१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रहर

कथा

काठमाडौँ — सूर्य विस्तारै उदाउँदै थियो । मिलन निद्रामा बर्बराइरहेको थियो । कोठाभरि किताबै किताब छरिएका थिए । बिदा सकिएर विद्यालय जाने दिन थियो । दिइएको गृहकार्य उसले कुनै पनि गरेको थिएन । ६:१३ भएपछि ऊ झल्यास्स बिउँझियो । मिलनले अचानक सम्झियो, ‘मैले त गृहकार्य सुरु गरेकै छैन । अब के गर्नू ?’ हतारहतार गणितको गृहकार्य अलिकति गर्‍यो र आधा कापी च्यात्यो ।

विद्यालयमा साथीले च्यातिदिएछ भन्छु भन्ने योजना बनायो ।नेपालीको गृहकार्य भने कथा लेख्ने थियो । उसले पोहोर सालको पुरानो कथा लेखेको पुस्तिका भेटायो र गुरुलाई देखाउन झोलामा हाल्यो । यति गरिसक्दा उसको स्कुल जाने समय भइसकेछ । ऊ हतारहतार पोसाक लगाएर विद्यालय गयो । साथीहरूसँग कुरा गर्न थाल्यो । उसलाई गृहकार्य नगरेकोमा कुनै द:ुख वा डर लागेको थिएन ।

पहिलो कक्षा सुरु भयो । अंग्रेजी पढाउने गुरु कक्षामा प्रवेश गर्नुभयो । उहाँले सबैभन्दा पहिला गृहकार्य माग्नुभयो । मिलनले भने खै कसले मेरो कापीमा मसी दलिदिएछ भनेर मसी दलिएको कापी गुरुलाई देखायो । त्यसरी नै गणित र सामाजिक विषयका गुरुहरूलाई पनि एउटा एउटा बहाना बनाएर ढाँट्यो उसको पहिलो दिनको कक्षा समाप्त भयो ।

दोस्रो, तेस्रो दिन गर्दै उसका दिनहरू यसरी नै बित्दै थिए । उसको पढाइ दिनदिनै बिग्रिएको देखेर उसलाई एक दिन प्रधानाध्यापकले बोलाउनुभयो र सोध्नुभयो, ‘के हो मिलन ? विज्ञानमा मात्र राम्रो भएर हुन्छ ? अरू विषय पढ्नु पर्दैन ? अन्तिम परीक्षामा अरू विषयमा फेल भइयो भने के गर्छौ तिमीले ?’ मिलन चुप लागेर बसिरह्यो । प्रधानाध्यापकले फेरि सोध्नुभयो, ‘तिम्रो भविष्यमा के बन्ने विचार छ ?’ त्यति बेला भने मिलनले जवाफ दिइहाल्यो, ‘म त पछि गएर ठूलो वैज्ञानिक बन्छु ।’ प्रधानाध्यापकले भन्नुभयो, ‘तिम्रो लक्ष्य निकै राम्रो रहेछ । तिमी विज्ञानमा त राम्रो छँदै छौ । अब अरू विषयमा पनि विज्ञान विषयमा जस्तै लगाव राखेर पढ्ने गर अनि मात्र वैज्ञानिक बन्न सकिन्छ ।’

यति भनेर प्रध्यानाध्पकले मिलनलाई आफ्नो कक्षामा पठाइदिनुभयो । त्यस दिनदेखि मिलनले अरू विषयलाई पनि निकै मिहिनेत गरेर त पढेन तर गृहकार्य भने गर्न थाल्यो । उसको सोचाइ अन्तिम परीक्षामा भने राम्ररी उत्तीर्ण गर्ने थियो ।

केही समयपछि सधैंझैं मिलन विद्यालय जानका लागि घरबाट निस्कियो । बाटामा एउटा कुकुरले बेस्सरी भुइँ खनिरहेको देख्यो । एकछिन मिलनले त्यो कार्य निहालिरह्यो । केही समयपछि त्यो कुकुर त्यहाँबाट आफ्नो बाटो गयो । मिलनलाई खुल्दुली भयो । त्यहाँ के हरेछ भनेर हेर्न गयो उसले त्यहाँ पुरानो झोला देख्यो । त्यो झोलाको धुलो टक्टक्याएर हतारहतार आफ्नो घरमा राखेर ऊ विद्यालय गयो ।

मिलनले त्यो झोलामा के छ भनेर हेरेको थिएन । उसलाई कौतूहल लागिरहेको थियो । कति बेला बिदा हुन्छ र घर गएर झोला हेरौं ।’ ऊ बिदा हुनासाथ आमाले त्यो झोला हेर्नुभयो कि फ्याँकिदिनुभयो होला भन्दै हतारहतार घरतर्फ लाग्यो । घर पुग्दा उसकी आमा मामाघर जानुभएको रहेछ । मिलनले त्यो झोला खोल्यो । त्यहाँ त उसले एउटा सानो सिक्री भेट्टायो । उसले आफ्नो हातमा लिएपछि एउटा हेलोग्राम देख्यो । त्यो हेलोग्राममा त उसले आफ्नो हजुरबाको चित्र देख्यो । त्यसचित्रबाट अचानक आवाज आउन थाल्यो, ‘मैले आज क्यान्सर निको पार्ने औषधि पत्ता लगाएको छु । त्यो औषधिले जस्तो क्यान्सर पनि निको पार्छ । मेरो साथीले मलाई मारेर यो मैले बनाएको भन्दै हिँड्न सक्छ तर त्यो औषधि मैले पत्ता लगाएको हुँ । जसलाई मैले यस सिसामा राखिदिएको छु ।’ यति भन्दै हेलोग्राम रोकियो ।

मिलन छक्क पर्‍यो । उसलाई आफ्नो हजुरबा पनि वैज्ञानिक हुनुहुन्छ भन्ने थाहा थिएन तर आमालाई सोधेपछि उसले त्यो कुरा थाहा पायो । उसले आफ्नो हजुरबाको सपना साकार पार्ने अठोट लियो । उसले त्यो सिसाको औषधि लिएर क्यान्सरका बिरामी भएको ठाउँमा जाने निर्णय गर्‍यो । करिब १ वर्षपछि विद्यालयको पढाइ सकाएर ऊ त्यो औषधि लिएर अलिक टाढाको गाउँमा गयो र अन्तिम चरणमा पुगिसकेको क्यान्सर रोगी फेला पार्‍यो । उसले ती क्यान्सर रोगीका परिवारसँग अनुमति लिएर रोगको उपचार गर्न थाल्यो । नभन्दै त्यो औषधि खान थालेपछि बिरामीको पीडा अलिक कम भएको महसुस हुन थाल्यो ।

एक बोतल औषधिले मात्र त यो दुनियाँमा केही पनि हुनेवाला थिएन । त्यसैले ऊ यो औषधि कसरी बनाएको रहेछ भन्ने खोजीका लागि निस्कियो । आफ्ना परिवारसँग सल्लाह गरेर ऊ एक महिनामा लागि खोजअनुसन्धानमा निस्कियो । लामो समयपछि उसले त्यो औषधिका लागि आवश्यक तत्त्व पत्ता लगायो ।

मिलनलाई आफ्नो रुचि र हजुरबाको प्रेरणाले आफ्नो लक्ष्यमा पुग्न अझै प्रेरित गर्‍यो । उसले विद्यालयमा मन लगाएर पढ्यो । उच्च शिक्षामा पनि उसले विज्ञान संकाय पढ्यो । स्नातक तहसम्म पुगेपछि उसले पढाइसँगै खोज अनुसन्धान र प्रयोगात्मक कार्यमा अझै बढी ध्यान दिन थाल्यो । आखिर ऊ प्रख्यात वैज्ञानिक बन्न सफल भयो ।

उसले वैज्ञानिक भएपछि कमाएको पैसाले विद्यालय खोल्यो । त्यस विद्यालयमा कक्षा ५ सम्म मात्र सबै विषय अनिवार्य पढ्नुपर्ने थियो र कक्षा ६ देखि आफ्नो रुचि र लक्ष्यअनुसारको विषय पढ्न पाइने थियो । प्राय: सबै विद्यार्थीले कक्षा ५ उत्तीर्ण गरेपछि यस विद्यालयमा पढ्न रहर गर्न थाले । यसरी मिलनले आफ्नो वैज्ञानिक बन्ने रहर मात्र पूरा गरेन, उसले विद्यालय खोलेर धेरै मानिसलाई आफ्नो रुचिको विषय पढेर लक्ष्य निर्धारण गर्ने रहर पनि पूरा गरिदियो ।

-सिद्धार्थ तिम्सिना, कक्षा–९

अक्षरा स्कुल, काँडाघारी, काठमाडौं

प्रकाशित : मंसिर २, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?