१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हौसला

काठमाडौँ — खेल्न पाउनु, अतिरिक्त क्रियाकलापमा सहभागी बन्न पाउनु र रमाइलो गर्न पाउनु बालबालिकाको अधिकार हो । यसरी खेल्न, प्रतिभा देखाउन र रमाउन पाउँदा बालबालिकामा नयाँ ऊर्जा थपिन्छ । त्यसैले त स्कुल तथा घरमा विभिन्न तौरतरिका अपनाई बालबालिकालाई यस्तो अवसर प्रदान गरिन्छ ।

हौसला

अवसर पाएको खण्डमा बालबालिकाले आफूमा भएको प्रतिभा बाहिर ल्याउन सक्छन् । त्यसका लागि ‘प्लेटफर्म’ आवश्यक पर्छ । यस्तै प्रतिभा राख्ने अवसर बालबालिकालाई पोखरामा प्रदान गरियो । नर्सरीदेखि यूकेजीसम्म अध्ययनरत ३ देखि ६ वर्ष उमेर समूहका बाबुनानी कार्यक्रममा सहभागी भए । पोखरा उद्योग वाणिज्य संघको हल गैह्रापाटनको सभाहलमा बाबुनानीको प्रतिभा हेर्न शिक्षक तथा अभिभावक भेला भएका थिए । यसरी भेला भएकालाई आफ्नो प्रतिभा देखाउँदै बालबालिकाले ध्यान खिचे । उनीहरूको प्रस्तुतिमार्फत सन्तुष्ट बनेका शिक्षक, अभिभावकले हौसला दिँदा बाबुनानीहरू झनै उत्साहित बने ।


‘चाइल्ड ट्यालेन्ट सो २०७५’ नामको कार्यक्रममा मन्टेश्वरी एसोसिएसन कास्कीले कार्यक्रम आयोजना गरेको थियो । एसोसिएसनमा आबद्ध ४५ विद्यालयमध्ये ३२ विद्यालयका २ सय ३ विद्यार्थीले विभिन्न प्रस्तुति दिए । नृत्य, गायन, चित्रकला, बोल्ने कला, जिम्न्यास्टिक, नाटकका अलावा केहीले आफ्नै गीत सुनाए । बालबालिकाको बीचमा प्रतियोगिताभन्दा पनि उनीहरूलाई अवसर दिने लक्ष्यले कार्यक्रमको आयोजना गरिएको एसोसिएसनकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक मिलन केसीले जनाइन् । हरेक विद्यालयले ५ मिनेटको समयमा आफ्नो प्रस्तुति दिएका थिए । एकल तथा समूहगत प्रस्तुतिका लागि विभिन्न भेषभूषामा सजिएर उनीहरू स्टेजमा देखिए ।


दुई वर्ष अगाडि मन्टेश्वरी एसोसिएसन कास्कीले बालबालिकाबीच प्रतियोगिता आयोजना गरेको थियो । यो प्रतियोगितामा सहभागी बन्दै पुरस्कार प्राप्त गर्ने बाबुनानी खुसी भए । तर पुरस्कृत हुन नसक्ने बाबुनानी निराश बने । केही त रुँदै गए । यसबाट आयोजकले पाठ सिके । यही कारण यसपालिको कार्यक्रमलाई प्रतिभा प्रस्फुटन गर्ने मञ्चका रूपमा मात्र राखियो ।


‘बालबालिकाको प्रतिभा बाहिर ल्याउन अवसर दिनुपर्छ तर विजेता छुट्याउनु ठीक हुँदैन । फेरि फरकफरक प्रतिभालाई कसरी एकै ठाउँबाट मूल्याकंन गर्ने ? त्यसैले निर्धक्क साथ सबै बाबुनानीलाई प्रतिभा राख्न उत्साहित गर्नका लागि यसपालि पालैपालो प्रस्तुति राख्न लगाइयो,’ कार्यक्रम संयोजक केसीले भनिन् । विजेता उपविजेता नछुट्याइए पनि उनीहरूको मनोबल बढाउन सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरी हौसला बढाइयो । बालबालिकालाई प्लेटफर्म दिने, उनीहरूको प्रतिभालाई चिन्ने मौकाका रूपमा उपयोग गरिएको यो कार्यक्रमले अभिभावकलाई समेत सन्देश दियो ।


उनीहरूले आफ्नो बालबालिकाको अलावा अन्य बालबालिकाको प्रतिभालाई जान्ने, बुझ्ने र नियाल्ने अवसर प्राप्त गरे । खेल्ने, रमाउने, कन्फिडेन्स लेभल बढाउन चाहेको कुरा बोल्नका लागि पाएको मौकालाई बाबुनानीले राम्रो सदुपयोग गरे । यो कार्यक्रमका लागि मन्टेश्वरीलेले प्रतिभा छनोट गरी ल्याएका थिए । बच्चाहरूलाई लामो समय राखिएन ।

बालबालिका आफ्नो प्रस्तुति राख्नेबित्तिकै बाहिरिएका थिए । उनीहरूलाई पछि भिडियोमार्फत कार्यक्रममा आफ्नो तथा अन्य साथीहरूको प्रतिभा हेर्ने व्यवस्था मिलाइएको थियो ।

-राजाराम पौडेल

प्रकाशित : माघ ६, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?