाल्ने मौका पाएँ । साझा, त्रिभुवनलगायतका थुप्रै पुरस्कार र विभूषण पाएँ ।

त्योभन्दा पनि महत्त्वपूर्ण त, सबैको मायाले सार्वजनिक अभिनन्दनबाट सम्मानित हुने अवसरसमेत मिल्यो । त्यो सबै निरन्तर दत्तचित्त भएर लागेकै कारणले हो जस्तो लाग्छ मलाई । त्यसैले सबै नानीबाबुहरूलाई मेरो सुझाव छ– सकारात्मक सोच्न र कर्म गर्न छाड्नु हुन्न । निरन्तर असल काम गरिरहे एक दिन सफल भइन्छ, भइन्छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?