२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नो जंक

नवीन पौडेल

काठमाडौँ — स्कुल जाँदा खाजा के लान्छौ ? धेरैजसो साथी अभिभावकसँग पैसा माग्छन् र जे मीठो लाग्छ, त्यही किनेर खान्छन् । तर पसल वा क्यान्टिनमा पाइने अधिकांश मीठा खानेकुरा जंक फुड नै हुन्छन् । त्यसैले अधिकांश बालबालिका अचेल जंक फुडको आदतमा परेका छन् । 

नो जंक

पूर्वी नवलपरासीको देवचुली नगरपालिका ७ रामबासस्थित भीमसेन आदर्श माविका साथीहरूको अभ्यास भने फरक छ । उनीहरू सकेसम्म जंक फुड प्रयोग गर्दैनन् । अरूलाई पनि प्रयोग नगर्न सल्लाह दिन्छन् । अभिभावक र विद्यार्थीका लागि कसरी घरमै खाजा बनाउन सक्छन् भन्नेबारे जानकारी दिन उनीहरूको स्कुलले फुड फेस्टिभल नै आयोजना गरेको छ ।

‘अस्वस्थकर खानाको प्रयोग निषेध गरौं, दीर्घजीवनका लागि स्वस्थकर खाना प्रयोग गरौं’ भन्ने नाराका साथ तीनदिने फुड फेस्टिभल आयोजना गरिएको हो । फेस्टिभलको मुख्य उद्देश्य जंक फुड निषेध गर्नु नै हो । फेस्टिबल अवधिभर कोही सागसब्जी केलाउन व्यस्त देखिन्थे भने कोही पकाउन । केही मकै–भटमास भुट्न त कोही त्यसलाई पिसेर सातु बनाउन खटिएका थिए । कोहीचाहिँ फलफूललाई नै खाजाका रूपमा कसरी प्रयोग गर्ने भन्ने तरिका सहभागीलाई सिकाउँदै थिए । विद्यार्थीहरूले खाजा बनाएर सहभागीलाई बेचेका थिए । त्यो रकम विद्यालयलाई प्राविधिक सामग्री किन्न सहयोग गरेका थिए । फेस्टिभल आयोजना गरेर उठेको रकम विद्यालयमा प्रोजेक्टर किन्न खर्च गरिने भएको छ ।

‘फेस्टिभलको मुख्य उद्देश्य कसरी स्वस्थ्यकर खानेकुरा खाने बानी बसाउने भन्ने नै हो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले भने, ‘बालबालिकालाई आनीबानी सिकाउने पहिलो दायित्व अभिभावकको हुन्छ । घरको काम छ भन्दै छोराछोरीलाई पैसा दिएर विद्यालय पठाउने गर्नाले उनीहरू जंक फुडको लतमा पर्छन् । अबका दिनमा यस्तो नहोस् भनेर अभिभावकलाई सजग राउन पनि यो फेस्टिभल अयोजना गरिएको हो ।’

अधिकांश बालबालिका चाउचाउ, दालमोठ, कुरकुरे, चटपटेजस्ता खानेकुरा खाजाका रूपमा प्रयोग गर्छन् । यस्ता खाने कुरा स्वादिला लागे पनि स्वस्थ्य हुँदैनन् । कृत्रिम स्वाद र आकर्षक बनाउन प्रयोग गरिएका पदार्थ र रंगहरूले स्वास्थ्यमा दीर्घकालीन असर पार्छ । फेस्टिभलमा बालबालिकालाई बजारिया वस्तुले पार्ने असरबारे अभिभावकसँगै राखेर जानकारी गराइएको थियो । विद्यालयले निषेध गरे पनि क्यान्टिनमा यस्ता जंक फुड बेचिरहेका हुन्छन् । गफमा मात्रै सीमित यस कार्यलाई व्यवहारमै उर्तान देवचुलीका बालबालिकाले घरघरमा बालबालिकाका लागि कसरी पौस्टिक खाजा तयार पार्न सकिन्छ भन्नेबारे जानकारी गराउन अभियान नै चलाएका छन् ।

‘अध्ययनका बेला जानेका कुरा व्यवहारमा लागू नगर्दा ठूलो समस्या निम्तिने रहेछ । जंक फुडको आदत पनि त्यस्तै हो,’ विद्यार्थी एलिसा भट्टराईले भनिन्, ‘विद्यार्थी र अभिभावक दुवैलाई चेतना होस् र केही रकम जम्मा गरेर प्रविधिमैत्री विद्यालय बनाउन सहयो पुगोस् भन्ने उद्देश्यले यो फेस्टिभल चलाइएको हो ।’

प्रकाशित : मंसिर २३, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?