सेलरोटी र माला

कथा
यमुना पराजुली अधिकारी

काठमाडौँ — डालोभरि सयपत्री फूलका थुँगा बोकेर सुनैना सिँढी उक्लिइन्  । उनले भनिन्, ‘आमा, आमा, यस पटक त छिट्टै सेलरोटी पकाउनुस् है, म हजुरलाई माला गाँस्ने घर सफा गर्ने काम सघाउँछु नि,’ आमाले पुलुक्क सुनैनाको अनुहारमा हेर्नुभयो  ।

मुसुक्क हाँस्नुभयो । सुनैनाले पोहोर तिहारको कुरा सम्झिइन् । पोहोर तिहारमा आमालाई अलि सन्चो थिएन । रुघाखोकीले सताइरहेको थियो । सुनैनालाई भन्नुभएको थियो, ‘नानी मलाई अलि सन्चो छैन । घरको काम अलिअलि सघाऊ है । बेलुका लक्ष्मीपूजाका लागि सेल नि पकाउनु छ ।’ सुनैना ‘हुन्छ’ भनेर बाहिर पिङ खेल्न निस्केकी थिइन् । तर खेल्दाखेल्दै घाम अस्ताइसकेको पत्तै भएन । घर आइपुग्दा झमक्कै साँझ परिसकेको थियो । सबैको घरमा सेलको मगमग बास्ना आइरहेथ्यो । सुनैना आफ्नो घरमा पनि सेल पाक्यो होला भन्ने ठान्दै फर्केकी थिइन् । तर आमा त सन्चो नभएकाले बल्लतल्ल लक्ष्मीपूजाका लागि फूल टिपेर माला गाँस्दै हुनुहुँदो रहेछ ।

‘ला...।’ उनले आमाले अघि भनेको कुरा सम्झिइन् । खेल्ने धुनमा आमाका कुरा भुसुक्कै बिर्सिछु भन्ने उनले बल्ल पत्तो पाइन् । ‘सरी आमा,’ उनको मुखबाट अचानक निस्कियो । बजार जानुभएको बाबा पनि आउनुभयो । बाबा–छोरी भएर लक्ष्मीपूजाको तयारी गर्नुभयो ।सुनैनालाई आफूले आमाको कुरा वास्ता नगरेकोमा साह्रै दिक्क लाग्यो । आमाले उनको अनुहारबाटै सबै कुरा बुझिसक्नुभएको थियो । तैपनि केही बोल्नुभएन । लक्ष्मीपूजाका लागि आमाले सेल पकाउन भ्याउनुभएन । बाबाले मिठाई र फलफूल चढाएर लक्ष्मीपूजा गर्नुभयो । जहिले पनि लक्ष्मीपूजाको दिन आमाले सेलरोटी पकाउनुहुन्थ्यो । माला गाँसेर झयालढोकामा लगाइन्थ्यो । सुनैनालाई लाग्यो, ‘आहा, कति रमाइलो हुन्थ्यो । तर आमा एक दिन बिरामी पर्दा यस्तो हुँदो रैछ । मैले आमालाई आज थोरै खेलेर सघाएको भए पनि हुन्थ्यो नि । पोहोर साल त भैलिनी खेल्न पनि जान पाइनँ ।’ निकै बेर उनको मनमा यस्तै सोचाइहरू आइरहे । अनि अन्त्यमा उनले मनमनै एउटा वाचा गरिन्, ‘अबदेखि म आमाले भनेको सधैं मान्छु ।’

‘के भयो सुनी ? किन टोलाकी ?’ आमाले सुनैनालाई झकझक्याउँदै भन्नुभयो, ‘माला गाँस्ने भनेकी हैन ? ल ल बनाऊ चाँडो, मैले त सेलरोटीको पिठो बनाइसकेँ त ।’ ‘केही होइन आमा’ भन्दै सुनैना सियो धागो लिएर माला गाँस्न थालिन् । आमाले सेल पकाउन थाल्नुभयो । छोरीले धमाधम काम सघाएको देखेर बाबा पनि खुसी हुनुभयो । छोरीले गाँसेका मालाहरूलाई बाबाले झ×यालढोकामा लगाइदिनुभयो । ‘घरै उज्यालो भयो, सुनीले उनेको माला भएर होला,’ बाबाले प्रशंसा गर्नुभयो । त्यो सुनेर सुनैनालाई औधि खुसी लाग्यो । आमाबाबाले लक्ष्मीपूजा गर्नुभयो । यतिन्जेलमा सुजिता, शाश्वती, सुषमा, कल्पना, रिता तयार भएर भैलिनीका लागि आइपुगे । सुनैना परीजस्तै भएर बाहिर निस्किइन् । सबै भएर भैली खेल्न गाउँतिर निस्के । एकैछिनमा परबाट सुरिलो स्वर सुनिन थाल्यो– ‘भैलिनी आइन् आँगन.... बडारीकुडारी राखन...।’

Yamaha

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तिहारको पैलो टीका

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — साना साना दिदी भाइ, मीठो कुरा गर्छन्,तोते बोली गीत गाउँदै, अघिअघि सर्छन्  । म्वाइँ खाँदै माया गर्छन्, मीठो पापा खान्छन्,थरीथरी खेलौंना लि, बगैंचामा जान्छन्  ।

लुकामारी खेल्छन् कैले, डर केही हुन्न,
रमाई रमाई बस्छन् सधैं, जाडोले त छुन्न ।

तिहारको पैलो टीका, कति राम्रो होला,
सप्तरङ्गी टीका लाउँदा, मन खुसी होला ।
दिदी भाइको गफ मीठो, सुनूँ सुनूँ लाग्छ,
खुसी हुँदै चरी नाच्दा, चिन्ता सबै भाग्छ ।

साना साना दिदी भाइ, मीठो कुरा गर्छन्,
तोते बोली गीत गाउँदै, अघिअघि सर्छन् ।

डा. मुकुन्द पथिक

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT