मचा सिरपा !

काठमाडौँ — नर्सरीदेखि कक्षा ५ सम्म पढ्दै गरेका बीसजना साना साथीले पुरस्कार जिते । प्रत्येकले पाँच–पाँच हजार रुपैयाँ, प्रमाणपत्र र उपहार पाए । जनकवि दुर्गालाल श्रेष्ठको हातबाट पालैपालो पुरस्कार थापे । फोटो खिचाए । हलभरिका सबैले तररर ताली बजाए । कार्यक्रम काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा भएको थियो ।

मचा सिरपा !

पुरस्कार पाउनेमा छन्– नर्सरीमा पढ्ने न्हुजमान तुलाधर, आकांक्षा श्रेष्ठ र प्रशन्ना श्रेष्ठ । एलकेजीका सजोल राना, सजल महर्जन र साइरा राना मगर । यूकेजीका प्रणव चित्रकार, मेघना महर्जन र हान्सिका महर्जन । यी साथीहरूले नेपालभाषा (नेवा: भाषा) शुद्धसँग बोल्न जानेकाले पुरस्कार पाएका हुन् ।कक्षा १ का म्युनिख महर्जन र ओजसा महर्जन, कक्षा २ का सोजल बज्राचार्य र आयशा डंगोलले नेपालभाषा बोल्न र लेखिएका पढ्न सकेकाले पुरस्कार जितेका हुन् ।

कक्षा ३ का कृशला महर्जन र रुबि माली, कक्षा ४ का रोहन महर्जन र सिरपा बज्राचार्य, कक्षा ५ का प्रशान्त थोकर, गुञ्जन दुवाल र लुमन्ती देसारले बढी मिहिनेत गर्नुपरेको थियो । उनीहरूले नेपालभाषा बोल्न, पढ्न र लेख्न सकेकाले पुरस्कार पाएका हुन् । पुरस्कार पाउनमध्ये सजोल र साइरा मगर हुन् भने प्रशान्तचाहिँ तामाङ । सबै फरक फरक स्कुलका हुन् । काठमाडौंको विभिन्न ३२ स्कुलका ९५ साथीले प्रतिस्पर्धामा भाग लिएका थिए ।

पुरस्कार दिन ‘नेवा: बस्ती, नेवा: स्कुल अभियान’ र ‘ग्लोबल नेपा: नेटवर्क’ ले अक्षयकोष स्थापना गरेका छन् । ‘नेपालभाषा मचा सिरपा’ (नेपालभाषा बाल पुरस्कार) अक्षयकोष नामकरण गरिएको छ । नेटवर्कका आर्थिक संयोजक सुनीलकुमार शाक्यका अनुसार अक्षयकोषको राशि १८ लाख रुपैयाँ छ । यो रकम सामाजिक सञ्जाल फेसबुकमार्फत देशविदेशमा रहेका नेपालीबाट जुटाइएको हो ।

‘वयष्कका लागि थुप्रै पुरस्कारको व्यवस्था छ,’ अभियानका संयोजक दीपक तुलाधर भन्नुहुन्छ, ‘तर बालबालिकाका लागि खासै पुरस्कार छैन । मातृभाषा बोल्न, पढ्न र लेख्न सिकेका बच्चाका निम्ति यो पुरस्कार स्थापना गरिएको हो । यसले मातृभाषा पढाउने विद्यालय, अभिभावक र शिक्षक समुदायलाई थप हौसला मिल्नेछ भन्ने लागेको छ ।’ किन्डर गार्टेन स्कुल संगठन (युपेन) का अध्यक्ष बद्रीप्रसाद दाहालले बहुभाषिक मुलुक नेपालमा नयाँ पुस्तालाई आफ्नो मातृभाषाप्रति आकर्षित तुल्याउन र मातृभाषाको संरक्षणमा टेवा पुर्‍याउन यस्तो पहल गरिएको बताए ।


गणेश राई

प्रकाशित : मंसिर २, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?