कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्कुलपछिको काम

मधु शाही

काठमाडौँ — स्कुल सकिएपछि सजदा सेख हतारहतार घर पुग्छिन् । आमाले बनाएको खाजा खान्छिन् अनि पसलमा पान बेच्न थाल्छिन् । नेपालगन्ज उपमहानरपालिका १३ बस्ने सजदा स्कुल सकिएलगत्तै यही काम गर्छिन् ।

स्कुलपछिको काम

घरमा आमा नहुँदा पसलमा साथ दिनुपर्छ । पान बनाउन राम्रोसँग आउँछ उनलाई । आमाले बनाएको देखेरै उनले पानमा मसला राख्न जानेकी हुन् ।

कक्षा ५ मा पढ्दै गरेकी १३ वर्षीया सजदा पसलमै पान बेच्दै गृहकार्य पूरा गर्छिन् । खेल्नकै लागि चिल्ड्रेन पार्क जान कहिल्यै आवश्यक लागेन उनलाई । ‘आमाले एक्लै घर सम्हाल्न दु:ख हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले पान पसलमा बसेर सहयोग गर्छु ।’ मीठा पान बनाउन सिपालु छिन् सजदा । ७ रुपैयाँमा एउटा पान बेच्छिन् । उनले बनाएको पान मीठो हुने भएकाले ग्राहकको भीड लाग्छ । स्कुलपछि घरमा सघाउने बानी भनौं या बाध्यता । सजदाजस्ता अरू नानीबाबुले पनि घरमा सघाउँछन् । स्कुल पढ्छन् । अनि गृहकार्यसमेत गर्न भ्याउँछन् ।

कोहलपुर ११ का ९ वर्षे अर्जुन बर्मा कक्षा तीनमा पढ्छन् । चार बजे स्कुल बिदा भएलगत्तै उनी खेतमा चरेका बाख्रा हेर्नुपर्छ । उनको घरमा ७ वटा बाख्रा छन् । दिनभरि खेतमै चर्छन् । बेलुकापख बाख्रा घरमा ल्याउने जिम्मेवारी आमाले अर्जुनलाई दिनुभएको छ । बाख्रा चराउँदा अर्जुन रमाइलो मान्छन् । अझ बाख्राका पाठापाठी छुनमुन गर्दै खेलेको खुब मन पर्छ । ‘मेरो सानो पाठो छ,’ उनी भन्छन्, ‘त्यसको नाम बब्लु राखिदिएको छु ।’ घरमा कुकुर पालेजस्तै अर्जुनका लागि त्यही बाख्राको पाठो बब्लु मनपर्ने साथी बनेको छ । बाख्रा चराउँदाचराउँदै माया बसेको उनी बताउँछन् ।

त्यस्तै, ज्ञानमति खातिक, साल्टी खातिक र देवी खातिक शुक्रबार छिट्टै स्कुलबाट घर आए । ड्रेस फेरेर भुटेको मकै गोजीमा राखे । अनि हातमा बोरा समाएर गाउँमा डुल्न थाले । जाडो महिना लागेपछि साल्टी, देवी र कन्दी तीन साथी मिलेर गोबरका गुइँठा बटुल्न हिँड्छन् । गाउँमा भैंसीगोठमा पुगेर सुकेका गुइँठा संकलन गर्छन् । उनीहरूले बिहान र बेलुका आगो बालेर ताप्नका लागि गुइँठा खोज्ने काम गरेका हुन् । कक्षा २ मा पढ्दै गरेकी देवीले स्कुलको गृहकार्य भने राति गर्ने गरेको बताइन् । ‘गुइँठा खोजेपछि आमा खुसी हुनुहन्छ,’ उनले भनिन्, ‘राति आगो ताप्दै बस्न पनि पाइन्छ ।’ कोहलपुर चप्पर गौडीका इमान चौधरी उमेरले १४ वर्षका भए । कक्षा ८ मा पढ्ने उनी घरमा बुबाका सहयोगी पात्र हुन् । फुर्सद पाएसम्म आफूले सक्ने सहयोग गर्न पछि पर्दैनन् । बारीमा काउलीखेती छ । त्यसलाई टिपेर बजारसम्म पुर्‍याउन इमानको ठूलो सहयोग छ । स्कुलबाट आएपछि उनी खेतमा पुग्छन् । बेलुका बजारमा बेच्न लैजान मिल्ने तरकारी टिप्छन् अनि बुबालाई दिन्छन् । नानीबाबुहरूले आफ्नै काम आफैंले गरे भने पनि परिवारमा धेरै सघाउ पुग्छ ।

प्रकाशित : पुस २९, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?