कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हंसिकाको नाच

कथा

काठमाडौँ — शान्ति वनमा आज निकै चहलपहल थियो । लाग्थ्यो, यहाँ आज कुनै ठूलो प्रतियोगिता हुन लागिरहेको छ । आज कसैलाई कतै जान हतार थिएन । सबै जनावरहरू आआफ्नै धुनमा थिए ।

हंसिकाको नाच

‘सुन्नुहोस्, सुन्नुहोस्, सुन्नुहोस् अनि सबै यतातिर आउनुहोस्’ भन्ने आवाज अचानक त्यहाँ गुन्जियो । सबै जनावरहरू आवाज आएतिर गए । सबैले दायाँबायाँ हेरे तर त्यहाँ कोही पनि देखेनन् । ‘साथीहरू तपाईंहरू नआत्तिनुस्, म तपाईंहरूको नजिकै आउँदै छु’ भनेर मोटे भालु सबैलाई पन्छाउँदै अगाडि आयो ।

‘मेरो तर्फबाट सबैलाई नमस्कार है,’ मोटेले ठूलो स्वरले भन्यो । सबैले ‘नमस्कार’ भने । उसले सबैतिर हेरेर भन्यो, ‘आदरणीय महानुभावहरू, आजको यस कार्यक्रममा मलाई कार्यक्रम सञ्चालन गर्न दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।’ यति भनेर उसले माथि सूर्यतिर हेर्‍यो, टाउकोमा राखेको कालो चस्मा टक्क पारेर आँखामा लगायो अनि मुसुक्क हाँस्यो । उसको चर्तिकला देखेर सबै जनावरहरू हाँस्न थाले । मोटेले आज हुने कार्यक्रमको बेलीविस्तार लगायो । उसले कुन कुन जनावरहरूले के केमा भाग लिएका छन् र ती को को हुन् भनेर नाम लिँदै गयो । अन्तिममा उसले अलि ठट्यौली पाराले भन्यो, ‘आजको सबैभन्दा विशेष भनेको हंसिकाको नाच हो, त्यसैले धैर्य गरेर सबै बसिदिनुहोला ।’

हंसिकाको नाच !! सबै जनावरहरूले मुखामुख गरे । सबैको नजरले हंसिकालाई खोजिरहेको थियो तर अहँ कसैले पनि हंसिकालाई देखेनन् ।

एकैछिनमा कार्यक्रम सुरु भयो । टिंगु भ्यागुताले गितार बजाएर ट्वारट्वार गर्दै र्‍याप गीत गायो । उसको गीत सुनेर बूढाबूढीले नाक खुम्च्याए भने तन्नेरीहरू रमाएर नाच्न थाले । पुन्टु बाँदरले कसरत गरेर देखायो । सबैले पर्रर ताली बजाए । काली कोइलीले मीठो स्वरमा गीत गाई । उसको गीत सुनेर सबै मन्त्रमुग्ध भए ।

यता सबै जनावरहरू कार्यक्रमका प्रस्तुति हेरेर रमाइरहेका थिए । तर अलि पर बसेकी हंसिका हाँसको भने मुटु ढुकढुक भइरहेको थियो । डरले गाला रातो भएको थियो । उसलाई समय नबिते पनि हुन्थ्योजस्तो भइरहेको थियो । उसले आफू नजिकै बसेकी बहिनीलाई हेरेर आँखा तरी । हंसिकाले नचाहे पनि उसको नाच देखाउने पालो आयो । मोटेले अगाडि आएर हाँसेर भन्यो, ‘महानुभावहरू, अब तपाईंहरू पोखरीको किनारामा मिलेर बस्नुहोस्, हंसिकाले आफ्नो नाच देखाउँदै छिन् ।

सबै जनावरहरू उत्सुकताका साथ पोखरीको वरिपरि बसे । हंसिकाले बहिनीको हात च्याप्प समाई । उसले आत्तिएर भनी, ‘सबैको अगाडि आफ्नो नाच देखाउन सक्दिनँ भन्ने कुरा थाहा हँ‘ुदाहुँदै पनि तिमीले मलाई थाहा नै नदिईकन आजको कार्यक्रममा मेरो नाम किन दिएको ?’ बहिनीले उसलाई सम्झाउँदै भनी, ‘हेर, दिदी तिमी कति राम्रो नाच्छौ भन्ने मलाई थाहा छ, तिमी यो पोखरीमा धेरैपटक एक्लै रमाएर पानीमा नाचेकी छौ । जुन सबैले गर्न सक्दैनन् । अर्को कुरा तिमी धेरै लजालु छौ । कसैको अगाडि बोल्न र रमाउन सक्दिनौ । त्यसैले न तिम्रा कोही साथी छनन् नि ? तिमीलाई साथी बनाउन चाहन्छन्, सधंै एक्लै रमाएर मात्र हँ‘ुदैन । सबैसँग घुलमिल हुनुपर्छ । आफ्नो कला सबैलाई देखाउन सक्नु पर्दछ । तिमीभित्र पनि लुकेको कला छ भनेर आज यहाँ देखाइदेऊ । अनि यहाँ यति धेरै जनावरहरू छन् भन्ने नसोच । हिजो अस्ति जसरी तिमी एक्लै यहाँ आनन्दले नाच्थ्यौ आज त्यही सोचेर आफ्नो नाच देखाऊ । बहिनीको कुरा हंसिकाले ध्यानपूर्वक सुनिरही ।

यता मोटे भालुले हंसिकालाई बोलाइरहेको थियो । हंसिका झसङ्ग भई । अनि उसले विस्तारै आफ्नो पाइला अगाडि बढाई तर आज उसलाई नजिकको पोखरीमा जानको लागि पनि धेरै लामो बाटो लागिरहेको थियो । उसका पाइलाहरू लर्बराइरहेका थिए । उसले दाँयाबायाँ हेरी सबैले उसलाई नै हेरिरहेका थिए ।

उसको अनुहार झन कालो नीलो भयो । नजिकै बहिनी थिई । उसले बहिनीलाई हेरी । बहिनीले मुसुक्क हाँसेर जाऊ भनेर इसारा गरी ।हंसिका पानीमा गई तर उसका खुट्टाहरू थरथर गरी कामिरहेका थिए । उसका खुट्टाले पानीमा तैरन नसकेर ऊ पानीमा डुबी । उसको नाच हेर्न बसेका सबै जनावरहरू मरीमरी हाँस्न थाले ।

हंसिकाले बहिनीको कुरा सम्झी अनि विस्तारै पानीमा तैरिँदै नाच्न थाली । विस्तारै हंसिकाको लाजको पर्दा हट्दै गयो । ऊ एकदम रमाएर नाच्न थाली । पानीका छालसँगै उसले तालमा ताल मिलाएर नाची । अघिसम्म जो उसलाई देखेर हाँसिरहेका थिए अहिले सबैले एकै स्वरमा ताली बजाएर हंसिकालाई हौसला दिए । हिजोसम्म लजाएर कसैसँग दोहोरो कुरा नगर्ने हंसिकाले आज यति राम्रो नाचेको देखेर सबैले उसको खुलेर तारिफ गरे । एकछिनमा मोटे भालु प्रथम हुनेको नाम घोषणा गर्नका लागि अगाडि आयो । उसले भन्यो, ‘अघि मैले खिस्याएर जसको नाम लिएको थिएँ । तर म अहिले गर्वका साथ हंसिकाको नाम लिँदै उसलाई प्रथम घोषित गर्छु ।’ सबै जनावरहरूले खुसीले ताली बजाए । हंसिकाले लाज मानीमानी अगाडि आएर पुरस्कार लिई । अनि दौडिँदै गएर बहिनीलाई अँगालो हाली ।


सजनी नौबागे

प्रकाशित : मंसिर २, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?