हाम्रो घरको सुरी !

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — खुट्टा उचालेर चढ्छ धुरी धुरीहेर बाबु हेर, हाम्रो घरको सुरी !

ठ्याक्कै बाघका जस्ता लगाएर लुगा
सातो लिन खोज्छ ठड्याएर जुँगा

Citizen

जिउ मर्काएर गर्छ चुरीफुरी
हेर नानी हेर, हाम्रो घरको सुरी!
मुसा खाने दाउमा भाँडारतिर ढुक्छ
कुकुर देख्नै हुन्न कुना खोज्दै लुक्छ
डरै नमानेर हेर्छ घुरी घुरी
हेर भाइ हेर, हाम्रो घरको सुरी!
बसी बसी खाने लोभी, अल्छी, लाछी
कराई चाट्न खोज्ने यै हो दूधको साक्षी
लाजै पचाएर बस्छ भान्सा कुरी
हेर बैनी हेर, हाम्रो घरको सुरी!

रमेशचन्द्र घिमिरे

प्रकाशित : मंसिर १६, २०७५ १०:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साथीसँग घुम्दा...

अनुभूति
कान्तिपुर संवाददाता

काठमाडौँ — परिवारभन्दा बाहिरका साथीसँग म घुम्न गएकी थिइनँ । एसओएस स्कुलबाट कक्षा ९ मा पढ्ने विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि पोखरा, लुम्बिनी, सौराहालगायत ठाउँमा जाने निर्णय भयो ।

यस्तो अवसर पाउँदा एकदमै उत्साहित थिएँ ।यात्राका लागि चाहिने सामग्री तयार पारेर घरबाट हिँडेँ । यात्रामा हामी ४१ विद्यार्थी साथी र तीन जना शिक्षकशिक्षिका हुनुहुन्थ्यो । हामी करिब ७ बज्दा थानकोट पुगिसकेका थियौँ । बाटामा हामी गाउँदै, नाच्दै र रमाउँदै अघिबढ्यौँ । हामी ३ बजे गोर्खा पुग्यौँ ।

गोर्खामा संग्रहालयको अवलोकन गर्ने मौका पायौँ । विशेष गरेर नेपालको एकीकरण ताका प्रयोग भएका खुकुरी, भाला र अरू हतियार देख्यौं । त्यसपछि गोर्खा दरबार गयौँ । गोर्खा घुमेपछि हामी पोखरातिर लाग्यौं । पोखरामा पुगेर बास बस्यौँ । बिहानै चाँडै उठेर साराङकोट गयौँ । त्यहाँबाट सूर्योदयको दृश्य पनि अवलोकन गर्ने मौका पायौँ ।

त्यसपछि फेवातालमा डुंगा चढ्यौं । चमेरे गुफा, महेन्द्र गुफा, डेबिट फल्स, पताले गुफाको अवलोकन गर्‍यौं । त्यहाँका गुफा घुम्दा मलाई निकै रमाइलो र चुनौतीपूर्ण लाग्यो । फेवातालमा धेरै रमाइलो गरियो । त्यहाँ हजारौं पर्यटक पनि रमाइरहेका थिए । त्यसबेला मलाई आफू नेपाली हुनुको गर्वबोध भयो । अर्को दिन हाम्रो यात्रा पाल्पातिर मोडियो । हामी बाटाका अनेक मनोरम दृश्य देखेर निकै रमाएका थियौं ।

पाल्पामा हामीले ठूलो करुवा भएको ठाउँमा तस्बिर खिच्यौं । त्यसपछि पाल्पा दरबार गयौं । त्यहाँ पाल्पाली ढाकाको अवलोक गर्‍यौं । भोलिपल्ट हामी लुम्बिनी गर्‍यौं । भगवान् गौतमबुद्धको जन्मस्थल पुग्दा रमाइलो लाग्यो । लुम्बिनीस्थित एसओएस पनि गयौं । त्यहाँ पुग्दा आफू पनि एसओएसको एक हिंस्सा भएको महसुस भयो । त्यहाँका गुम्बाको अवलोकन गर्दा असाध्यै खुसी लाग्यो । मैले पाठयपुस्तकमा मात्र पढेको, सुनेको मायादेवीको मन्दिर प्रत्यक्ष देख्न पाउँदा दंग भयौं । त्यसपछि हामी सीजी धाम पनि गयौं । केही फोटो खिच्यौं ।

लुम्बिनी अवलोकनपछि हामी चितवन आएर बास बस्यौं । त्यहाँ हामीले थारूनृत्य र थारू संस्कृतिबारे बुझ्ने मौका पायौं । भोलिपल्ट बिहान हात्ती चढ्यौं । हामीले गैंडा पनि देख्यौं । हात्ती सयर गर्‍यौं । हामीले चढेको हात्तीको नाम एलिसा कली रहेछ । हामीले धेरै
जंगली जनवारलाई नजिकबाट अवलोकन गर्ने मौका पायौं ।चितवनबाट हाम्रो यात्रा काठमाडौंतिर मोडियो । फर्कने क्रममा बाटोमा साथीहरूसँग हाँस्दै, रमाउँदै र नाच्दै मनोरञ्जन गर्‍यौं । यसरी हाम्रो शैक्षिक भ्रमण निकै रमाइलो र अविस्मरणीय रहयो ।

-अदिति आचार्य, कक्षा–९
एसओएस हर्मन माइनर स्कुल, काभ्रे

प्रकाशित : मंसिर १६, २०७५ १०:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT