३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

झिँगापुर यात्रा

कथा
रत्न प्रजापती

काठमाडौँ — रमाइलो मेला चलिरहेको थियो । मेलामा झिँगापुरको एउटा झिँगा, मौरीगन्जको एउटा मौरी र पुतलीनगरकी एउटी पुतली पनि आएकी थिई ।झिँगा भुनभुन गर्दै घुम्दै थियो । मौरी गुनगुन गर्दै घुम्दै थियो । पुतली पनि फुरफुर गर्दै घुम्दै थिई । एक ठाउँमा पुगेपछि झिँगा, मौरी र पुतलीको जम्काभेट भयो ।

झिँगापुर यात्रा

झिँगाले भन्यो, ‘ओहो मौरीदाइ, तपाईं पनि यहाँ ?’ मौरीले भन्यो, ‘अँ, म पनि यहाँ घुम्न आएको ।’मौरीले भन्यो, ‘ओहो पुतली नानी, तिमी पनि यहाँ ?’ पुतलीले भनी, ‘हो दाइ, म पनि यहाँ मेला हेर्न आएको ।’‘आहा १ कस्तो रमाइलो । आज सबैसित भेट भयो ।’ झिँगा, मौरी र पुतलीले एकै स्वरमा भने । त्यसपछि झिँगा, मौरी र पुतली सँगसँगै मेलामा घुम्न थाले । सँगै घुम्न पाउँदा उनीहरू निकै रमाए ।

‘बल्लबल्ल भेट भएको छ, आज मकहाँ जाऔँ न । कस्तो रमाइलो हुन्छ,’ पुतलीले भनी ।

‘होइन, आज मकहाँ जाऔँ न,’ मौरीले भन्यो ।

‘होइन होइन, आज मकहाँ जाऔँ न,’ झिँगाले भन्यो । कसकहाँ जाने होला त ? तीनै जना

दोधारमा परे ।

झिँगाले मनमनै सोच्यो– कस्तो होला त मौरीको मौरीगन्ज ? अनि कस्तो होला पुतलीको पुतलीनगर ? मौरीले मनमनै सोच्यो – कस्तो होला त पुतलीको पुतलीनगर ? अनि कस्तो होला

झिँगाको झिँगापुर ?

पुतलीले पनि मनमनै सोची – कस्तो होला त झिँगाको झिँगापुर ? अनि कस्तो होला मौरीको मौरीगन्ज ? सिंगापुरका बारेमा सबैले सुनेका थिए । सिंगापुर एकदमै सफा, सुन्दर र विकसित सहर हो भन्ने उनीहरूले सुनेका थिए ।

सिंगापुरसाग मिल्दोजुल्दो नाम गरेको यो झिँगापुरचाहिा कस्तो होला ? मौरी र पुतलीको मनमा निकै खुल्दुली मच्चिन थाल्यो । पुतलीले सुटुक्क मौरीको कानमा भनी, ‘झिँगापुर जाऔान ।’ मौरीले पनि पुतलीको कुरामा सहमत हुादै भन्यो, ‘हुन्छ हुन्छ, । कस्तो रहेछ झिँगापुर, एकपटक हेरेर आऔँ,’ मौरी र पुतली झिँगापुर जाने भएपछि झिँगा एकदम खुसी भयो । मौरी र पुतली

पनि झिँगापुरको यात्रामा जाने कुराले निकै रोमाञ्चित भए ।

सबैभन्दा अगाडि झिँगा उड्यो । त्यसपछि मौरी र पुतली उडे । उनीहरू रमाउँदै उड्दै उड्दै झिँगापुरतिर लागे ।

केहीबेर उडेपछि उनीहरू झिँगापुर पुगे । एउटा फोहोरको डुंगुरमा बसेर झिँगाले भन्यो, ‘यही हो हाम्रो घर । मेरो जहान र केटाकेटी यतैकतै खानेकुरा खोज्दै होलान् ।’

‘उफ्, केको दुर्गन्ध हो यो ?’ पुतलीले नाक

थुन्दै भनी । ‘फोहोरको नि अरू केको हुन्थ्यो ।

देखेनौ फोहोरको डुंगुर ?’ मौरीले फोहोरतिर औंल्याउँदै भन्यो ।

मौरी र पुतलीलाई त्यो फोहोरको डुंगुरमा बस्नै मन लागेन । फोहोरको गन्धले उनीहरूलाई वाक्वाकी लाग्न थाल्यो । उनीहरूले सिंगापुर त एकदम सफा, सुन्दर र विकसित सहर भनेर सुनेका थिए । तर यो झिँगापुरचाहिँ किन यस्तो फोहोर र दुर्गन्धित ? मौरी र पुतली मुखामुख गर्न थाले । थरीथरी फूलको मीठो बासना सुँघेर बसेका

मौरी र पुतलीलाई फोहोरको दुर्गन्धले रिँगटा नै लाग्न थाल्यो ।

झिँगाचाहिँ त्यही फोहोरमा निकै रमाइरहेको थियो । फोहोरको डुंगुरमा बसेर झिँगा खुसीले भुनभुन गर्न थाल्यो । मौरी र पुतली उसकहाँ आएकाले ऊ निकै खुसी भएको थियो ।

अरू झिँगाहरू मौरी र पुतली पाहुना आएको देखेर अचम्म मानेर हेरिरहेका थिए,

अब के गर्ने होला ? मौरी र पुतली दोधारमा परे । फोहोरको दुर्गन्धले नै रिँगटा लाग्न थालिसक्यो । अब त्यही फोहोरको डुंगुरमा कसरी बस्ने ? साथी भनेर आइसकेपछि त्यतिकै जान पनि भएन । साथीको अपमान गरेजस्तो हुन्छ । मौरी र पुतलीले त्यहाँबाट उम्कने उपाय सोच्न थाले ।

फोहोरको थुप्रोमा एउटा बिरुवा उम्रिएको रहेछ । मौरी र पुतली त्यसैमा बसे । मौरीले भन्यो, ‘पुतली बहिनी, अब कुनै बहाना बनाएर हामी यहाँबाट उम्किहाल्नुपर्छ । नत्र हामी बिरामी पर्छौं ।’

‘हो मौरी दाइ, म पनि त्यही सोचिरहेछु । अब हामी यहाँबाट छिट्टै उम्किनुपर्छ,’ पुतलीले भनी ।

झिँगाले खुसी हुँदै सोध्यो, ‘साथीहरू, के खानुहुन्छ तपाईंहरू ? तपाईंहरू यहाँ आउनुभएर मलाई असाध्यै खुसी लागिरहेको छ ।’

मौरीले यसो सोचेर भन्यो, ‘मेरो त आज व्रत छ । त्यसैले केही खानु हुँदैन ।’

मेरो पनि आज व्रत हो । त्यसैले म पनि केही खान्नँ,’ पुतलीले झट्टै भनी ।

‘ए... लौ, अब यहाँसम्म आएर तपाईंहरूलाई भोकै पठाउनु त मैले ?’ झिँगाले अपशोच मान्दै भन्यो । ‘ठीकै छ नि । अर्कोपल्ट आउँदा खाउँला नि त,’ मौरीले भन्यो ।

‘हो हो, अर्कोपल्ट आउँदा खाउँला नि । अहिलेलाई हामी जान्छौं है त,’ पुतलीले

हतारिँदै भनी ।

‘लौ त, त्यसो भए म के भनूँ अब । पछिपछि आउँदै गर्नू है त,’ झिँगाले अलिकति खिन्न

हुँदै भन्यो ।

‘हस्... हस्...’ भन्दै मौरी र पुतली त्यहाँबाट टाप कँसे । उड्दा उड्दै मौरीले भन्यो, ‘यो झिँगा त कस्तो फोहोरी जात पो रहेछ । अब यसकहाँ कहिल्यै नआउने है ।’

‘हो त, यस्तो फोहोरीकहाँ को आउँछ । म त अब कहिल्यै आउँदिनँ,’ पुतलीले भनी ।

मौरी र पुतलीको झिँगापुर यात्रा सार्‍है नरमाइलो भयो । झिँगापुर यात्राको अनुभव सार्‍है नमीठो भयो । त्यसपछि उनीहरूले कहिल्यै झिँगाको संगत नगर्ने र उसकहाँ कहिल्यै नजाने अठोट गरे ।


प्रकाशित : मंसिर २३, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?