फुर्सदमा पढौं

काठमाडौँ — ‘कालो माला’ बालकथा संग्रहको संशोधित संस्करण बजारमा आएको छ । कालो मालाभित्र छवटा कथा संग्रहित छन् । यी कथाहरू सबै चरासँग सम्बन्धित छन् । विभिन्न चराको रूप, स्वरूपलाई लिएर यसलाई कथाको रूप दिइएको छ ।

फुर्सदमा पढौं

कतिपय लोककथामा प्रचलित कथालाई पनि यसमा उनिएको छ । छवटा कथामा बकुल्लाको तपस्या, काग र कोइली, कालो माला, तित्राको मुखै बैरी, राजाको खोजीमा र हाँसको हिँडाइ रहेका छन् । ‘बकुल्लाको तपस्या’ मा मिहिनेत नगरी खान खोज्ने बकुल्लो अन्तिममा कसरी भोकै पर्नुपर्छ भन्ने देखाइएको छ । यसबाट अरूको भर परेर अल्छी भएर बस्ता कसरी धोका हुन्छ भन्ने पाठ सिकिन्छ । ‘काग र कोइली’ मा चलाख कोइलीले कागलाई उल्लु बनाएको कथा पढ्न सकिन्छ । यो कथा पढ्दा कागभन्दा कोइली चङ्ख भन्ने उखान कसरी भनिएको रहेछ भन्ने कुरा थाहा हुन्छ । ‘कालो माला’ भित्र भँगेराको गलामा देखिने कालो भाग कसरी रहन गयो भन्ने किम्बदन्तीमा आधारित कथालाई जोडेर एकदमै रमाइलो तरिकाले बुझाउन खोजिएको छ । त्यस्तै ‘तित्राको मुखै बैरी’ मा तित्राले भोजमा कागलाई गरेको हेला र सबै चराहरूले सबक सिकाएको कथा पढ्न सकिन्छ । ‘राजाको खोजी’ कथामा जंगलका चराहरूको राजा डाँफेले गरेको न्यायको बारेमा पढ्न सकिन्छ । यस कथा संग्रहभित्रको अन्तिम कथा हो– ‘हाँसको हिँडाइ’ । यस कथाभित्र खुसीले नाचिरहेको मयूरको नराम्रो खुट्टा देखेर हाँसेको हाँसलाई अरू चराले सम्झाएको कथा पढ्न पाइन्छ । यस कथाबाट सबै सबै कुराबाट पूर्ण हुँदैन, सबैको एक न एक कमजोरी हुन्छ नै भन्ने पाठ सिक्न सकिन्छ । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको यो पुस्तक मधुसूदनप्रसाद घिमिरेले लेख्नुभएको हो । यी कथाका रमाइला चित्रहरू सूर्यनारायण श्रेष्ठले बनाउनुभएको हो । २८ पेजको यस पुस्तकको मूल्य १४५ रहेको छ ।

प्रकाशित : माघ ६, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?