काठमाडौँ — बाबु अलि छिटो खाऊ है ?’ आमा रिवाजलाई खाना सिध्याउन सम्झाउँदै हतारले भान्साबाट निस्कनुभयो । स्कुल बसले हर्न बजाइसकेको थियो । स्कुल त रिवाजलाई जानु थियो तर हतारचाहिँ आमालाई भइरहेको थियो ।
स्कुल ब्यागमा सबै सामान मिलाएर आमा हतारिँदै भान्सातिर आउनुभयो । रिवाज टेबलमा थिएनन् । प्लेटको खाना पनि त्यत्तिकै थियो । आमाले यताउता खोजिहेर्नुभयो तर उनी कतै देखिएनन् । ‘आज पनि ब्याग छोडेरै दौडिएछ । कस्तो केटो होला, हैरान पार्छ यसले त ।’ स्कुल बसले फेरि हर्न बजाएकाले आमा रिवाजको ब्याग बोकेर हतारिँदै निस्कनुभयो ।
‘रिवाजचाहिँ खोई नि आन्टी ?’ उहाँ स्वाँस्वाँ हुँदै स्कुल बसको नजिकै पुग्नुभएको मात्र थियो, कन्डक्टर भाइले सोधिहाले । ‘अघि आएको होइन ?’ आमाको मन खङ्ग्रङ भयो ।
‘अहा आएको छैन, छिटो पठाइदिनुस् न ढिलो भइसक्यो ?’ उनी अलि दिक्क देखिएका थिए ।आमा केही नबोली ब्याग बोकेरै घरतिर फर्किनुभयो अनि रिवाजलाई बोलाउँदै पूरै घरको तीन चक्कर लगाउनुभयो तर उनी घरमा कतै पनि भेटिएनन् ।
बुवा अफिस जानका लागि तयार हुँदैहुनुहुन्थ्यो । आमा आत्तिएर त्यहीँ पुग्नुभयो । ‘सुन्नुभो ? बाबु त घरमा छैन,’ उहाँको स्वर अलि काँपेको जस्तै सुनिएको थियो । हतारले यताउता दौडिएकाले होला स्वाँस्वाँ पनि हुनुभएको रहेछ ।
‘स्कुल गयो होला नि, कहाँ जान्छ र ?’
‘भर्खर त म बससम्म पुगेर आएकी गएको छैन,’ आमा रुन थाल्नुभयो ।
‘के भन्छिन् यिनी ? कहाँ जान्छ र एक्लै ? ’ बुवाको अनुहार पनि चिन्तित देखियो । दुवै जनाले मिलेर रिवाजलाई खोज्न थाल्नुभयो ।
केही दिनअघि उनी यसैगरी गायब भएका थिए । निकै बेर खोजेपछि उनी स्टोर रुममा चामलको बोरा पछाडि लुकेको भेट्टाएर बुवाले अफिस जाँदा आफ्नो बाइकमा बसाएर स्कुल पुर्याइदिनुभएको थियो । तर आज त उनी स्टोर रुममा पनि भेटिएनन् ।
‘यसले त अति गर्न थाल्यो बा...,’ बुवा निकै चिन्तित देखिनुभयो । रिवाजलाई खोज्दै दुवै जना बाथरुम अगाडि पुग्नुभयो । ढोका बन्द थियो । ‘बाबु.....१’ आमाले मसिनो स्वरमा बोलाउनुभयो । भित्रबाट रिवाजले ख्वाँकख्वाँक खोकेजस्तो गरे ।
ढिलो भएकाले स्कुल बस ट्याँटुँ ट्याँटुँ हर्न बजाउँदै गयो । त्यसको दस मिनेट जतिपछि बल्ल रिवाज बाहिर निस्किए । बाबा अफिस हिँड्न तयार भइसक्नुभएको थियो । रिवाज दुवै हातले पेट थिचेर कुप्रो परेर उभिएका थिए । उनका आँखाबाट आँसु पनि बगिरहेको थियो ।
‘होइन के भा छ अचेल यसलाई ? स्कुल नजाने अनेक बहाना खोज्छ ।’ बुवाले रिसाएर रिवाजको बायाँ हातमा समातेर तान्नुभयो, ‘हिँड् , स्कुल नगएर पनि हुन्छ कहीँ ।’
‘नाइँ... मेरो पेट दु:खेको छ ।’ रिवाज दाहिने हातले आमाको कुर्ताको फेर समातेर ठुल्ठूलो स्वर गर्दै रुन थाले । आमाको मन रसाएर आयो ।
‘भैगो छोडिदिनुस्, नजाओस् न त आज ।’
‘यसको नाटक सबै,’ बुवा रिसाउँदै निस्कनुभयो ।
बुवा भर्याङ ओर्लिएको आवाज आएदेखि घट्दै गएको रिवाजको रुवाइ बुवाले बाइक स्टार्ट गरेको आवाज सुनेपछि त बन्द नै भयो ।
आमा भान्साको काम सिध्याएर आउँदा रिवाज टिभी हेर्दै बसेका थिए ।
‘हजुर अफिस नजाने मामु ?’ रिवाजले टिभीबाट आँखा हटाएर आमातिर हेरे ।
‘अहँ, तिम्रो बदमास पेटले जानै दिएन,’ आमा मुसुक्क हाँस्नुभयो । आमा हाँसेको देखेर उनी पनि हाँसे । ‘मलाई पनि तिमी जत्रो हुँदा स्कुल जानै मन लाग्दैन थियो अनि म पनि पेट दुख्यो भन्दै रोइदिन्थेँ,’ आमाले रिवाजको कपाल मुसार्दै भन्नुभयो ।
‘हजुरका पनि बदमास साथीहरू थिए ?’ रिवाजले आमातिर आश्चर्यले हेरे ।
‘थिए नि, होमवर्क नगर्दा सरले पनि कस्तो गाली गर्नुहुन्थ्यो ।’
‘म त सधैं होमवर्क गर्छु । मलाई पढ्न मन लाग्छ,’ रिवाजले भने ।
‘अनि स्कुल जानचाहिँ किन मन लाग्दैन त सानु ?’ आमाले नरम स्वरमा सोध्नुभयो ।
‘रोजन र प्रनिश मिलेर मलाई जिस्काउँछन् । मेरो कापी किताब लुकाइदिन्छन् । मैले छुँदै छोएको थिइनँ, हिजो प्रनिशको पेन्सिल बक्स मेरो ब्यागमा राखिदिएछन् । उल्टै मलाई चोर दोष लगाए । सरले पनि गाली गर्नुभयो मलाई ।’ बोल्दाबोल्दै रिवाजका आँखामा आँसु भरिएर आयो ।
‘सर कक्षामा नभएको बेलामा मलाई हात्ती बन् भन्छन् । एउटा सुँड हालिदिए पुग्छ रे । सबै कक्षाका साथीहरू मलाई हेरेर हाँसे । मेरो एउटा पनि मिल्ने साथी छैन । म स्कुल जान्नँ ।’ रिवाजको गुनासो सकिएकै थिएन, उनी आमाको जीउमा टाँसिएर रुन थाले ।
‘अनि तिमीले सरलाई साँचो कुरा भन्नुपर्छ नि त ?’ आमाले सम्झाउन खोज्नुभयो ।
‘सरलाई भन्यो भने त मलाई झन् दु:ख दिन्छन् नि ।’
एकछिनसम्म आमा केही बोल्नुभएन । रिवाजको कपाल मुसारिरहनुभयो । बिस्तारै रिवाजको रुवाइ पनि कम हुँदै गयो ।
म भोलि तिमीसँगै स्कुल जान्छु अनि सबै कुरा प्रिन्सिपललाई भन्छु है । आफ्नो गल्ती नभएपछि डराउनु हुँदैन नि ।
अनि मलाई पोल लगाएको भनेर उनीहरूले पिटे भने ?
‘पिट्दैनन्, सरले सबै कुरा उनीहरूलाई सम्झाउनुहुन्छ अनि तिमीलाई कसैले दु:ख दिँदैनन् ।
भोलिदेखि सधैं स्कुल जाने है ?’ आमाले आफ्ना दुवै हत्केलाले च्यापेर रिवाजको मुख आफूतिर फर्काउनुभयो । रिवाजले एकछिनसम्म आमाको मुखमा टुलुटुलु हेरिरहे अनि सानो स्वरमा भने, ‘हस् ।’
आमाले उनको निधारमा माया गर्नुभयो । रिवाज टिभी बन्द गरेर उठे अनि आफ्नो ब्यागबाट किताब निकालेर पढ्न थाले । उनले मनमनै अठोट गरे, ‘अबदेखि म साथीहरूले सताए भने सरलाई भन्छु तर स्कुल नजाने बहाना कहिल्यै बनाउदिनँ ।’
प्रकाशित : पुस २२, २०७५ १२:३७