चकलेट

कथा
जानुका खतिवडा

काठमाडौँ — स्कुल छुट्नासाथ उपासना र अग्रज गेटतिर दौडिए । हजुरआमा अघि नै आएर कुरिरहनुभएको रहेछ । दुवै नातिनातिना डोर्‍याउँदै उहाँ घरतिर फर्किनुभयो । घर पुगेपछि हातगोडा धोएर उनीहरूले खाजा खाए अनि केही बेर खेल्न थाले ।

‘दिदी मामाले पठाइदिनुभएको चकलेट कस्तो मीठो थियो नि ?’ खेलौना गाडी भुइँमा गुडाउँदै अग्रजले भने । उपासना गुडियाको लुगा मिलाउँदै थिइन् । भाइतिर उनले ध्यान दिइनन् ।

‘मलाई कस्तो चकलेट खान मन लाग्यो दिदी,’ अग्रज उठेर दिदीका नजिकै आए ।‘हजुरआमाले भर्खरै पेटभरि खाजा खुवाउनुभएको होइन ?’ अझै पनि भाइतिर नहेरी उपासनाले भनिन् ।‘तर चकलेट दिनुभएन नि ।’‘सकियो होला ।’

‘कहाँ सकिनु त्यत्रो एक बट्टा चकलेट ?’ अग्रजले दिदीलाई सम्झाए । धेरै चकलेट खानु हुन्न भनेर आमाले दुई/दुईवटा उनीहरूलाई दिएपछि बााकी चकलेट त बट्टामै राख्नुभएको थियो । उपासनाको मन पनि लोभियो ।दुवै दिदीभाइ खेल्न छोडेर भान्सातिर लागे । दराजको खापा उघारेर खोजे । र्‍याकमा लस्करै मिलाएका बट्टा खोलेर खोजे । बट्टा खोल्दा हर्रर मसलाको बासना चल्यो तर चकलेट भेटिएन । अग्रजले रुन्चे मुख लगाएर शंकालु आँखाले दिदीतिर हेरे, ‘मलाई नदिई सप्पै चकलेट तिमीले मात्र खायौ ?’
‘कहाँ मैले खानु ? बरु मलाई नदिईतिमीले पो खायौ कि ?’ उपासनाले पनि भाइलाई सोधिन् ।

तर चकलेट त दुवैले खाएकै थिएनन् ।‘मुसाले लग्यो कि ?’ शंका लागेर दुवैले डाइनिङ टेबलको मुनि खोजे । ढोकाको कुनामा पनि खाजे । चकलेटको बट्टा फेला परेन । फर्किन लागेका बेलामा अग्रजका आँखा दराजमाथि पुगेछन् । चकलेटको बट्टा त्यहाा देखेर दुवैको मुख रसाएर आयो ।

उपासनाले लम्केर चकलेट झिक्न खोजिन् तर उनी दराजको आधासम्म पनि पुग्न सकिनन् । अग्रज त झन् सानै थिए । उनीहरूले कुचो टिपेर दराजमाथि रहेको बट्टा तान्न खोजे तर त्यो भेटिएन ।

‘अब के गर्ने ?’ अलमल्ल परेर दुवैले एक अर्कालाई हेरे । केही बेर सोचेपछि एउटा जुक्ति आयो । दुवैले मिलेर एउटा कुर्सी उचालेर दराजको नजिकै ल्याए । उपासना कुर्सीमाथि चढिन् । ‘म चकलेटको बट्टा बिस्तारै झार्छु तिमी समात है,’ उपासनाले कऽचोले धकेल्दै अघिअघि सारेर चकलेटको बट्टा दराजको डिलसम्म ल्याइपुर्‍याइन् । अग्रजचाहिँ दुवै हात थापेर बट्टा समात्न तयार बसेका थिए ।
कुचोले घचेट्दा चकलेटको बट्टा त खस्यो तर त्यसले सागै राखेको अचारको सिसीलाई पनि धक्का दिएछ । सिसी भुइँमा झरेर झर्‍यामझुरुम फुट्यो ।

उपासना हत्तपत्त तल झरिन् । दुवै चकलेटको बट्टा लिएर बैठक कोठातिर दौडिए । हतारमा उनीहरूले कुचो र कुर्सी थन्काउन भ्याएनन् । फुटेको सिसी पनि भुइँमै त्यत्तिकै थियो । दुबैले बट्टा खोलेर एक एकवटा चकलेट झिकेर मुखमा हालेका मात्रै थिए, माथि कौशीबाट कोही तल ओर्लिएको आवाज आइहाल्यो । हत्तपत्त उपासनाले चकलेटको बट्टा सोफाको पछाडि लुकाइन् । अग्रजले टीभी खोले । हजुरआमा तल आउँदा दुवै ज्ञानी भएर टीभी हेर्दै बसेका थिए ।

‘आधा घण्टा मात्रै हेर्ने नि टीभी, अनि होमवर्क गर्नुपर्छ,’ हजऽरआमाले दऽवैलाई सम्झाउनुभयो । दुवै दिदीभाइले मुख नखोली टाउको मात्र हल्लाएर ‘हस्’ भने । हजुरआमा भान्सातिर जानुभयो । दुवैको मुटु बेस्सरी ढुकढुक भयो ।

हजुरआमा भान्सामापुग्नेबित्तिकै फर्किनुभयो ।
‘कसले फुटायो हा अचारको सिसी ?’
‘थाहा छैन आमा,’ अग्रजले टीभीमै
आँखा टाँसेर जवाफ दिए । ‘भर्खरै एउटा
बिरालो भान्सातिर पसेको थियो,’ उपासनाले डराउँदै भनिन् ।
‘कस्तो बिरालो पसेछ त ,’ हजऽरआमा हाँस्दै आएर अग्रजका छेउमा बस्नुभयो । सधौ हजुरआमाको काखमै बस्ने उनी डराएर अलिकति पर्तिर सरे ।
‘बिरालो पसेकै हो त बाबु ?’ हजुरआमाले अग्रजलाई तानेर आफ्नो काखमा बसाउनुभयो ।
‘हो आमा अघि पसेको थियो नि ।’
‘चकलेटको बट्टाचाहिा कसरी झिक्यो होला त बिरालोले ?’ हजुरामाले केही सोचेझैं गर्नुभयो ।‘एउटा कुर्सी तानेर दराजनेर ल्यायो होला अनि त्यसमाथि चढेर कुचोले धकेलेर निकाल्यो होला नि आमा,’ अग्रजले जवाफ दिए ।‘ओहो ! कति बाठो बिरालो रहेछ । अब देख्यौ भने मागेको भए त म दिइहाल्थें चोरी गर्नु पर्दैनथ्यो भन्नु है त्यो बिरालोलाई ।’

हजुरआमाले उपासनातिर हेरेर भन्नुभयो, ‘गलत काम गर्दा कसैले नदेखे पनि आफ्नो मनले देखिरहेको हुन्छ । अरूलाई ढाँट्न सकिन्छ तर आफूलाई ढाँट्न कहिल्यै सकिँदैन । त्यसैले झूट बोल्नु हुँदैन ।’ हजुरआमाको कुराले उपासनालाई नरमाइलो लाग्यो । उनले टीभी बन्द गरिन् अनि हजुरआमाको छेउमा आएर उहाँसँगै टाँसिएर बसिन् ।‘सरी आमा, चकलेट मैले निकालेको हो । कुचोले बट्टा धकेल्दा अचारको सिसी पनि झरेर फुट्यो ।’ उनका आँखामा आँसु भरिएर गालातिर झर्‍यो ।

‘आमा मैले नै दिदीलाई चकलेट खाने भनेको थिएँ । हामी दुवै जनाले मिलेर निकालेको हो,’ अग्रजले पनि हजऽरआमालाई अँगालो मार्दै अँध्यारो मुख लगाएर भने । उपासनाले सोफाको पछाडि लुकाएको चकलेटको बट्टा हजुरआमाको हातमा दिइन् अनि अबदेखि यस्तो गल्ती नगर्ने वाचा पनि गरिन् । अग्रजले पनि दिदीकाकुरामा सही थपे । दुवैले साँचो कुराबताएकाले हजुरआमा खुसी हुनुभएको थियो । उहाँले एक/एकवटा चकलेट निकालेर दुवैका हातमा राखिदिनुभयो ।

प्रकाशित : मंसिर १६, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

लिटल टयालेन्ट

राजाराम पौडेल

काठमाडौँ — हरेक बालबालिकासँग फरक प्रतिभा हुने गर्छ । अवसर पाए उनीहरूको प्रतिभा प्रकट हुन्छ । अवसर नहँ‘दा प्रतिभावान् बालबालिकाले पनि आफ्नो क्षमता देखाउन सकिरहेका हुन्नन् ।

यही तथ्यलाई ख्याल राख्दै पोखरमा लिटल मेगा टयालेन्ट कन्टेस्ट २०७५ आयोजना भएको छ । प्रतियोगितामा ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिका सहभागी भए । अडिसनमा सहभागी ५० जनामध्ये २० जनालाई छानेर एक महिना तालिम दिइएको थियो । तालिमपछि हालै फाइनल प्रतियोगिता भएको हो । फाइनल प्रतिस्पर्धामा प्रतियोगीहरूले चित्रकला, नृत्य र गायन विधामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगिताको निर्णायकमा फेसन कोरियोग्राफर आर्यन कुँवर, संगीतकार नरेश गुरुङ, कलाकार सुदिन श्रेष्ठ, नृत्य कोरियोग्राफर निरज राई भाट थिए । उनीहरूले प्रतियोगीका हरेक गतिविधि नियाल्दै विजेता छनोट गरेका थिए ।

प्रतियोगिताअन्तर्गत आर्टतर्फको उपाधि नागढुंगा पोखराका निश्चल थापाले जिते । ११ वर्षीय निश्चल कक्षा ५ मा अध्ययनरत छन् । उनलाई चित्र बनाउन र गीत गाउनमा रुचि छ । नृत्यतर्फको उपाधि बीपी मार्ग चाउथे पोखराकी निलिशा गुरुङको पोल्टामा पर्‍यो । ७ वर्षीय उनी २ कक्षामा अध्ययनरत छिन् । भविष्यमा गएर सफल डान्सर बन्ने उनले बताइन् । नृत्यसँगै आर्टमा समेत उनको रुचि छ । गायनतर्फ लामाचौरका सुमित नेपालीले बाजी मारे । ११ वर्षीय सुमित ६ कक्षामा पढ्छन् । गायन क्षेत्रमा अगाडि बढ्ने लक्ष्य लिएका उनको नृत्यतर्फ समेत रुचि छ । सारेगम इन्टरटेन्मेन्ट हाउसले पोखराको आयोजनामा भएको प्रतियोगितामा भ्युअर च्वाइसको
पुरस्कार पृथ्वीचोकका मिराज पुरीले जिते । गायक बन्ने सपना बुनेका १३ वर्षीय उनी ६ कक्षामा पढ्छन् । उनी संगीत पनि सिक्दै छन् ।

विजेतालाई विश्वका कान्छा ड्रमरको रूपमा रेर्कड राख्न सफल उत्प्रेम जोजिजुले पुरस्कार वितरण गरेका थिए । विजेतालाई ट्रफी, गिफ्ट हयाम्पर र प्रमाणपत्र प्रदान गरियो । बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको सारेगम इन्टरटेन्मेन्ट हाउसका व्यवस्थापक सुशील नेपालीले जनाए ।

प्रकाशित : मंसिर १६, २०७५ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्