कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चीन यात्रा

ओलम्पिक खेलकुद आयोजना भएको भवनको माथिको भाग चराको गुँडजस्तै छ । त्यसैले यो ठाउँको नाम नै वर्डस् नेस्ट राखिएको हो ।

काठमाडौँ — भ्रमण र अवलोकन गरेर सिकिएका पाठ कक्षामा सिकेको भन्दा प्रभावकारी हुन्छन् । सञ्चारमाध्यमबाट सुनेका र कोठामा बसेर अध्ययन गरेका ज्ञानलाई पूर्णता दिन भ्रमण र अवलोकन झनै महत्त्वपूर्ण हुन्छ । केही समयअघि हामी पनि केही सिक्न, बुझ्न र मनोरञ्जन लिन चीन भ्रमणमा गएका थियौं । भ्रमणको चाँजोपाँजो हामी अध्ययनरत स्कुलले जुराइदिएको हो । 

चीन यात्रा

स्कुलका केही शिक्षक र साथीसँग हामी कक्षा ७ र ८ का विद्यार्थी चीन गएका थियौं । त्यहाँ जाने क्रममा हामी एयर चाइनाबाट चेङ्दु हुँदै बेइजिङ पुग्यौं । पुगेको रात हामी बेइजिङको स्टार मेनु होटलमा बस्यौं । देश, परिवेश, हावापानी, वातावरण, रहनसहन, खानपिन, भाषा, संस्कृति सबै हाम्रा लागि नयाँ थियो । हामी सबै जनालाई फरक अनुभूति भइरहेको थियो । त्यहाँ पुगेको भोलिपल्ट हामी संसारकै प्रसिद्ध पर्यटकीय स्थलमध्येको एक ग्रेटवाल अफ चाइना घुम्न गयौं ।


अंग्रेजीमा ग्रेटवाल भनिने चीनको यो विशाल पर्खाल सबैभन्दा पहिले इशापूर्व ६ सय ५६ मा बाहय आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले बनाउन लगाएका रहेछन् । उनले बनाउन सुरु गराएको उक्त पर्खाल विभिन्न समयका राजा महाराजाले थप्दै जोड्दै लम्बाइ बढाउँदै लगेका थिए । सन् १९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको यो पर्खाल ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको अनुपम नमुना हो । यसले संसारका धेरैभन्दा धेरै मानिसलाई आकर्षण गरिरहेको छ । यो सुन्दर तथा ऐतिहासिक ठाउँ चीनलाई विश्वसामु चिनाउने सबैभन्दा चर्चित पर्यटकीय गन्तव्य हो । ग्रेटवाल हेर्न संसारबाट दिनहुँ हजारौं पर्यटक आउँछन् । हामीले पनि त्यहाँ धेरै फोटा खिच्यौं र यात्रा अविस्मरणीय बनायौं । त्यसपछि हामी वर्डस् नेस्टमा घुम्न गयौं । त्यो एउटा पार्क थियो । ओलम्पिक खेलकुद आयोजना भएको भवनको माथिको भाग चराको गुँडजस्तै छ । त्यसैले यो ठाउँको नाम नै वर्डस् नेस्ट राखिएको हो ।


त्यसको भोलिपल्ट हामी तियानमेन स्क्वायर घुम्न गयौं । त्यहाँको वातावरण निकै रमणीय थियो । हामी घुमेका ठाउँहरू निकै सफा र सुन्दर थिए । तियानमेनको एउटा विशाल भवनमा चीनका प्रसिद्ध नेता माओत्से तुङको शव अझैसम्म पनि सुरक्षित राखिएको रहेछ । चीनलाई विकसित गराउनमा उनको ठूलो योगदान रहेछ । शव बिग्रिन नदिन विभिन्न रसायनहरू प्रयोग गरी व्यवस्थित ढंगले संग्रहालयमा राखिएको रहेछ । चिनियाँ नोट (युआन) मा पनि उनैको तस्बिर छ ।


बेइजिङको घुमफिरका क्रममा हामी फरविडन सिटी पनि गयौं । त्यो चीनका उति बेलाका राजाको दरबार थियो । त्यहाँ पनि हामीले थुप्रै तस्बिरहरू खिच्यौं । त्यहाँबाट हामी टेम्पल अफ हेभेनतिर लाग्यौं । टेम्पल अफ हेभेन एउटा मन्दिर हो । त्यो मन्दिर एकदमै सुन्दर र सफा थियो । मलाई त्यहाँका ठाउँहरू यति सफा र व्यवस्थित भएको देखेर आफ्नो देश नेपालका ठाउँहरू पनि यस्तै सुन्दर, सफा र स्वच्छ भइदिए कति राम्रो हुन्थ्यो भन्ने लाग्यो । यहाँ रहेका पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धस्तूपा, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर क्षेत्र पनि विश्व सम्पदा हुन् । चीनका मन्दिर तथा सार्वजनिक ठाउँको जस्तै सुन्दरता हाम्रो देशमा पनि भइदिए कति राम्रो हुन्थ्यो होला । विश्वभरिबाट नेपाल घुम्न आउन पर्यटकको संख्या अझै बढ्ने थियो ।


चीन घुम्दा हामीलाई भिक्टोरियाले अत्यन्तै मद्दत गरिन् । उनको सौहार्दता हामीलाई अत्यन्तै न्यानो लाग्यो । टेम्पल अफ हेभेनसम्म हामीलाई मित्रतापूर्वक विभिन्न ठाउँहरू घुमाउने ती महिला मित्रलाई सबै जनाले धन्यवाद दिएर बिदा गर्‍यौं । त्यसपछि हामी बुलेट ट्रेनमा चढेर सरसर सांघाईतर्फ लाग्यौं । बुलेट ट्रेनमा हामी ६ घण्टा जति यात्रा गर्‍यौं । ट्रेनभित्रबाट बाहिर हेर्दा अत्यन्तै मनमोहक दृश्यहरू देख्न सकिन्थ्यो ।


विभिन्न ठाउँहरूको घुमफिरपछि हामी साँझ सांघाइस्थित आइबिस होटलमा बस्यौं । त्यहाँ हामी पहिलो दिन जिस्नी ल्यान्ड घुम्न गयौं । त्यहाँ मनोरञ्जनका थुप्रै ठाउँ थिए । मलाई त्यहा सबैभन्दा रमाइलो लागेको खेल ट्रन थियो । ट्रनमा म मेरा साथीहरू प्रतिशा र प्रिशासँग धेरै पटक गएँ । जति पटक गएँ पनि नथाक्ने र अल्छी नलाग्ने खालको खेल थियो ट्रन । राति ८ बजेतिर फायर वर्क थियो । त्यो मेरो जीवनमा अत्यन्तै सम्झनयोग्य रह्यो । यसरी साथीहरू मिलेर घुमेका थुप्रै पर्यटकीय ठाउँहरूले हाम्रो यात्रा अविस्मरणीय भयो । त्यसपछि हामी सांघाईका अन्य थुप्रै ठाउँ घुम्यौं । धेरै किनमेल पनि गर्‍यौं । अन्त्यमा हामी सांघाईबाट चेङ्दु र चेङ्दुबाट काठमाडौ फर्कियौं ।


समग्रमा हाम्रो चीन भ्रमण रमाइलो, फलदायी र स्मरणीय रह्यो । शक्ति र विकासका दृष्टिले चीनको यात्रा हाम्रा लागि अत्यन्तै नयाँ, रोचक र उत्साहपूर्ण थियो । यो भ्रमणले हाम्रो ज्ञान र अनुभवको दायरा फराकिलो पारेको छ ।

-लक्षता त्वनावासु, कक्षा–८

संस्कृति इन्टरनेसनल स्कुल, काठमाडौं

प्रकाशित : पुस १, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?