फुच्चे ह्वेल

देवकी केसी

काठमाडौँ — आमा ब्लु ह्वेल माया गरेर आफ्नो बच्चालाई फुच्चे भनेर बोलाउने गर्थिन् । फुच्चे ब्लु ह्वेल निकै राम्रो र चञ्चले स्वभावको थियो । ऊ पनि आफ्नो आमालाई निकै माया गर्दथ्यो । उसलाई समुद्रको परसम्म जान मन लागिरहेको थियो ।

तर आमाले उसलाई सम्झाउने गर्थिन्– ‘तिमी एक्लै समुद्रको टाढासम्म नजाऊ, तिमी सानो छौ । दुश्मनहरूले सजिलै हमला गर्न सक्छन् ।’ एक दिन फुच्चे आमाको आँखा छलेर समुद्रको टाढा–टाढासम्म पौडिँदै गयो । उसलाई यसरी एक्लै समुद्रमा यात्रा गर्न पाउँदा निकै रमाइलो लागेको थियो । उसले समुद्रमा लेउ, साना–साना माछाहरू, शंखेकीरा, स्कुइडहरू देख्यो । समुद्रमा एक्लै यात्रा गर्दा र त्यहाँ अनेकौं जीवजनावर देखेर फुच्चेलाई निकै अनौठो र रमाइलो लागिरहेको थियो ।

Yamaha

यात्राको रमाइलोमा भुलेर उसले आफ्नी आमालाई पनि बिर्सियो । समुद्रमा निकै पर पुगेपछि फुच्चेलाई भोक र थकाइ लाग्यो । निकै पर केही चिनजान नभएका ठाउँमा पुगेपछि फुच्चेलाई निकै डर लाग्यो । उसले आमाले भनेका कुरा बल्ल सम्झियो । थकाइ र भोकले गलेको फुच्चेलाई आमा सम्झेर रून मन लाग्यो । अनि ऊ बिस्तारै आफ्नो आमा भएतिर आउन थाल्यो । फुच्चेलाई नदेखेर आमा ब्लु ह्वेलले यताउता सोधखोज गरिन् । कतैबाट पनि उसको पत्तो लागेन । आमाको मनमा अनेकांै शंका उब्जिए । चिन्ता पनि लाग्यो । उनले ठानिन्, ‘हामी जलमा रहने सबैभन्दा ठूला जनावर हौँ । हाम्रो गिदी नै मानिसको भन्दा पाँच गुणा बढी हुन्छ । हामी ह्वेल जाति गोरिल्ला, चिम्पान्जी मान्छेभन्दा पनि बुद्धिजीवी छौं । हाम्रो शरीरको जिब्रो नै हात्तीको तौलभन्दा बढी हुन्छ । हाम्रो सिंगो शरीर मान्छेको शरीरभन्दा कैयौं गुणा शक्तिशाली भए पनि मान्छेले झुक्याएर हामीलाई सिकार गर्छन् । कतै मेरो फुच्चेलाई पनि मान्छेले सिकार त गरेनन् ?’ आमा ब्लु ह्वेलको मनमा चिन्ताले छटपटी भयो । उनी मलिन अनुहार पारेर फुच्चेकै चिन्ता गर्दै थिइन् ।

समुद्रमा धेरै टाढासम्म पुगेपछि भोक, थकाइ र आमाको यादले फुच्चेलाई सतायो । ऊ हतारिँदै आमाको नजिकै आयो । टाउकोमा रहेको श्वास फेर्ने प्वाल ब्लोहोल पानीको सतहमा निकालेर लामो श्वास फेर्‍यो । उसले सतहमाथि आफ्नो थुतुनो निकालेर फोक्सोको फोहोर हावा ब्लोहोलबाट बाहिर फालेर श्वास लिँदा पानीमा तुवाँलोझैं छुटयो । फुच्चेको चिन्ताले पिरोलिएकी आमा ब्लु ह्वेल फुच्चेलाई देखेर खुसी भइन् । उनको अनुहारमा खुसी देखियो । हत्तपत्त फुच्चेलाई समातेर उनले भनिन्, ‘तिमी कहाँ गएको फुच्चे ? म तिमीलाई नदेख्दा कति चिन्तित भएकी थिएँ ?’ आमालाई अँगालो हाल्दै फुच्चेले भन्यो, ‘आमा म समुद्रको परसम्म घुम्न गएको थिएँ । त्यहाँ मैले कति अनौठा जीव जनावरहरू देखेँ । कतिको त मलाई नामै थाहा भएन । धेरै पर पुगेपछि थकाइ र भोक लाग्यो । तपाईंको पनि सम्झना आयो अनि फर्केर आएको नि ।’ आमाको अनुहार मुसार्दै फुच्चेले भन्यो, ‘आमा तपाईं मेरो चिन्ता नगर्नुस् न ? आमा म ठूलो भइसकँे । म समुद्रमा जता पनि एक्लै जान सकिहाल्छु नि ।’ फुच्चेको गालामा म्वाइँ खाँदै ब्लु ह्वेलले भनिन्, ‘तिमी समुद्रमा एक्लै डुल्न सक्तैनौ भनेर होइन क्या । समुद्रभित्रका दुश्मन मात्र कहाँ हो र ? समुद्र बाहिरका दुश्मनले पनि दु:ख दिन सक्छन् भनेर मलाई पीर लाग्छ नि ?’

‘समुद्रभित्र र बाहिर को–को दुश्मन हुन सक्छन् र आमा हाम्रो ? तिनीहरूले हामीलाई किन दु:ख दिन्छन् र ? यति ठूलो समुद्रमा हामीहरू जहाँ पनि स्वतन्त्र रूपले डुल्न सक्तैनौ र ?’ फुच्चेले निकै उत्साहित हुँदै आमासँग सोध्यो । ‘समुद्रभित्र हामी मात्र होइन अन्य जीव जनावरहरू पनि हुन्छन् । तिनीहरूले पनि आक्रमण गर्न सक्छन् । समुद्रबाहिर मान्छेहरूले निर्माण गरेका छिटो चल्ने स्वचालित हतियार भएका डुंगाहरू र भालाहरूले हाम्रो सिकार गर्न थालेका छन् । हाम्रा लागि खतरा सावित भएका छन् मान्छेहरू । तिमी सानो छौ, जसले पनि हेप्न सक्छ त्यसैले तिमी अबदेखि आमालाई छाडेर एक्लै टाढा नजाऊ है,’ आमा ब्लु ह्वेलले फुच्चेलाई मायालु स्वरमा भनिन् । आमाको कुरा सुनेपछि अचम्म मान्दै फुच्चेले सोध्यो, ‘आमा हामी समुद्रमा बस्छौं । मान्छेहरू जमिनमा घर बनाएर बस्छन् । हामीले मान्छेको के बिगारिदिएका छौं र, मान्छेले हामीलाई मार्छन् ? फेरि तपाईंले मान्छेहरू सर्वश्रेष्ठ प्राणी भनेको होइन ? उनीहरूले किन हामीलाई दु:ख दिन्थे र ? अघि मैले समुद्रमा डुल्दा डुंगामा मान्छे चढेर रमाइलो मान्दै कराइरहेको देखेको थिएँ । तैपनि हामी मान्छेहरूभन्दा ठूला हुन्छौँ अनि कसरी मान्छेले हामीलाई मार्न सक्छन् त आमा ?’ ‘मान्ेछहरू साह्रै स्वार्थी हुन्छन् । हामी उनीहरूभन्दा ठूला भएर के गर्नु ? उनीहरूले निर्माण गरेका आधुनिक हतियारबाट बाँच्न कहाँ सजिलो छ र ? मान्छेहरू हाम्रो अंगहरूको व्यापार गर्न र हामीबाट तेल निकालेर बेच्न हाम्रो ज्यान नै लिन खोज्छन् । त्यसैले तिमी होसियार हुनुपर्छ,’ आमाले दु:खी हुँदै भनिन् ।

यी कुरा सुनेपछि फुच्चेले आमाको जिउँमा टाँसिएर भन्यो, ‘म तपाईं जत्रो ठूलो भएपछि हाम्रो सिकार गर्ने मान्छेलाई उफ्रेर तर्साउँछु है । तपार्इं चिन्ता नलिनु क्या !’ फुच्चे सुँक्कसुँक्क गर्दै आमाको जिउँमा टाँसिँदै आफूले समुद्रमा डुल्दा देखेको जीवहरूको नाउँ सम्झेजति भन्न थाल्यो– गँगटा, माछा, अक्टोपस इत्यादि । ‘मान्छेले बनाएको त्यस्तो डुंगा भत्काइदिन्छु,’ फुच्चेले रिसाउँदै भन्यो ।यति सानो फुच्चेले यस्तो ठूलो कुरा गरेको सुनेर आमाले खुसी हुँदै उसलाई सुमसुम्याइन् । आमा म पानीमा कति जोडले उफ्रन सक्छु हेर्नु है भन्दै फुच्चे जुरूक्क उफ्रयो । ऊ रमाई–रमाई छिटो–छिटो उफ्रने अभ्यास गर्दै थियो । आमा ब्लु ह्वेल आफ्नो प्यारो फुच्चेले पानीमा उफ्रने अभ्यास गरेको खुसी भएर हेरिरहिन् ।

प्रकाशित : मंसिर १६, २०७५ १०:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सानी परी, सानो बाबु

राजाराम पौडेल

काठमाडौँ — पोखरामा आयोजित १४ औं संस्करणको ‘सानी परी एन्ड सानो बाबु’ पोखरा अन्तर्गत सानो परी पोखराको उपाधि विन्ध्यावासिनी पोखराकी प्रार्थना रेग्मीले जितेकी छन् ।

मदरल्यान्ड मावि कक्षा ३ मा अध्ययनरत रेग्मीले उनी प्रतियोगितामा सहभागी ३७ जनामध्ये अब्बल बन्दै उपाधि हात पारेकी हुन् । भविष्यमा गएर के बन्ने भनेर निर्णय गरिनसकेको बताउने प्रार्थना बाबा ममीलाई सधैं खुसी राख्ने प्रण गर्छिन् । उनलाई नृत्य गर्न र नयाँ ठाउँ घुम्न रुचि छ ।

जित हाम्रो फाउन्डेसनले आयोजना गरेको सानो परीतर्फ फस्ट रनर्सअप अनुक्क्षा आचार्य, सेकेन्ड रनर्सअप सुविज्ञा पौडेल, थर्ड रनर्सअप दीप्ति रेग्मी, फोर्थ रनर्सअप साबेरा सुवेदी र फिफ्थ रनर्सअप आकृति पौडेल भए ।

पोखरा सभागृह हलमा भएको फाइनल प्रतियोगितामा सानो बाबु पोखरातर्फको उपाधि डेभिड थापाको पोल्टामा पर्‍यो । उनी सानो बाबुतर्फका १८ प्रतियोगीमध्ये अब्बल बन्दै उपाधि विजेता बनेका हुन् । एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुल कक्षा ३ मा अध्ययनरत ९ वर्षीय उनको भविष्यको लक्ष्य डाक्टर बन्ने हो । उनलाई नृत्यकला, बोल्ने कला र चित्रकलामा पनि रुचि छ ।
प्रतियोगितामा भाग लिएपछि आत्मविश्वास बढेको बताए ।

सानो बाबुतर्फ फस्ट रनर्सअप प्रतीक गुरुङ, सेकेन्ड रनर्सअप सम्बोधन कुँवर, थर्ड रनर्सअप अस्मित रेग्मी, फोर्थ रनर्सअप सक्सेस कुँवर, फिफ्थरनर्सअप मायंक लामा पाख्रिन बन्न सफल भए । सबै प्रतिस्पर्धी ७ देखि १२ वर्ष उमेरका थिए ।आफ्ना बाबु नानीले झन्डै एक महिनाको अवधिमा सिकेका कुरालाई सबैका अगाडि स्टेजमार्फत देखाउँदा अभिभावक खुसी देखिन्थे । प्रतियोगीले प्रस्ट रूपमा उत्तर दिन सक्ने, स्मार्ट वाक, बडी ल्यांग्वेज, साथीभाइसङग मेलमिलाप गर्ने र साथीका राम्रा कुरा सिक्ने अवसर प्राप्त गरे । गमला बनाउने, फूल बनाउने, कराते र योग सिक्ने अवसर पनि पाएका थिए ।पोखरामा सन् २००५ बाट सुरु भएको यो प्रतियोगितामा हालसम्म झन्डै ६ सय जनाले भाग लिइसकेको जित हाम्रो फाउन्डेसनका संस्थापक राजेशजोशीले बताए ।

प्रकाशित : मंसिर १६, २०७५ १०:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT