१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संस्कृति

निबन्ध
कान्तिपुर संवाददाता

काठमाडौँ — हाम्रो जीवनमा जाति, भाषा, कला, इतिहास, भूगोल, संस्कृति आदिको ज्यादै महत्त्व छ  । ‘संस्कृति’ आफ्नो समाज देश वा जातिलाई चिनाउने पहिचान हो  ।

संस्कृति

संस्कृतिको सम्बन्ध सभ्यतासँग जोडिएको हुन्छ । सभ्यता विकाससँगै संस्कृतिको निर्माण र विकास हुँदै जान्छ । जाति, समाज र देशवासीको मन र मस्तिष्कमा संस्कृतिको बास हुन्छ । त्यसैले संस्कृति हाम्रो अभिन्न अंग हो ।संस्कृति मानिसको सचेत र सामूहिक क्रियाकलाप हो । संस्कृतिले हाम्रो अचेतन अवस्थामाथि नियन्त्रण गर्ने प्रयास गर्दछ । संस्कृति मानिसका दैनिक क्रियाकलापहरूबाट परिष्कृत हँुदै जाने समग्र विकास प्रक्रिया हो । संस्कृति स्थापित हुन लामो समय लाग्छ ।

आफ्नो चेतनाको विकाससँगै पशुपालन, कृषि, व्यापार, शिक्षण तौरतरीका, चिन्तनमनन, कला, भाषा आदिमार्फत मानिसले आ–आफ्ना भावना र अनुभूतिहरू टाढाटाढासम्म विस्तार गर्छन् । स्थान, परिवेशअनुरूप आफ्नो जीवनशैली र क्रियाकलाप परिमार्जन गर्दै जान्छन् । मानिसका यिनै क्रियाकलापहरू नै कालान्तरमा संस्कृति बन्दै जान्छ । यसरी संस्कृति मानिसको निजी परिचय बन्न पुग्छ । कतिपय लेखकले संस्कृतिलाई मानिसको पर्याय भन्ने गरेको पाइन्छ । संस्कृतिबाट नै मानिस, मानिस हुनुको औचित्य पुष्टि हुन्छ । संस्कृतिले नै मानिस मानिसबीचको फरक थाहा पाउन सकिन्छ । त्यसैले संस्कृति महत्त्वपूर्ण भएको हो ।

विश्वका भिन्दाभिन्दै स्थानमा बस्ने मानिसको भिन्दाभिन्दै संस्कृति हुन्छ । हामीबीच हिन्दु र बौद्ध संस्कृति बढी प्रचलनमा छ । पश्चिममा यहुदी, क्रिस्चियन र इस्लामिक संस्कृति प्रचलनमा छ । यी धार्मिक संस्कृति हुन् । एउटै धार्मिक समुदायबीच पनि फरक–फरक संस्कृति हुन सक्छ । ती फरक संस्कृति र धार्मिक प्रचलनले नै मानिसबीच फरक परिचय स्थापित गरेको हुन्छ । फरक धर्म, संस्कृति, जातिबीचका एकै मानिस हौं हामी । यो हामी मानिस र संस्कृतिबीचको अभिन्नता हो ।

आज सञ्चार र प्रविधिका कारण विश्वका सबै मानिसको संस्कृति सबैले थाहा पाउन सक्छन् । सबैले आफ्नो संस्कृति जोगाउन र जीवन्त बनाउन सहज भएको छ । अहिले हाम्रो संस्कृतिप्रति पनि विश्वभरका मानिसले चासो राख्न थालेका छन् । कतिपयले अनुकरण पनि गर्दै छन् । हुन त पश्चिमेली मुलुकका कतिपय संस्कृति पनि आजकाल हामीकहाँ आइरहेका छन् । तर हामीलाई हाम्रो संस्कृति नै ज्यादा प्यारो छ । संस्कृति सद्भाव बढाउने, स्वस्थ प्रकृतिको र भड्किलो नदेखिने हुनुपर्दछ । त्यो सुखद र सार्थक हुनुपर्दछ । हाम्रो संस्कृति ऋतु, मौसम, भूगोल, धर्मअनुकूल छन् । हाम्रो संस्कृतिलाई हामीले सिकेर, जानेर, बुझेर भोलिका पुस्तालाई सिकाउनुपर्दछ । हस्तान्तरण गर्नुपर्दछ । हामीले हाम्रो संस्कृति जोगाएर राख्नुपर्दछ । हामीलाई हाम्रै संस्कृति महत्त्वपूर्ण छ । हामीलाई समाजमा घुलमिल हुन, एक आपसमा हातेमालो गर्न, सद्भाव बढाउन, संस्कृति प्रेरक बन्दछ ।

-कश्यपवीरसिंह थापा, कक्षा–६,
सैनिक आवासीय महाविद्यालय, भक्तपुर

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?